मकवानपुर । नेकपा एमाले मकवानपुरकाे निर्वाचन परिचालन सचिवालय बैठकले जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पार्टीको जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।
विगत निर्वाचनमा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतलाई सुरक्षित गर्न र फरक चुनौतीलाई सामना गर्न सबै नेता र कार्यकर्ता चनाखो हुनपर्ने र प्रचार कार्यलाई थप प्रभावकारी बनाईनु पर्ने निर्णय समेत बैठकले गरेकाे छ । उम्मेदवारहरू कार्यकर्ता र मतदाता समक्ष पुग्दा अत्यन्तै उत्साहप्रद रहेको र यसअघि सञ्चालित उम्मेदवार अगुवा कार्यकर्ता भेला जिल्लाकाे १ सय २ वटै वडामा गरिएको निर्वाचन प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
निर्वाचन सम्पर्क कार्यलय वडा तहसम्म खोलिएकाे, पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटीहरू निर्माण भएको निर्वाचन परिचालन कमिटी सचिव हिदम लामाले बताए । बैठकमा निर्वाचन परिचालन मतदातासँगको जनसम्वाद, प्रचार प्रसार, स्वयम् सेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणा पत्र निर्माणबारे छलफल भएको सिग्देलले बताए ।
निर्वाचन परिचालन कमिटी, अनुगमन समिति संयोजक डोरमणि पौडेलले पार्टीप्रति विपक्षीले फैलाएको सबै भ्रमलाई मतदाताको बीच चिर्दै राष्ट्रिय रूपमा लोकतन्त्र स्थापना गर्न खेलेको योगदान, संविधान जारी गर्न र मुलुकमा शान्ति स्थापना, मुलुकमा विकास र समृद्विको लागि खेलेको भूमिकाबारे जनतामा प्रभावकारी रूपमा लैजान सबै नेता र कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. १ निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. क्षेत्र निर्वाचन परिचालन सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा निर्वाचन प्रचार प्रसार संयोजक सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्त पौडेल, आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले बैठकमा समिक्षात्मक रिपोर्टिङ्ग गरेकाे बताइएकाे छ ।
मकवानपुर । कुमार नेगी ‘पालुङ्गे चरो’ श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ बाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले शनिबार भएकाे २३३ औं गजल यात्रामा नेगीलाई ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति २०५८ सालमा ‘श्रीजनाका हातहरू’ गजल संग्रह प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मानित गरिएकाे गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भएका छन्।
मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा प्रथम
गजल मञ्च मकवानपुरको आयोजनामा भएकाे मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा विश्वकर्मा प्रथम भएकी छिन् । हेटौंडा १८, फुर्केचौरस्थित गोरक्षनाथ माविमा कक्षा १० मा अध्ययनरत उनले प्रमाणपत्रसहित ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
२०७२ सालदेखि गजल मञ्चले निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताको लागि गजल मञ्चका पूर्वअध्यक्ष दीपक गौतमले आफ्ना हजुरआमाको स्मृतिमा पुरस्कारको व्यवस्थापन गरेका हुन् । प्रतियोगिताका लागि प्राप्त १८ वटा गजलमध्ये पहिलो चरणमा उत्कृष्ट १० वटा छनोट गरिएको थियो । उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्र प्रदान गरिएको थियाे।
उत्कृष्ट १० वटा गजल शनिबार अन्तिम चरणको प्रतियोगितामा वाचन गरिएकाे थियाे । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको उक्त गजल प्रतियोगिता भएकाे हाे । प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरुमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मञ्चकाे नियमित गजल यात्रा अन्तर्गत मुस्कान तिमल्सिना, गौरी कडेंल, देवराज तिवारी र राम कार्की लगायतले गजल वाचन गरेका थिए। मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षता भएकाे कार्यक्रममा डा. निमेष निखिलको प्रमुख आतिथ्यता तथा तुलसी घिमिरे विशेष अतिथि रहेकाे थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवको उद्घाटन गरिएको छ । हेटौंडा ४ नं. वडा कार्यालयकाे आयाेजनामा भएको महोत्सवको शुक्रबार उद्घाटन गरिएकाे छ ।
४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा भएकाे तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवकाे अवसरमा र्यालीकाे समेत आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पाैडेलले ४ नं. वडा कार्यालयले भाैतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकाे बताए । ‘यस्ता गतिविधिले विद्यार्थीकाे शारीरिक र मानसिक विकास गर्न हुन्छ’ उनले भने खेलकुद क्षेत्रमा विद्यालय तहबाटै लगानी गर्दा उत्कृष्ट खेलाडि उत्पादनमा सघाउ पुर्याउने छ ।’
हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाकाे प्राथमिकता रहेकाेले दुबैलाई संगै लैजान कार्यक्रम गरिदै आएको जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक श्रीराम दाहालले महाेत्सवमा विभिन्न प्रतियाेगितामा १२ विद्यार्थी सहभागी भएकाे र प्रतियाेगिता अन्तर्गत विजेता ३ सयभन्दा बढि विद्यार्थीलाई पुरस्कृत गरिने जानकारी दिए ।
महाेत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, बक्तृत्व, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियाेगिता भएकाे खेलकुद संयाेजक राजाराम पाेखरेलले जानकारी दिए ।
प्रतियोगिता अन्तरगतका बिधगत विजेता आगामी फागुन ७ गते प्रजातन्त्र दिवसकाे अवसरमा पुरस्कार वितरण गरिने आयाेजकले जनाएकाे छ ।
मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित ३ महिने अभियान सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्र हेटाैंडाकाे व्यवस्थापनमा मनहरी गाउँपालिकामा अभियान गरिएको छ।
अभियान अन्तरगत पालिकास्तरीय समन्वय तथा अन्तरक्रिया तथा बैठकमा लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ बमोजिम पालिका स्तरीय समन्वय समिति गठन गर्ने निर्णय भएकाे छ ।अन्तरक्रियामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी ले नीति, योजना, तथ्याङ्क संकलन तथा कार्यक्रम कार्यान्वयनलाई एकीकृत ढंगले अगाडि बढाइने स्पष्ट पारे।अभियान अन्तर्गत मनहरी गाउँपालिकाका भोज सिद्ध माविमा सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ। कार्यक्रममा लागुऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास तथा सकारात्मक जीवनदृष्टि सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको हाे । शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताको सहभागितामा रहेकाे थियाे ।
समुदायस्तरमा सन्देश प्रवाहलाई सुदृढ बनाउन गाउँपालिकाका मुख्य चोक, सार्वजनिक स्थल तथा बजार क्षेत्रहरूमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्रका बोर्ड राख्नुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण समेत गरिएको छ। कार्यक्रमहरूले लागुऔषध विरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गर्ने बताइएकाे छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अध्यक्षतामा भएकाे अन्तरक्रिया तथा बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता थियो ।
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा हेटौंडाको राजनीतिक माहोल क्रमशः तातिँदै गएको छ । जाडो क्रमशः घटदै दैनिक तापक्रम जसरी वढदै छ,त्यसरी नै चुनावी माहौल पनि तातिदै गएको छ । मकवानपुरका दुवै क्षेत्रत्रका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन ।
मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार रामेश्वर राना मगर पनि घरदैलो अभियानमा सक्रिय रहदै आएका छन् । घरदैलोमा पुगेर उनले मतदातालाई आफूतिर आकर्षित प्रयत्न गर्दै आएका छन । साेही क्रममा शुक्रबार हेटौंडा उपमहानगरपालिका—१६ र १८ मा घरदैला र भेटघाट कार्यक्रममा गरेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीको उपस्थिती राम्रो रहेको थियो । टोल–टोलमा पुग्दा मतदाताले रानालाई स्वागत गर्दै विकास, सुशासन र स्थायित्वप्रतिको अपेक्षा राखेका थिए ।
केही स्थानीयले विगतमा जिल्लास्तरमा उनले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अनुभवी र शालीन नेतृत्वको आवश्यकता औंल्याएका थिए ।मतदातासँगको कुराकानीमा रानाले लोकतन्त्रको सुदृढीकरण, विकासको निरन्तरता र जनउत्तरदायी शासन आफनो प्राथमिकता रहेको बताए । पूर्व जिल्ला विकास समिति मकवानपुरका सभापति रहदै उनले दुर्गम क्षेत्रसम्म सडक सञ्जाल विस्तार, दीर्घकालीन विकास योजना निर्माण तथा संगठन सुदृढीकरणमा भूमिका खेलेको उनका समर्थकहरू बताउँछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि र संयमित स्वभावका कारण उनी स्थानीय राजनीतिमा फरक पहिचान बनाएका नेताका रुपमा चिनिन्छन् ।
मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा गरी ४० वडा समेटिएकाे छ ।
यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये ५ जना महिला उम्मेदवार रहेका छन्, जसमा ३ जना विभिन्न दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन मिति नजिकिदै जाँदा मतदाताको सक्रियता र उम्मेदवारहरूको घरदैलो अभियानले हेटौंडाको चुनावी वातावरण अझै चहलपहलपूर्ण बन्दै गएको छ । परिणाम जे आए पनि यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।