मकवानपुर । कुमार नेगी ‘पालुङ्गे चरो’ श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ बाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले शनिबार भएकाे २३३ औं गजल यात्रामा नेगीलाई ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति २०५८ सालमा ‘श्रीजनाका हातहरू’ गजल संग्रह प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मानित गरिएकाे गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भएका छन्।
मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा प्रथम
गजल मञ्च मकवानपुरको आयोजनामा भएकाे मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा विश्वकर्मा प्रथम भएकी छिन् । हेटौंडा १८, फुर्केचौरस्थित गोरक्षनाथ माविमा कक्षा १० मा अध्ययनरत उनले प्रमाणपत्रसहित ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
२०७२ सालदेखि गजल मञ्चले निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताको लागि गजल मञ्चका पूर्वअध्यक्ष दीपक गौतमले आफ्ना हजुरआमाको स्मृतिमा पुरस्कारको व्यवस्थापन गरेका हुन् । प्रतियोगिताका लागि प्राप्त १८ वटा गजलमध्ये पहिलो चरणमा उत्कृष्ट १० वटा छनोट गरिएको थियो । उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्र प्रदान गरिएको थियाे।
उत्कृष्ट १० वटा गजल शनिबार अन्तिम चरणको प्रतियोगितामा वाचन गरिएकाे थियाे । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको उक्त गजल प्रतियोगिता भएकाे हाे । प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरुमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मञ्चकाे नियमित गजल यात्रा अन्तर्गत मुस्कान तिमल्सिना, गौरी कडेंल, देवराज तिवारी र राम कार्की लगायतले गजल वाचन गरेका थिए। मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षता भएकाे कार्यक्रममा डा. निमेष निखिलको प्रमुख आतिथ्यता तथा तुलसी घिमिरे विशेष अतिथि रहेकाे थिए ।

