मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे सिआन पुनर्स्थापना केन्द्रलाई हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले जस्तापाता (स्टिल रूफिङ सामग्री) सहयोग गरेकाे छ । गोल्छा प्रतिष्ठानअन्तर्गतकाे बारा सिमरामा रहेकाे हुलास स्टिलले सिआनलाई जस्ता पाता सहयोग गरेको हाे।
लागुऔषध दुर्व्यसनी, मदक पदार्थ प्रयोगकर्ता तथा मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरूको उपचार, परामर्श र पुनर्स्थापनाको क्षेत्रमा क्रियाशील सिआनलाई २ लाख बराबरकाे ४ हजार वर्गफुटको २० बन्डल जस्ता पाता सहयोग गरिएकाे संस्थाले जनाएकाे छ ।
हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख रवीन्द्र पण्डितले सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधि अनुप भुजेल, रोशन सिलवाल, मनिषमान श्रेष्ठ र राहुल सुवेदीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रशासन प्रमुख पण्डितले हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समाजको उत्थान, पुनर्स्थापना र सक्षम समुदाय निर्माणका लागि निरन्तर योगदान गरिरहेकाे बताए ।
उनले सिआन पुनर्स्थापना केन्द्रले युवालाई लागुपदार्थको दुरुपयोगबाट मुक्त गर्दै पुनः सकारात्मक जीवनतर्फ उन्मुख गराउने उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे। सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरूले हुलास स्टिलको सहयोग संस्थाका लागि अत्यन्त महत्वपूर्ण र प्रेरणादायी भएकाे जानकारी दिए । नशामुक्त, स्वस्थ र उत्पादक समाज निर्माण’ गर्ने हाम्रो दीर्घकालीन भिजन साकार पार्न यस्ता सहयोगहरूले थप ऊर्जा र हौसला प्रदान गर्ने सिआनले जनाएकाे छ ।
केन्द्रका कर्मचारी अनुप भुजेलले सिआनको उद्देश्य केवल उपचारमा सीमित छैन। हाम्रो उदेश्य प्रत्येक व्यक्तिलाई अवसर, आशा र सम्मानको वातावरण दिलाउँदै समाजमा पुनर्जागरण र आत्मपरिवर्तनको बाटोमा अघि बढाउनु भएकाे बताए । केन्द्रका मनिश मान श्रेष्ठले सहयोगले केवल भौतिक संरचना सुदृढीकरणमा मात्र नभई, समाजमा साझा जिम्मेवारी र सकारात्मक सहकार्यको सशक्त सन्देश प्रेषण गरेको बताए। “यस्तो सहकार्यले संस्थाको क्षमता वृद्धि मात्र होइन, सामाजिक रूपान्तरण र सामूहिक उत्तरदायित्वप्रति सबैलाई प्रेरित गर्ने कार्य गरेको छ” उनले भने ।
संस्थाका रोशन सिलवालले हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडप्रति आभार व्यक्त गर्दै सहयोग केवल सामग्रीको समर्थन मात्र होइन, सिआनकाे मिशनप्रति विश्वास र उत्प्रेरणाको प्रतीक भएकाे बताए । सिआन पुनर्स्थापना केन्द्रले विगत एक दशकदेखि लागुपदार्थ प्रयोगकर्ताहरूको उपचार, परामर्श, पुनर्स्थापना तथा पुनःएकीकरणका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताइएकाे छ।

