मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका महिलामैत्री शहर हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय युएनओपिएसबिच परियोजना सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर भएसंगै हेटौंडा महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास हुने भएको हो ।
सम्झौता अनुसार युएनओपिएसको ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजनाले हेटौंडालाई १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ । परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले ३० प्रतिशत लागत सहभागीता समेत गरि करिव ३ कराेड ५० लाखको लागतमा योजना कार्यान्वयन गरिने भएको हो।
महिला मैत्री सहर निर्माण अभियान अन्तरगत हेटौंडा-४ को हुप्राक्षेत्र, हेटौंडा-८ काे चिल्ड्रेन पार्क र हेटौंडा-१० काे भुटनदेवी सामुदायिक वन क्षेत्र लगायतका क्षेत्रका सार्वजनिक स्थललाई व्यवस्थित र सुविधा सम्पन्न बनाईने छ । ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य तीव्र शहरीकरण र बढ्दो जलवायु जोखिमले सिर्जना गरेका चुनौतीहरूलाई सामना गर्नु रहेको छ । परियोजनाले लैंगिक उत्तरदायी र जलवायु प्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमार्फत नगरपालिकाहरूलाई सहयोग गर्दै आएको बताइएको छ ।
युरोपेली सङ्घ र सुओमी फिनल्याण्डको आर्थिक सहयोगमा युएनओपिएस, युएन हाविटाट र सिटिज एलायन्सद्वारा संयुक्त रूपमा चार वर्षको अवधिमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।
मंगलबार भएको सम्झौताले स्थानीय तहका योजनाहरूमा समावेशी र जलवायु प्रतिरोधी शहरी विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने नगरपालिकाले विश्वास गरेको छ । नगर प्रमुख मिना लामाले सम्झौता गरिएको परियोजनाले महिलाका साथै अन्य समुदायलाई समेत नगरका योजना प्रक्रियामा सहभागी गराउन अवसर सिर्जना गर्ने बताइन् । ‘शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुले अहिले पनि हिंसा लगायतक समस्या सामाना गर्नु परिरहेको अबस्थामा हेटौंडालाई महिला मैत्री शहर बनाउन गरिएको सम्झौता महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।

