शारदाकाे विद्यालय गान युट्युबमा सार्वजनिक
Tags: No Comments
मकवानपुर । शारदा माविकाे विद्यालय गान युटुबमा सार्वजनिक गरिएकाे छ । ५० औं स्थापना दिवसकाे अवसरमा मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका ५ धादिङमा रहेकाे शारदा माध्यमिक विद्यालयले तयार पारेकाे विद्यालय गानको भिडियो सार्वजनिक गरिएको हो ।
२०८२ मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म आयोजना गरेकाे स्वर्ण महोत्सवकाे अवसरमा विद्यालय गानको अडियो सार्वजनिक गरेकाे छ । विद्यालयका पूर्व विद्यार्थीहरुकाे संलग्नतामा गान तयार गरिएकाे हाे । शारदा माविको पूर्व विद्यार्थी साहित्यकार तथा पत्रकार सरिता दाहालद्वारा लिखित विद्यालय गानलाई विदुर हुमागाईंले एरेन्ज गरेका हुन् । पुर्व विद्यार्थी कविराज हुमागाईंले संगीत दिएका छन् भने कविराज र दीपा तामाङकाे स्वर रहेकाे छ । विद्यालय गान रेकर्ड अडियो नेपाल पुतलिसडकमा गरिएकाे विद्यालयका प्रध्यानाध्यापक इन्द्रबहादुर कार्कीले बताए ।
क्रियटर नेपालले बनाएकाे उक्त गानकाे भिडियो सहीखबर युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएकाे छ । मंसिर १ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गानकाे अडियो सार्वजनिक गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बेलुका हेटौडा – ४ कर्रा चोक स्थित पूर्व पश्चिम सडक खण्डमा ना. ३८ प ५८५० नम्बरको मोटरसाइकलकाे ठक्करबाट खुइली डोमकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
पशुपतिनगर तर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको उक्त मोटरसाइकलले ठक्कर दिंदा पर्सा वीरगञ्ज महानगर पालिका १६ नागुवा घर भई हेटौंडा १० कर्रामा डेरामा बस्ने ५५ वर्षीय खुइली घाइते भएकी थिइन् । उनलाई उपचारको हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी मोटरसाइकल चालक बारा सिम्रनगढ ११ बस्ने २५ वर्षीय सुनिल ठाकुरलाई मोटरसाइकल सहित नियन्त्रणमा लिईएको जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे बजार क्षेत्रकाे सडक विस्तारकाे लागि रेखांकन सुरु गरिएकाे छ । सडक विस्तारलाई अगाडी बढाउन बुधबार गठन गरिएको विशेष टास्क फोर्सले रेखांकनकाे कार्य सुरु गरेकाे हाे । टास्क फोर्सले बुधबारबाटै कार्य प्रारम्भ गरेकाे थियाे ।
बुधबार माइकिङसहित प्रारम्भिक कार्य सुरु गरेकाे टिमले सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको हाे । टिमले हेटौंडा १५, रातोमाटेबाट रोखांकन कार्य सुरु गरेको हो ।सडक विस्तारलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदी संयोजक रहेको उक्त समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिहरू छन् ।
डिभिजन सडक कार्यालयले ५ मंसिरमा सार्वजनिक सूचनामार्फत महेन्द्र राजमार्गकाे रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथकाे बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेकाे थियाे । उक्त सूचनाकाे समय आगामी १९ मंसिरमा सकिँदै छ ।
उक्त अवधि भित्र संरचना घनी स्वयंले सडक क्षेत्र भित्र पर्ने संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएकाे छ । चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइने तयारी भएकाे बताइएकाे छ ।
विस्तार सहज बनाउन बाइपासकाे तयारी
सडक विस्तार कार्य सहज बनाउन हेटौंडामा वैकल्पिक बाइपास मार्ग तयारी गरिने भएकाे छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित डिभिजन सडक कार्यालयकाका प्राविधिकले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गरेका छन् । मुख्य बजार क्षेत्रमा सडक विस्तारका कारण सवारी सञ्चालनमा अवरोध हुने भएकाले मंसिर २० गतेदेखि बजार क्षेत्रमा सवारी आवागमन रोक्ने तयारीमा प्रशासन रहेकाे छ ।
वैकल्पिक मार्गका रूपमा काठमाडौं–भैँसेबाट आउने सवारी चौकीटोल हुँदै राप्ती उकास क्षेत्र र त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ, पूर्व–पश्चिम राजमार्गबाट पूर्व जाने सवारी राप्ती किनार हुँदै रातोमाटे तर्फ, मदन भण्डारी लोकमार्ग तथा कान्तिलोकपथबाट आउने सवारी कमाने हुँदै रातोमाटे निकाल्ने व्यवस्था मिलाइँदैछ ।
हेटौंडाकाे सडक विस्तारकाे लागि यस अघि पटक पटक सूचना प्रकाशित हुदै रोकिदै आएकाे थियाे । सडक विस्तारकाे लागि सर्वोच्च अदालतकाे फैसलाले नै कानुनी मार्ग खुला गरिदिएकाेले कार्यान्वयन गरिने सरोकारवाला निकायले बताउँदै आएकाे छ । सडक विस्तार हुने क्षेत्रमा करिव ५ सय ३० घर–टहरा सहितकाे संरचना पर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरबाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न उम्मेदवारी दर्ता गरिएकाे छ । मकवानपुरकाे क्षेत्र नम्बर १ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपा (एमाले) को ११ औ महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुने तयारी संगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाइएकाे हाे । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोगक सूर्य चन्द्र न्यौपानेले जानकारी दिए । यस्तै महिला तर्फ ८ जना र युवा तर्फ १० जनाले उम्मेदवारी दिएको उनले बताए । न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट खुला तर्फ १६ जना, महिला तर्फ १० र युवा तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुने छन् । दलित क्षेत्र अन्तरगत १ जना प्रतिनिधिकाे लागि जिल्ला भरिबाट निर्वाचित हुने छन् । क्षेत्र नं १ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा क्षेत्र नं २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना निर्वाचित हुने एमाले मकवानपुरले जनाएको छ । महाधिवेशनको लागि जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुने छन् । उक्त प्रतिनिधि चयनको लागि आगामी १३ गते निर्वाचन हुने बताइएको छ । प्रतिनिधि छनौटका लागि क्षेत्र नं १ बाट ४ हजार १०९ जना, क्षेत्र नं २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना मतदाता रहेकाे एमाले मकवानपुरले जनाएकाे छ ।
यसै बीच एमाले महाधिवेशन प्रतिनिधिका लागि स्थानीय तहका निर्वाचित जन प्रतिनिधि, प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य पूर्व सांसदहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, १८ का वडाध्यक्ष अनिकुमार बानियाँ, १० का वडाध्यक्ष फुर्वादोर्जे लामा, १५ का वडाध्यक्ष सुनिल मुक्तान, ११ का वडाध्यक्ष जुना दाहाल लगायतका छन् ।
दाहालले मकवानपुर क्षेत्र नं. २ बाट महिला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छिन् भने अन्यले क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराए । स्थानीय तहका पूर्व जनप्रतिनिधिहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्। ‘लाेकतान्त्रिक विधिकाे सर्वाेकृष्ट पद्वति सर्वसम्मतिबाट छनाैट गर्न सबैकाे पहल आवश्यक रहेकाे छ’ उनले भने ‘सर्वसम्मत विधिबाट प्रतिनिध चयन हुन हुन नसक्दा मित्रवत् प्रतिस्पर्धामा सहभागी भई छनौट गरिने छ।’ ‘हामी स्वस्थ र पार्टीकाे सदस्यहरुकाे भावनाका साथ अगाडि बढाैँ । पार्टीकाे आन्तरिक जीवनलाई अझ सुदृढ र बलियाे बनाऔँ ’ उनले भने ।
भक्तपुरकाे सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौंकाे भृकुटी मण्डपमा बन्दसत्र हुने एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुनेछन्।




मकवानपुर । मकवानपुरमा ‘मेरो बुलन्द आवाज जुनियर सिजन १’ हुने भएको छ । मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन १ पब्लिक स्पिकिङ कार्यक्रम हुने भएकाे हो ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको साझा प्रयासमा सिजन १ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा प्रमुख रुपक कालिराजले जानकारी दिए । उनका अनुसार जुनियर सिजन १ मा प्रथम हुनेले नगद ५० हजार, शिल्ड प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेकाे कालिराजले बताए । ‘जिल्लाभरीका विद्यार्थीहरूलाई आत्मविश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं ’ उनले भने । कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरिएकोले विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ । मकवानपुर जिल्लाभरिका विद्यालयका उत्साही तथा इच्छुक विद्यार्र्थीहरुलाई यस कार्यक्रममा सहभागी हुन उनले गरे ।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो विचार खुलस्त अर्थात निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउने कार्यक्रमका निर्देशक अनन्त खुलालले बताए । ‘अहिले मेघा अडिसनका लागि स्टुडियोको निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रिअडिसन २०८२ मंसिर १५ गतेदेखि शुरु उनले जानकारी दिए । ’ प्रवेश शुल्क निःशुल्क रहेको अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
आयोजकका अनुसार अडिसनमा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तित्वहरु निर्णायक छन् । निर्णायकमा पत्रकार देवराज पन्त, आधुनिक राष्ट्रिय माविका सहायक प्रध्यानाध्यापक मालती पोखरेल तथा तुलसी मेयर मोमोरियल माविका सहायक प्रिन्सीपल कमल नेपाल रहेका छन् ।
आमसञ्चार तथा पत्रकारिता विषयमा मास्टर्स पन्त रेडियो स्टेशन मेनेजर, कार्यक्रम संयोजक लगायतमा आवद्ध रहेका छन् । अङ्ग्रेजी विषयमा मास्टर्स गरेका पोखरेल २०५८ साल देखि शिक्षण पेसामा आवद्ध रही अंग्रेजी भाषा प्रशिक्षक समेत छन् । १६ बर्षदेखि शिक्षक पेसामा आवद्ध रहेका नेपाल नेपाली भाषा शिक्षक समितिको कोषाध्यक्ष हुन् ।
अडिसन अवधिभर अतिथि निर्णायकहरु समेत रहने आयोजकले जनाएको छ । जुनियर सिजन १ कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।