मकवानपुर । बागमती प्रदेश सरकारले ऐन कानुन निर्माणको क्रममा सरोकारवालाहरूसंग सहकार्य नगरेको बताईएको छ ।
न्याय तथा अधिकार संस्था (जुरी) नेपालले बागमती प्रदेशको राजधानी मकवानपुरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । कानुनको मस्यौदा निर्माणका क्रममा होस् वा संशोधनका क्रममा सरोकारवालासँग समितिले छलफल नै नगरेको अधिवक्ता मुकुन्द अघिकारीले बताए । सम्बन्धि बिषयबिज्ञ वा कन्सल्याल्सिको भूमिकामा केहि व्यक्तिलाई परामर्शकर्ताको रुपमा लिइए पनि मसिनो गरि वास्तविक सरोकारवालाहरूको सहभागिता कानुन निर्माणक्रममा नभएको वरिष्ठ अधिवक्ता केशव काफ्लेले बताए ।
सरोकारवालाहरूले मस्यौदाको रूपमा दिएको सुझावलाई नै कतिपय अवस्थामा कानूनकै रूप प्रदान गरिएको र त्यो कानुन बारे स्वयम् समितिको सदस्यहरू नै अनविज्ञ हुने गरेको अधिवक्ता तथा प्राध्यापक कृष्ण दाहालले बताए । बागमती प्रदेशमा कानुन निर्माण तथा कार्यान्वयनको सवालमा मकवानपुर जिल्लाका केहि सरोकारवालाहरूसंग समूह छलफल नगरिंदा यसको प्रभावकारीता मै प्रश्न उठ्ने गरेको नागरिक समाजको बुझाई छ ।
प्रदेशको लागि आवश्यक कानुन बन्न्नु सकारात्मक भए पनि कार्यान्वयन पाटो फितलो भएको निष्कर्ष छलफलमा आएको र उक्त सवाल बारे प्रदेशको सभामुखलगायतलाई जानकारी गराउने जुरि नेपालका अधिवक्ता धर्मराज रेग्मीले बताए ।
अधिवक्ता रेग्मी, रोस्ली पोखरेल र जुरी नेपाल नेपाल बागमती प्रदेश फिल्ड संयोजक अधिवक्ता अप्सरा बस्नेतले छलफलमा सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा गैसस मकवानपुर उपाध्यक्ष रमिला सापकोटा, अनौपचारिक क्षेत्र सेवा केन्द्र बागमती प्रदेशद्वारा गठित मानव अधिकार समूह हेटौंडाको संयोजक चन्दावती पनेरू, ब्युल डाइमण्ड सोसाइटीको किरण थापा तथा सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । सहकारी सदस्यलाई वित्तीय शिक्षा आवश्यक रहेकाे एक कार्यक्रममा बताइएकाे छ । शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरले स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उक्त कुरा बताइएकाे हाे ।
सहकारीले शनिबार १३ औँ स्थापना दिवस शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा कार्यक्रम आयोजना गरी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक बद्रीप्रसाद लम्सालले सहकारीका सवै सदस्यलाई सामुदायिक वित्तीय शिक्षाको आवश्यकता रहेको बताएका हुन् । वित्तीय नियमको अज्ञानताका कारण कतिपय सहकारीका सदस्यहरुको लगानी जोखिममा परेको उनले बताए ।
‘शिक्षकहित बचत तथा ऋण सहकारी अब बहुद्देश्यीय संस्थाको रुपमा अघि बढ्नुपर्छ’ लम्सालले भने ‘सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ । सहकारीका लगानी अनुत्पादक क्षेत्रमा भइरहेकोले यसले वित्तीय जटिलता निम्तिने सम्भावना रहेकाे छ ।’
सहकारीका साधारण सदस्यहरु नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रिय समितिमा निर्वाचित लक्ष्मी गजुरेल र स्थानीय तह निर्वाचनमा बागमती गाउँपालिका वडा नं. ५ को सदस्य पदमा निर्वाचित खड्ग पुलामीलाई सम्मानसमेत गरेको छ । सहकारी अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक महासङ्घ मकवानपुरका अध्यक्ष जीधराज ढकालको उपस्थिति रहेको थियो ।
मकवानपुर । तोकिएको समयमा मर्मत गरेर सरकारी स्तरबाट पुस्कार लिने दाबीका साथ थालिएको काम समय सिमाभित्र नसक्दा ३ महिना म्याद थप गरिएको छ ।
निरन्तर काम गर्दा गर्दै पनि नसकिएको भन्दै ३ महिनाको लागि म्याद थप गर्न माग गरेपछि बागमती प्रदेश सरकारले सुरुङ मार्गको मर्मत गर्ने समय सिमा थापेको हो । बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाले पूर्णता पाएको छैन ।
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर यो सुरुङ मार्ग खनिएको थियो । लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिंदै बजेट छुट्याएका थिए ।
मर्मत तथा संरक्षणका लागि २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिले अन्तिम चरणमा छ । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।
सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्ग अझै दोस्रो मुखमा छिचोल्न बाँकी छ । सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहनेछ । प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा। सहदेव भण्डारीका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ ।
सुरुङ पुनर्निर्माणको काम हालसम्म ७० प्रतिशत सकिएको डा। भण्डारीले जानकारी दिए । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ । सकेसम्म पुरानै स्वरूपमा मर्मत गर्न लागिएको भण्डारीले बताए ।
सन् १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको थियो । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ ।
उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो ” पौडेलले भने ।
हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । “यो स्थान इञ्जिनियरीङ्गको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने ।
हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।
मकवानपुर । खेलाडी इन्दिरा गुरुङ ब्युटी पार्लर सिप सिकेर वैदेशिक रोजगारको तयारी छिन् । उनलाई आफूले विदेशमा गएर काम पाउनेमा ढुक्क बनाएको छ ब्युटी पार्लर सिपले ।
सुस्माज ब्युटी एकेडेमीमा पार्लर सिकेपछि आफूमा प्रर्याप्त आत्माविश्वास जागेको उनले बताइन् । “मलाई यहि सिपले आत्मनिर्भर बनाउने छ, बाहिर जाँदैछु, यदि स्वदेश मै बसे भने पनि रहेर गरे जस्तै गरि आफ्नो क्षेत्रमा अब्बल रहन सक्ने छु” उनले भनिन् । आत्मबल बढेसंगै सफलताका बाटाहरू खुल्ने उनले बताइन् ।
सुस्माज ब्युटी एकेडेमीले शुक्रबार आयोजना गरेको प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण तथा १२ औ बार्षिक उत्सव कार्यक्रम समारोहमा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा पछिल्लो ब्याजका ७० जनालाई सिकाइको प्रमाणपत्र वितरण गरिएको प्रशिक्षक अन्जु मगरले बताइन् । हालसम्म झन्डै १ हजार जनाले यस पार्लरबाट सिप सिकेर दक्ष बनेको प्रोपाइटर सुस्मा राना मगरले जानकारी दिइन् ।
कार्यक्रममा प्रशिक्षकहरू अस्मिता लामा, उर्मिला लो, एकेडेमीका प्रबन्धक दीपक राना मगरलगयतले सिप सिकेर दक्ष बनेकाहरूलाई जीवनमा सफलता मिल्ने बताउंदै आगामी दिनमा सफलताको शुभकामना दिएका थिए ।

यस पार्लरमा ६ महिनाको कोर्ष गरेर वैदेशिक रोजगार जानेलाई बिषेश गरि नेल, मेहेन्दी, मेक अपलगायत पार्लर सम्बन्धी सम्पूर्ण कोर्षको सैद्धान्तिक तथा प्रयोगात्मक सिप प्रदान गरिने प्रोपाइटर मगरले बताइन् । स्वरोजगार बन्नेको लागि आर्थिक उपार्जनको लागि महत्त्वपूर्ण गन्तव्य सुस्माज ब्युटी पार्लर भएको मगरले दाबी गरिन् ।
कार्यक्रम अर्की सहभागी अनिषा चौरेलले सिकेको कलाको सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुर (जिसस) को निर्वाचन असार २ गते विहीबार हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिसस मकवानपुरको निर्वाचन तालिका शुक्रबार सार्वजनिक गर्दै निर्वाचन असार २ गते हुने जनाएकाे छ ।
निर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकपश्चात निर्वाचन अधिकृतको कार्यालयले तालिका सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयद्वारा सार्वजनिक निर्वाचन तालिका अनुसार जेठ २८ गते मतदाताको नामावली सार्वजनिक गरिने भएकाे छ । अन्तिम मतदाता नामावली जेठ ३० गते प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारकाे मनाेनयन दर्ता गरिने छ । जेठ ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने असार १ गते उम्मेदवारलालाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।
असार २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान कार्यक्रमलाई लागि समय तय गरिएको तालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुन्छ ।
मकवानपुरमा ९ जना प्रतिनिधिसहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । उसले जिल्लाको ५ स्थानीय तहको प्रमुख तथा ४ स्थानीय तहमा उपप्रमुख जितेको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्र मतदाताको हिसाबले दोस्रो स्थानमा रहेको छ । माओवादीको २ प्रमुख तथा ५ उपप्रमुख गरी कूल ७ जना मतदाता रहेका छन् ।
त्यस्तै नेकपा एमालेको २ प्रमुख र १ उपप्रमुख गरी ३ जना मतदाता रहेका छन् । नेकपा एकीकृत समाजवादीको भने एक जना प्रमुख मात्रै मतदाताको रुपमा रहेको छ । जिसस नेतृत्वको लागि कांग्रेस र माओवादी केन्द्रले दावी गरिरहेका छन् ।