मकवानपुर । बागमती नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ । बागमती–१ माझगाउँ बस्ने अन्दाजी ४० वर्षीय ईन्द्रबहादुर भोलनको बागमती खाेलाले बगाउँदा मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवनापुरका अनुसार सिन्धुली जिल्लामा आफन्त कहाँ जान बागमती नदी तर्ने क्रममा भोलनलाई नदीले बगाएको थियो । प्रहरीले खोज तलास गर्ने क्रममा मंगलबार दिउँसो बागमती–१ हात्तिढुङगा स्थित खोलाको बिचमा रहेको ढुङगामा अड्किएको अवस्थामा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१ लाख ११ राशीको भैरव पुरस्कारबाट रिजाल सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरका अग्रज साहित्यकार तथा हास्यव्यङ्गयकार आरसी रिजाल १ लाख ११ हजार राशीको भैरव पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ ।
आइतबार काठमाडौंमा भैरव पुरस्कार गुठीले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित रिजाललाई सम्मानित गरेको हो । भैरव अर्यालको ५० औं स्मृति दिवसको सन्दर्भमा मकवानपुरका रिजालसँगै अन्य दुई जना पनि सम्मानित हुनु भएको छ ।
भैरव वाङ्मय पुरस्कारबाट टेकवीर मुखिया सम्मानित हुनु भएको छ । यस्तै भैरव प्रतिभा पुरस्कारबाट देवीप्रसाद चापागाई सम्मानित हुनुभएको छ । मुखिया १ लाख १ हजार रुपैयाँ नगद तथा चापागाई ५१ हजार १११ रुपैयाँ नगदको उक्त पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
रिजाल सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक, साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ । हाँस्यव्यंग्यकार रिजालको हाँस्यव्यंग्य कृति समेत प्रकाशित छन् ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षता तथा भैरव अर्यालका छोरा दीपक अर्याल र छोरी रश्मि अर्यालको उपस्थितीमा काठमाडौंको गोकर्णेश्वर जोरपाटीस्थित भैरव स्मृति भवनको सभाकक्षमा सम्मान कार्यक्रम भएको हो ।
मकवानपुर । चैनपुर जेसीज मनहरीको आयोजनामा सुरु भएको जेसीज कप खुला फुटबल प्रतियोगितामा मनहरी ४ ले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा लामिटार एफसी मनहरी ३ लाई २-० ले हराउँदै मनहरी ४ नम्बर वडाले विजय सुरुवात गरेको हो । मनहरी ४ को जितमा दर्शन अधिकारीले २ गोल गरे । खेलको म्यान अफ द म्याच अधिकारी नै घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबार (आज) खरंगा एफसी र मनहरी ५ नम्बर वडा बीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले गरेका हुन् । उनले खेल क्षेत्रको विकासमा सबै क्षेत्रसँग सहकार्य एवम् हातेमालो गर्न तयार रहेको बताए ।
प्रतियोगिता संयोजक नवराज रिजालको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा लगायतले जेसीजसँगको सहकार्यले खुसी लागेको बताए । उनीहरुले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतियोगितामा चितवन जिल्लाको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।
जंगलमा भेटिएको शवको पहिचान २ महिनापछि खुल्यो
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा स्थित एक सामुदायिक वनमा बोरा हालेर खाल्टोमा फालिएको शवको पहिचान २ महिनापछि खुलेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा गत साउन २२ गते भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान खुलेको हो। शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खातुन भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमानको घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। मृतकको पहिचान उनका कपडा, गहनालगायतका आधारमा खोजी गर्ने क्रममा भारतको प्रहरीसँगको समन्वयमा खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग उनी बस्दै आएको समेत खुलेको मकवानपुर प्रहरीले जनाएको छ । अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको हो ।
मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन् । डीएनए परीक्षणमा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते शुक्रबार फातमाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको र उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीले जनाएको छ।
मकवानपुर । नेपाली काँग्रेसकाे १५ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्लाकाे संघीय निर्वाचन क्षेत्र नं. १ काे सभापतिमा सुशान्त कुमार श्रेष्ठ तथा क्षेत्र नं. २ मा रञ्जन कालाखेती निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ अन्तरगत भएकाे निर्वाचनमा कुल ९ सय ९२ मत खसेकोमा श्रेष्ठले ४ सय ७५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी उत्सव इटेनीले ४ सय ४९ मत प्राप्त गरेका छन्। यसैगरी अर्का उम्मेदवार शिव प्रसाद खतिवडा राजु ले ४३ मत प्राप्त गरे ।
यसैगरी क्षेत्र नं. २ को सभापतिकाे लागि कुल १ हजार २ सय ९० मतमध्ये ७ सय ३९ मत प्राप्त गर्दै रञ्जन कालाखेती विजयी भएका छन्। उनका प्रतिस्पर्धी शंकर न्यौपानेले ५ सय २७ मत प्राप्त गरे। कालाखेतीले निर्वाचन पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियामा आफू केही मतको अन्तरले विजयी भए पनि नेपाली कांग्रेसको जित भएको बताए ।

यसैबीच नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट हेटौंडा–९ की १८वर्षीया अभिप्सा पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। पौडेल यसअघि कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी थिइन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पौडेलले १८ वर्षकै उमेरमा प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा राजनीतिक पुस्तान्तरणसँग जोडेर हेरेको बताइन्।