मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई घर हस्तान्तरण गरिने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुबिधाबाट सुनारकाे लागि निर्माण गरिदिएकाे घर कार्तिक २ गते मंगलबार हस्तान्तरण गरिने भएकाे हाे ।
नेपालीहरुको पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएकाे छ । घर हस्तान्तरण भएसँगै उनले आफ्नै घर प्राप्त गर्ने छिन् । मुख्यमन्त्री बानियाँले आफ्नै निर्वाचन क्षेत्र अन्तरगत राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको लागि समेत घर निर्माण गरिरहेका छन् । चेपाङकाे लागि बन्दै गरेकाे घर कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने बताइएकाे छ ।
बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै आफ्नो निर्वाचन क्षेत्रकाे विपन्न परिवारको लागि घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।

