मकवानपुर । नेकपा एमाले मकवानपुरकाे निर्वाचन परिचालन सचिवालय बैठकले जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पार्टीको जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।
विगत निर्वाचनमा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतलाई सुरक्षित गर्न र फरक चुनौतीलाई सामना गर्न सबै नेता र कार्यकर्ता चनाखो हुनपर्ने र प्रचार कार्यलाई थप प्रभावकारी बनाईनु पर्ने निर्णय समेत बैठकले गरेकाे छ । उम्मेदवारहरू कार्यकर्ता र मतदाता समक्ष पुग्दा अत्यन्तै उत्साहप्रद रहेको र यसअघि सञ्चालित उम्मेदवार अगुवा कार्यकर्ता भेला जिल्लाकाे १ सय २ वटै वडामा गरिएको निर्वाचन प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
निर्वाचन सम्पर्क कार्यलय वडा तहसम्म खोलिएकाे, पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटीहरू निर्माण भएको निर्वाचन परिचालन कमिटी सचिव हिदम लामाले बताए । बैठकमा निर्वाचन परिचालन मतदातासँगको जनसम्वाद, प्रचार प्रसार, स्वयम् सेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणा पत्र निर्माणबारे छलफल भएको सिग्देलले बताए ।
निर्वाचन परिचालन कमिटी, अनुगमन समिति संयोजक डोरमणि पौडेलले पार्टीप्रति विपक्षीले फैलाएको सबै भ्रमलाई मतदाताको बीच चिर्दै राष्ट्रिय रूपमा लोकतन्त्र स्थापना गर्न खेलेको योगदान, संविधान जारी गर्न र मुलुकमा शान्ति स्थापना, मुलुकमा विकास र समृद्विको लागि खेलेको भूमिकाबारे जनतामा प्रभावकारी रूपमा लैजान सबै नेता र कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. १ निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. क्षेत्र निर्वाचन परिचालन सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा निर्वाचन प्रचार प्रसार संयोजक सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्त पौडेल, आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले बैठकमा समिक्षात्मक रिपोर्टिङ्ग गरेकाे बताइएकाे छ ।

