मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त स्थानमा जनकपुरबाट काठमाडौँ जान आइरहेको बा प्र ०३-००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका-६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा रहेकाे शारदा माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको स्वर्ण महोत्सव सप्ताहाव्यापी विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
मकवानपुरगढीकाे वडा नम्बर–५ धादिङमा रहेको विद्यालयले शनिबार हेटौंडामा पत्रकार भेटघाट गरी एक साता सम्म गरिने कार्यक्रमको जानकारी गराइएको हो । आगामी १ मंसिर देखी ७ मंसिरसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि महोत्सव मनाइने प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले बताए । एक हप्तासम्म जिल्ला स्तरीय, गाउँपालिका स्तरीय, विद्यालयस्तरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष युवराज सापकोटाले जानकारी दिए ।
विद्यालयको स्वर्ण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँ पालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भूपु विद्यार्थी मित्रमिलन कार्यक्रम, विज्ञान प्रदर्शनी विद्यालय, रक्त दान, निःशुल्क स्वास्थ परीक्षण शिविर, विद्यालयमा वृत चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन र प्रदर्शन, स्वर्ण जयन्ती गान वा विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण विद्यालय स्मृति चिन्ह वा स्वर्ण जयन्ती शिला पट्टको अनावरण, अभिभाबक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायतका ५८ वटा कार्यक्रम गरिने प्रधानध्यापक कार्कीले जानकारी दिए ।
विद्यालयले उत्सवकाे रुपमा मनाउन लागेकाे स्वर्ण महोत्सवमा करिब १५ लाख खर्च हुने अनुमान रहेको विव्यस अध्यक्ष सापकोटाले बताए । विद्यालयले तिहारमा दुई देउसी भैलो कार्यक्रमबाट १३ लाख रुपैयाँ रकम संकलन गरिएको र त्यस रकमबाट केही रकम स्वर्ण महोत्सवका लागि खर्च गरिने बताइएकाे छ । यस्तै बाँकी रकम विद्यार्थी छात्रवृद्धी कोषकाे लागि खर्च गरिने मकवानपुरगढी वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए । विद्यालयमा हाल ५ सय १४ जना विद्यालय अध्ययनरत छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले अबैध रूपमा खेती गरिएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त टोलीले मकवानपुरकाे राक्सिराङ, कैलाश भीमफेदी गाउँपालिकाका बिकट क्षेत्रमा लगाइएकाे गाँजा फडानी गरेकाे हाे ।
१७ कात्तिकदेखि २० कात्तिकसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ३० विगाहा १० कठ्ठामा लगाइएकाे गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीले राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका बिभिन्न वडामा अवस्थित गाँजा खेती फडानी गरिएको हो।
प्रहरीले अवैध लागुऔषध खेती नियन्त्रण गर्न निरन्तर अभियान चलाइने तथा यस्तो गतिविधि गर्नेहरूमाथि कानूनी कारबाही अघि बढाइने जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका महिलामैत्री शहर हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय युएनओपिएसबिच परियोजना सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर भएसंगै हेटौंडा महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास हुने भएको हो ।
सम्झौता अनुसार युएनओपिएसको ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजनाले हेटौंडालाई १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ । परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले ३० प्रतिशत लागत सहभागीता समेत गरि करिव ३ कराेड ५० लाखको लागतमा योजना कार्यान्वयन गरिने भएको हो।
महिला मैत्री सहर निर्माण अभियान अन्तरगत हेटौंडा-४ को हुप्राक्षेत्र, हेटौंडा-८ काे चिल्ड्रेन पार्क र हेटौंडा-१० काे भुटनदेवी सामुदायिक वन क्षेत्र लगायतका क्षेत्रका सार्वजनिक स्थललाई व्यवस्थित र सुविधा सम्पन्न बनाईने छ । ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य तीव्र शहरीकरण र बढ्दो जलवायु जोखिमले सिर्जना गरेका चुनौतीहरूलाई सामना गर्नु रहेको छ । परियोजनाले लैंगिक उत्तरदायी र जलवायु प्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमार्फत नगरपालिकाहरूलाई सहयोग गर्दै आएको बताइएको छ ।
युरोपेली सङ्घ र सुओमी फिनल्याण्डको आर्थिक सहयोगमा युएनओपिएस, युएन हाविटाट र सिटिज एलायन्सद्वारा संयुक्त रूपमा चार वर्षको अवधिमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।
मंगलबार भएको सम्झौताले स्थानीय तहका योजनाहरूमा समावेशी र जलवायु प्रतिरोधी शहरी विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने नगरपालिकाले विश्वास गरेको छ । नगर प्रमुख मिना लामाले सम्झौता गरिएको परियोजनाले महिलाका साथै अन्य समुदायलाई समेत नगरका योजना प्रक्रियामा सहभागी गराउन अवसर सिर्जना गर्ने बताइन् । ‘शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुले अहिले पनि हिंसा लगायतक समस्या सामाना गर्नु परिरहेको अबस्थामा हेटौंडालाई महिला मैत्री शहर बनाउन गरिएको सम्झौता महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे सिआन पुनर्स्थापना केन्द्रलाई हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले जस्तापाता (स्टिल रूफिङ सामग्री) सहयोग गरेकाे छ । गोल्छा प्रतिष्ठानअन्तर्गतकाे बारा सिमरामा रहेकाे हुलास स्टिलले सिआनलाई जस्ता पाता सहयोग गरेको हाे।
लागुऔषध दुर्व्यसनी, मदक पदार्थ प्रयोगकर्ता तथा मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरूको उपचार, परामर्श र पुनर्स्थापनाको क्षेत्रमा क्रियाशील सिआनलाई २ लाख बराबरकाे ४ हजार वर्गफुटको २० बन्डल जस्ता पाता सहयोग गरिएकाे संस्थाले जनाएकाे छ ।
हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख रवीन्द्र पण्डितले सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधि अनुप भुजेल, रोशन सिलवाल, मनिषमान श्रेष्ठ र राहुल सुवेदीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रशासन प्रमुख पण्डितले हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समाजको उत्थान, पुनर्स्थापना र सक्षम समुदाय निर्माणका लागि निरन्तर योगदान गरिरहेकाे बताए ।
उनले सिआन पुनर्स्थापना केन्द्रले युवालाई लागुपदार्थको दुरुपयोगबाट मुक्त गर्दै पुनः सकारात्मक जीवनतर्फ उन्मुख गराउने उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे। सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरूले हुलास स्टिलको सहयोग संस्थाका लागि अत्यन्त महत्वपूर्ण र प्रेरणादायी भएकाे जानकारी दिए । नशामुक्त, स्वस्थ र उत्पादक समाज निर्माण’ गर्ने हाम्रो दीर्घकालीन भिजन साकार पार्न यस्ता सहयोगहरूले थप ऊर्जा र हौसला प्रदान गर्ने सिआनले जनाएकाे छ ।
केन्द्रका कर्मचारी अनुप भुजेलले सिआनको उद्देश्य केवल उपचारमा सीमित छैन। हाम्रो उदेश्य प्रत्येक व्यक्तिलाई अवसर, आशा र सम्मानको वातावरण दिलाउँदै समाजमा पुनर्जागरण र आत्मपरिवर्तनको बाटोमा अघि बढाउनु भएकाे बताए । केन्द्रका मनिश मान श्रेष्ठले सहयोगले केवल भौतिक संरचना सुदृढीकरणमा मात्र नभई, समाजमा साझा जिम्मेवारी र सकारात्मक सहकार्यको सशक्त सन्देश प्रेषण गरेको बताए। “यस्तो सहकार्यले संस्थाको क्षमता वृद्धि मात्र होइन, सामाजिक रूपान्तरण र सामूहिक उत्तरदायित्वप्रति सबैलाई प्रेरित गर्ने कार्य गरेको छ” उनले भने ।
संस्थाका रोशन सिलवालले हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडप्रति आभार व्यक्त गर्दै सहयोग केवल सामग्रीको समर्थन मात्र होइन, सिआनकाे मिशनप्रति विश्वास र उत्प्रेरणाको प्रतीक भएकाे बताए । सिआन पुनर्स्थापना केन्द्रले विगत एक दशकदेखि लागुपदार्थ प्रयोगकर्ताहरूको उपचार, परामर्श, पुनर्स्थापना तथा पुनःएकीकरणका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताइएकाे छ।