मकवानपुर । मकवानपुरका २ विद्यालयमा पूर्व विद्यार्धीहरुले शिक्षककाे भाषा पुस्तक हस्तान्तरण गरेका छन् । आकृति क्रिएसनले प्रकाशनमा ल्याएकाे पुस्तक शिक्षकमाझ पुर्याउने अभियानअन्तर्गत शुक्रबार २ विद्यालयमा पुस्तक हस्तान्तरण गरिएको छ ।
हेटौंडा–१६ स्थित जनप्रिय मावि र हेटौंडा १३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सोही विद्यालयका पूर्व विद्यार्थीको प्रायोजनमा पुस्तक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी तथा नेशनल लाइफ इन्स्योरेन्स हेटौंडाका प्रबन्धक शर्मिला बलामीको प्रायोजनमा जनप्रियका सहप्रधानाध्यापक राम आशिष मण्डललाई पुस्तक हस्तान्तरण गगरिएको हो । बलामीले विद्यालयका ४८ शिक्षक कर्मचारीका लागि ‘शिक्षकको भाषा’ पुस्तक हस्तान्तरण गरेकी हुन् ।
यस्तै हेटौंडा १३ पदमपोखरीमा रहेको महेन्द्र माविमा पनि पूर्व विद्यार्थी समूहले सबै शिक्षकहरूका लागि पुस्तक उपहार दिएका छन् । पूर्व विद्यार्थीहरू फेन्चु लामा, राम मिजार, गुणराज थिङ, मङ्गलबहादुर स्याङ्तान र रामकृष्ण वाइबाले विद्यालयका ३५ शिक्षकलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ गत शनिबार हेटौंडामा विमोचन भएको थियोे । यस अघी वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका थिए । हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले पार्टी केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।
एमाले मकवानपुरले पौडेलको संयोजकत्वमा ७५१ सदस्य कमिटी गठन गरेको हो । कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचिबमा पार्टी जिल्ला सचिब नवीन सिग्देल रहेका छन् ।
कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रिय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् ।
यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएको छ । त्यस्तै १ को क मा दिलबहादुर घिसिङ र सचीवमा कृष्ण प्रसाद चौलागाईं र ख को संयोजकमा रघुनाथ खुलाल र सचीवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुबास चन्द्र ठकुरी संयोजक र मेम्बर लोलाई सचिब रहेका छन् । २ नम्बर क्षेत्रको क मा संयोजक बलराम बल र सचिब पार्बती राना, ख मा एकराज उप्रेती संयोजक र सचिन नरेन्द्रलाल रिजाललाई तोकिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको ख को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को क को कार्यालय बकैया, २ को क को थाहामा र ख को कार्यालय मनहरीमा राखिने सचिब नवीन सिग्देलले जानकारी दिए ।
मकवानपुर । बस्ति बढेसंगै तटीय क्षेत्रमा बढेको प्रदूषणको कारण चुनौती बढेको छ । सरोकारवालाहरूले तटीय क्षेत्रको संरक्षणसंगै जलाधार शुद्धताको लागि चासो प्रकट गरेका छन् ।
यसै सवालमा सहमतिको आयोजना र डब्लुडब्लुएफको सहयोगमा हेटौंडामा सरोकारवालासँग कार्यशाला गरिएको छ । सिमसार क्षेत्र संरक्षणको काम स्थानीयवासीसंगै स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने सहभागीहरूले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुर सभापति ललित घलानले मानव वस्ति बढेसंगै बढेको नदिको फोहोरलाई नियन्त्रणमा ध्यान दिनु पर्ने बताए । ” नदिको पानी अन्जुलीमा उठाएर पिउन योग्य बनाउन लागौ, मानव बस्ती बसाउँदा, जलाधारको अतिक्रमण नहोस्” उनले भने ।
सहमतिको बोर्ड सदस्य दयासागर सुबेदीको अध्यक्षता भएको कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुदर्शन प्रसाद ढकालले पानीको मुहानमै शुद्धिकरण आवश्यक भएको बताए । खानेपानी फोहोर हुंदा समस्या बढेको उनले बताए ।

औद्योगिक क्षेत्रबाट निस्कने पानी प्रशोधन गरेर मात्रै नदिमा मिसाउनु पर्ने सवाल कार्यक्रम उठाईएको थियो । कार्यक्रममा सहभागी मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकाका प्रतिनिधिहरूले कृषि कर्म गर्दा जलाधार संरक्षणमा ध्यान दिने प्रतिबद्धता जनाएका थिए।
सहमति संस्थाले राप्ती र नारायणी नदिको जलाधार संरक्षणको लागि मकवानपुर, चितवन र नवलपुरमा यस्ता सवालबारे कार्यशाला गरेको संस्थाले जनाएको छ ।
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित भएका छन् । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै, झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेमबहादुर भोम्जन, विजय दोङ चयन भएका छन् ।
कार्यक्रम झरना साहित्यिक परिवारका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको हो ।
अधिवेशनको अवसरमा झरनाले पालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, समृद्ध समाज दैनिक पत्रिका, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, सल्लाह उद्धव सापकोटा, सल्लाहकार नूरप्रसाद गौतम, जर्नादन खनाललाई सम्मान गरिएको थियो ।
अधिबेशनमा दीपक गौतमले पेश गरेको अध्यक्षको प्रतिवेदन, मसान उपासकले पेश गरेको सचिवको प्रतिवेदन र कृष्ण घतानीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले पास गरेको थियो ।
बकैयामा बाङ्गमय प्रतिष्ठान गठन
मकवानपुरको बकैया गाउँपालिकामा बाङ्गमय प्रतिष्ठान गठन गरिएकाे छ । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा दिपक गौतमको संयोजकत्वमा ९ सदस्यीय प्रतिष्ठान गठन भएको हो ।
मकवानपुरका १० वटा पालिकामध्ये स्थानीय बाङ्गमय प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका हाे । बकैया गाउँपालिकाको २०७८ चैत्र १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार प्रतिष्ठान गठन गरिएकाे अध्यक्ष गौतमले जानकारी दिए । गौतम संयाेजक रहेकाे प्रतिष्ठानकाे सदस्यहरुमा विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो, शुभलक्ष्मी प्रभा चयन भएका छन् ।
प्रतिष्ठानले सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ । कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने संयोजक गौतमले प्रतिबद्धता जनाए । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला, भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सकेकाे सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, बकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाल समाजवादी पार्टी निकट पत्रकाहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष चयन गरेको हो । हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
वाणिज्य संकायमा स्नातकोत्तर मनोज दुई दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्य समिति सदस्य हुन् । हाल निरन्तर न्युजडटकमका वरिष्ठ सम्पादक जिम्मेवारीमा रहेका शर्मासंग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
पूर्बप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सचिवालय बसेर कार्य गरिसकेका पत्रकार शर्मासँग कुटनैतिक र राजनितिक रिपोर्टिङको समेत अनुभव रहेको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर आफूले भोगेको अनुभव तथा पत्रकारलाई दक्ष र समृद्धिमुखी बनाउन लागि आफू सक्रियतापूर्वक लाग्ने उनको भनाई छ ।
त्यस्तै संगठनको उपाध्यक्षहरुमा बिरेन्द्र साह हिटलर, राम बिनय साह, सत्य प्रकाश यादव चयन भएका छन् । महासचिवमा बिदुर ढुगेल उपमहासचिवमा उज्वल पौडेल सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा यज्ञ कार्की, मन्जु शाही, सुमित्रा घिमिरे, ललन चौरासिया, सन्जय महर्जन, सन्तोष गौतम, रियाज पौडेल, रामचन्द्र तिम्सेना, लोकश कुमार अधिकारीलगायत रहेका छन् ।
जिम्मेवारी पाएका पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका थिए । सातौं संविधानन दिवसको अवसरमा भएको कार्यक्रममा डाक्टर भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न समेत अपिल गरेका हुन् ।
