मकवानपुर । हेटौंडामा शुक्रबार ५४ जनाले गरे रक्तदान गरेका छन् । हेटाैडाकाे २ स्थानमा २ संस्थाले गरेकाे रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमबाट ५४ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
केन्द्रका अनुसार, हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना भएको कार्यक्रममा २९ जनाले र हेटौंडा–९ स्थित दुगड ग्रुपकाे आयोजनामा भएको कार्यक्रममा २५ जनाले रक्तदान गर्दा ५४ युनिट रगत संकलन भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा तथा छिमेक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेकाे हाे ।
यसैगरी एम भि दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्म दिनको अवसरमा ग्रुपको दुगड अटो क्लिनिक हेटौंडाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको दुगड अटो क्लिनकको प्राङगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको पानी ट्याङकी अगाडिको सडकबाट दायाँबायाँ क्षेत्रमा बृक्षारोपण गरिएको छ । कपुर र तेजपात जातका २ सय ५ बटा बिरुवाहरु रोपण गरिएको हो । कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कडेल लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै, शुक्रबार नै भएको निःशुल्क दन्त शिविर तथा सुगर–प्रेसर जाँच कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका छन् । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको उक्त कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका हुन् । जसमा ८२ जनाले दन्त सम्बन्धी र १ सय ५२ जनाले सुगर-प्रेसर सम्बन्धी निःशुल्क सेवा लिएका हुन् ।
शिविरको उद्घाटन कार्यक्रम समृद्ध नेपालका लागि नयाँ पाइलाका उपध्यक्ष निश्कर्ष लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । उज्ज्वल डेन्टल केयर एण्ड अर्थोडेण्टीस सेन्टर र डाइनामिक सर्जिकल हाउसले शिविरको आयोजनाका लागि सहयोग गरेको हो ।

मकवानपुर । मकवानपुर प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विहीबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको हो ।
विहीबार हेटौंडा उपमहानगरपालिकास्थित राप्तीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा ना ६ त ७३४२, ना ६ त ३५७१, ना ६ त ९४३, ना ६ त ५८२०, ना ५ त ९१६८, बागमती प्रदेश २ ००३ ००१ त ५३१७ र प्रदेश न.२ ००३ ००१ त ३५०३ न. सहित ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
यसैगरी हेटौंडा–१४ बनस्पतीबाट बा. प्र.०३ ००१ ख ०१९१, बा. प्र. ०३ ००१ ख १२४१ नं. टिपर तथा ना. ७ त १७१५ र ना ६ त १७२६ नं.ट्याक्टर तथा मनहरी खोलामा बालुवा लोड गर्दै गरेको अवस्था ना ६ त २२८६ नं. को ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
नियन्त्रणमा लिएको ट्याक्टर तथा टिपरलाई आवश्यक कारबाहीको लागि जिल्ला समवन्य समितिकाे कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले आफुलाई भोटगरी बिजयी गराउन अनुरोध गरेका छन् ।
उप्रेतीलाई उत्कृष्ट ८ मा पु¥याउन भोट गर्ने आज अन्तिम दिन भएकाले आज साँझ ८ बजेसम्म भोट गर्न उप्रेतीले अपिल गरेका हुन् । जेनिस भ्वाइस अफ किड्सको उत्कृष्ट १६ मा छन् । आजको भोटको आधारमा ८ जना बाहिरिने छन् भने ८ जना फाईनर राउण्डमा प्रवेश गर्नेछन् । जेनिशलाई उत्कृष्ट ८ मा पुग्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगितामा अगाडि बढाई दिनुहुन अनुरोध गरेका छन् । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।
को हुन् जेनिस
जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनका बाबु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् । ४ बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए ।
सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।
द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए । जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए ।
जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् ।
हेटौडामा जन्मेको २ बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको ४ बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।
द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ । लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हात हुँदैन । कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ । अहिले लाइभ राउण्डमा ४ जना कोचका ४–४ जना गरी कुल १६ जनाप्रतियोगि रहेका छन् ।
कसरी भोट गर्ने ?
जेनिसलाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले व्यवसायीलाई सहयोग छ । मउवासंघले स्थापना गरेको व्यवसायी हित कोषबाट विहीबार १ व्यवसायीलाई आर्थिक सहयोग गरेको हाे ।
विहीबार संघले कार्यक्रमकाे आयाेजना गरी हेटौंडा–८ मा आर के किराना स्टोर्सको नामबाट व्यवसाय गर्दै आएका रामकृष्ण लामिछानेको पसलमा आगलागी भई क्षति पुगेकोमा ५० हजार रुपैया सहयोग गरिएको हो । लामिछानेलाई संघको सचिवालयमा संघ अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र व्यवसायी हितकोष व्यवस्थापन समितिका संयोजक अनिल भक्त श्रेष्ठको संयोजनमा कार्यक्रम गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
संघले २०७२ सालमा व्यवसायी हितकोष स्थापना गरी दैवी विपत्ति परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको संघ अध्यक्ष गुप्ताले बताए ।
मकवानपुर । नेकपा एमाले मकवानपुर सहित ७७ जिल्लाकाे अधिवेशन पुष २३ गते शुक्रबारबाट हुने भएकाे छ । पुस २३ र २४ गते हुने देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे पनि अधिवेशन हुने भएको हाे ।
विहीबार हेटौंडा-५ स्थित एमाले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभाग प्रमुख नविन सिग्देलले पुष २३ र २४ गते हुने अधिवेशनको जानकारी दिए ।
उनले अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेको बताए । उनले अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरेर काम भईरहेको र भोलि बिहान सम्म सम्पूर्ण तयारी पुरा हुने बताए । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्ने बताए । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने उनले बताए ।
यसै बीच एमाले अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागले जनाएकाे छ। एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।