मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएपछि विहीबार राती कुखुरा नष्ट गरिएको छ ।
नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।
खड्काको फार्ममा रहेको कुखुरा ३ हजार ४ सय ५३ वटा, अण्डा ५ हजार ७ सय ८० वटा र ४ सय ५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका सहायत स्तर पाँचौ प्रदीप सापकोटाले बताए ।
९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा गएको थियो ।
आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए । आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नष्ट गरिएको उनले बताए ।
र्यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले किसानले राहत पाउने सुनिश्चितता गर्न आग्रह गरे ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले १० वटै पालिकामा संयोजक तोकेकाे छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित अभियानलाई प्रभावकारी बनाउन कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको हाे ।
विहीवार बसेको कार्यसम्पादन समितिको बैठकले स्थानीय निर्वाचन सन्चालन तथा समन्वयको लागि बागमतीमा इश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाई, मकवानपुरगढीमा यतिराज सापतोटा र खेमराज सापकोटालाई संयोजक तोकिएको छ ।
त्यस्तै, भीमफेदीमा आनन्द कठायत, इन्द्रसरोबरमा विष्णुप्रसाद लामिछाने, थाहामा अशोक शाक्य, मनहरीमा अर्जुनप्रसाद चौलागाई, राक्सिराङमा उमा दाहाल, हेटौडामा माइकल रामचन्द्र अर्याल र कैलाशमा शैलेन्द्र बानियाँलाई संयोजक तोकिएको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले जानकारी दिए ।
जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन व्यवस्थित ढंगले मतदाता भेटघाट, प्रचारप्रसार अभियान संचालन र व्यवस्थापन गर्न संयोजक तोकिएको चौलागाईले बताए ।
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा मनाेनयन दर्ता गराएका नेकपा एकिकृत समाजवादीबाट उम्मेद्वारी दिएका १ जनाको उम्मेद्वारी खारेज भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा खुल्लातर्फबाट सदस्य उम्मेदवारी दिएका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,हेटौंडाले जनाएको छ । छानविनको क्रममा खुल्ला वडा सदस्यतर्फ १ जना हुनु पर्नेमा ३ जनाको परेको र सिफारिस प्रमाणित नभएको कारण थोकरको उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी खारेजी भएको छ ।
नेकपा एमालेबाट हेटौंडा ४ का वडा अध्यक्षका उम्मेद्वार नवीन सिग्देल र १९ नंबर वडा अध्यक्षका उम्मेद्वार नरनाथ सुवेदी विरुद्ध परेको उजुरी दाबी नपुगेको र उनीहरुको उम्मेद्वारी कायम रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
अधिकृत शर्माका अनुसार सिग्देलविरुद्ध कर छली गरेको र सुबेदीविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको उजुरी परेको थियो । दुबैजना विरुद्ध परेको उजुरी पुष्टि नभएको शर्माको भनाई छ ।
मकवानपुर । नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिएकी छाँया अधिकारीकाे उम्मेद्वारी बदर भएकाे छ । उम्मेद्वारी बदर भएसँगै अधिकारीले निर्वाचनमा भाग लिन नपाउने भएकी छन् ।
अधिकारीविरुद्ध राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने प्रमाण सहित उजुरी परेको थियो ।उजुरी परेको विषयमा अधिकारीले कुनै लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयानमा अधिकारी हाल जागिरमै रहेको जानकारी आएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । गणक पद पारिश्रमिक पाउने पद रहेको र उम्मेद्वारी बदर भएमा सहमत रहेको व्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।
यसैगरि नेकपा माओवादीका उपाध्यक्ष भक्त बहादुर खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरीमा प्रमाण नपुगेको भन्दै उनीहरुको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सुर्यचन्द्र न्याैपाने चयन भएका छन् । नेकपा (एस) पार्टी गठन पछी मकवानपुर अध्यक्ष भएका श्रीधर पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी राजिनामा दिएपछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् ।
नेकपा एसबाट सुन्दर राजनीतिको सपना बुँनेको तर पार्टी सत्तामा पुगेपछि अबसरबाद, ब्यक्तिबाद हाबी भएको भन्दै बुधवार अध्यक्ष पदबाट पोखरेलले राजीनामा दिएका थिए । उनको राजिनामा पश्चात बसेको सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर सह-इन्चार्ज न्यौपानेलाई अध्यक्ष चयन गरेको हाे ।
न्यौपानेलाई बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको एकिकृत समाजवादी पार्टी सचिवालय मकवानपुरले जनाएको छ ।