मकवानपुर । गत २३ र २४ भदौकाे जेनजी आन्दोलनका क्रममा मकवानपुरमा २१ सरकारी कार्यालयहरूमा क्षति पुगेको छ । यसैगरी जिल्लामा १ सय ३४ वटा सवारी साधन जलेर नष्ट भएकाे तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा १३ वटा जिल्लास्थित संघीय कार्यालय, ८ वटा प्रदेश अन्तर्गतका जिल्ला कार्यालय र २ वटा सार्वजनिक संस्थानमा तोडफोड तथा आगजनी भएको छ । जिल्लाका कुल १३ वटा सङ्घीय कार्यालयका भवनमा क्षति पुग्दा ४ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने प्रदेशका ६ कार्यालयमा क्षति पुग्दा २ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । आन्दोलनले २ वटा सार्वजनिक संस्थानका भवनमा पनि क्षति पुर्याउँदा ४ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
जिल्लामा रहेका १८ वटा संघीय कार्यालय, ६ वटा प्रदेश कार्यालय र एउटा सार्वजनिक संस्थानका गरी २५ कार्यालयको १ सय ३४ वटा सवारी साधनहरू जलाएर नष्ट गरिएकाे कार्यालयको विवरणमा उल्लेख छ । उक्त १३४ वटा सवारी साधनमा क्षति पुग्दा ४ करोड ८३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक विवरण रहेको छ ।
जिल्लाका ५ वटा सरकारी कार्यालयका भवनमा सामान्य, १४ वटा आंशिक र २ वटामा पूर्ण क्षति पुगेकाे छ । सरकारी भवनमा क्षति पुग्दा समग्रमा १२ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुर । मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
बुलेटकाे ठक्करबाट केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठ घाइते भएकाेमा उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनु्सार स्कुटरमै सवार केदार र सरस्वतीका छोरा २ वर्षीय प्रविन श्रेष्ठ पनि घाइते भएका छन् । उनकाे पनि एलाईभ अस्पतालमा उपचार भइरहेकाे तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ग्यास बुलेट र ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिन नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजनीति गरेको मानवताका लागि भएकाे बताएका छन् । मुख्यमन्त्री बानियाँले विपन्न दलित एवं एकल महिलालाई घर हस्तान्तरण गर्दै यस्तो बताएका हुन् ।
उनले आइतबार मकवानपुर मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । ‘हामीले राजनीति गरेकाे मानवताकाे लागि हाे’ हस्तान्तरण कार्यक्रममा उनले भने ‘गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’
सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेका थिए । उनले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा यस्ता घर निर्माण गर्दैछन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको छ । आरसीसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ती, पानी लगायतको सुविधा छ ।
मुख्यमन्त्री बानियाँले प्रदेशभरिका १ हजार विपन्न परिवारका लागि प्रदेश सरकारमार्फत घर निर्माण गर्ने योजना घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ । मुख्यमन्त्री नियुक्त भएपछि बानियाँले आफ्नो पारिश्रमिकबाट घरबार विहीन विपन्न दलित तथा एकल महिलाका लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोही बमोजिम उनले सुनारको घर निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण कार्यक्रमा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरफले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएकाे गरेको छ ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसपार्क नजिकै रहेकाे गुम्बा स्थित रहेकाे एक खाजाघरबाट ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद, ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीले खाजाघर सञ्चालक हेटौंडा–१०, कर्राका ३५ वर्षीय हिरालाल मोक्तान तथा निजकाे श्रीमति ३५ वर्षीया वसन्ती ब्लोनसहित ११ जनालाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यसैगरी हेटौंडा–१० टिसिएनरोडका ३७ वर्षीय अर्जुन तामाङ, हेटौंडा–१०, न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौंडा–१०, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौंडा–४, हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, हेटौंडा–४, हुप्रचौरकी ३० वर्षीया शान्तिमाया तामाङ, हेटौंडा–१०, बसपार्ककी ६६ वर्षीया कान्छीमाया ब्लोन, हेटौंडा–११, थानाभर्याङकी ४५ वर्षीया सीता लामा, मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल, र मकवानपुरको मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारीफ दिएकाे छ ।
मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई घर हस्तान्तरण गरिने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुबिधाबाट सुनारकाे लागि निर्माण गरिदिएकाे घर कार्तिक २ गते मंगलबार हस्तान्तरण गरिने भएकाे हाे ।
नेपालीहरुको पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएकाे छ । घर हस्तान्तरण भएसँगै उनले आफ्नै घर प्राप्त गर्ने छिन् । मुख्यमन्त्री बानियाँले आफ्नै निर्वाचन क्षेत्र अन्तरगत राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको लागि समेत घर निर्माण गरिरहेका छन् । चेपाङकाे लागि बन्दै गरेकाे घर कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने बताइएकाे छ ।
बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै आफ्नो निर्वाचन क्षेत्रकाे विपन्न परिवारको लागि घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।