मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित ३ महिने अभियान सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्र हेटाैंडाकाे व्यवस्थापनमा मनहरी गाउँपालिकामा अभियान गरिएको छ।
अभियान अन्तरगत पालिकास्तरीय समन्वय तथा अन्तरक्रिया तथा बैठकमा लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ बमोजिम पालिका स्तरीय समन्वय समिति गठन गर्ने निर्णय भएकाे छ ।अन्तरक्रियामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी ले नीति, योजना, तथ्याङ्क संकलन तथा कार्यक्रम कार्यान्वयनलाई एकीकृत ढंगले अगाडि बढाइने स्पष्ट पारे।अभियान अन्तर्गत मनहरी गाउँपालिकाका भोज सिद्ध माविमा सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ। कार्यक्रममा लागुऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास तथा सकारात्मक जीवनदृष्टि सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको हाे । शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताको सहभागितामा रहेकाे थियाे ।
समुदायस्तरमा सन्देश प्रवाहलाई सुदृढ बनाउन गाउँपालिकाका मुख्य चोक, सार्वजनिक स्थल तथा बजार क्षेत्रहरूमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्रका बोर्ड राख्नुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण समेत गरिएको छ। कार्यक्रमहरूले लागुऔषध विरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गर्ने बताइएकाे छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अध्यक्षतामा भएकाे अन्तरक्रिया तथा बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता थियो ।

