मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलबाट विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो सँगै खेलको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । निकै आकर्षक बनेको खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि भोली मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । गजलकार अनिश न्यौपाने ‘भावना’ श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले २ सय ११ औं गजल यात्रामा गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरेको हो ।
साहित्यकाे गजल विधाको उन्नयन, विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो । मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ *मुक्तक संग्रह पनि प्रकाशनमा छ ।
सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।भोला शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट मनिका नेगी भइन् । बुद्ध मावि बकैया–३ हात्तिसुँडेमा कक्षा ९ कि छात्रा नेगीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियाे । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपाने तथा नेगीलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
मकवानपुर । सहीखबर डटकम तथा सहीखबर साप्ताहिक पत्रिकाकाे सम्पादक सरिता दाहाल उत्कृष्ट पत्रकार वर्ष अवार्ड २०८० बाट पुरस्कृत भएकी छिन् ।
२०६१ साल माघबाट मिडिया क्षेत्रमा निरन्तर सकृय दाहाल पछिल्लाे १२ वर्षदेखि सहीखबर मिडिया सञ्चालन गरिरहेकी छिन् । न्यू मिडिया एकेडेमी प्रालि र पावर ईन्टरनेशन मिडिया नेपालको संयुक्त आयोजनामा हेटौंडामा भएकाे पाचौँ राष्ट्रिय जर्नालिज्म अवार्डमा सम्पादक दाहाल उत्कृष्ट पत्रकार वर्ष अवार्डबाट सम्मानित भएकी हुन् । पत्रकार दाहाल मकवानपुरबाट राष्ट्रिय स्तरका अन्य मिडियामा समेत आवद्ध छिन् ।
कार्यक्रममा अन्य विधाहरुमा पनि सम्मान र तथा पुरस्कार प्रदान गरिएकाे थियाे। जसमा अग्रज पत्रकार अवार्डबाट कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईलाई सम्मान गरिएकाे छ । संचार उद्यमीतर्फ उज्ज्वल चौलागाईं, माधव न्यौपाने, ध्रुवराज ढकाललाई सम्मान गरिएकाे छ ।
यसैगरी सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्डबाट कान्तिपुर दैनिकका हाेम कार्की, उत्कृष्ट पत्रकार पुरूष वर्ष अवार्डबाट राताेपाटी अनलाईनका श्यामलाल दुलाल (गणेश) खाेज पत्रकार वर्ष अवार्डबाट अनलाइन खबरका रेवति तिमल्सिना (नविन)
टेलिभिजन पत्रकार वर्ष अवार्डबाट टिम टेलिभिजनका मनिल महतो, अनलाइन पत्रकार वर्ष अवार्डबाट अनिरुद्र खबरका अनिल पराजुली, चलचित्र पत्रकार वर्ष अवार्डबाट राताे समाचारका राजेश थापा, ग्रामीण पत्रकार वर्ष अवार्डबाट नेपाल खबरकी कृष्णा विष्ट (सुनिता), खेलकुद पत्रकार वर्ष अवार्डबाट गाेल नेपालका बिक्रम बानियाँ, उदियमान पत्रकार वर्ष अवार्डबाट रवीन्द्र वाईवालाई पुरस्कृत गरिएकाे हाे ।
संस्थाले २०७५ सालदेखि स्थानीय तथा राष्ट्रीय मिडीयामा सकृय पत्रकारहरुलाई अवार्ड प्रदान गर्दै आएकाे न्यू मिडिया एकेडेमी प्रालि अध्यक्ष मणिराज गाैतमले बताए । श्रमजीवि पत्रकारहरुलाई निरन्तर फिल्डमा खटीएर काम गर्ने उर्जा मिलाेस् भनेर यस्ताे कार्यक्रम गरिएकाे गाैतमले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा सालक दिवस मनाएको छ। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिता आयोजना गरि दिवस मनाएको हाे ।
विश्व सालक दिवसको अवसरमा शनिबार रानी सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षणमा सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो। १२ जनाले सहभागिता जनाएको वक्तृत्वकला प्रतियाेगितामा बेतखाेल्सी सामुदायिक वन उपभोक्ता समुहकी क्रिष्टिना खतिवडा प्रथम भएकी छिन् । उक्त समूहकी समीक्षा आचार्यले द्वितीय स्थान हासिल गर्दा सुन्दर सामुदायिक वनका अतीत अधिकारी तृतीय हुन सफल भए । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमश ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरे ।
२०६२ सालदेखि रानी वनले सालककाे संरक्षण, यसकाे बासस्थान, आहारकाे संरक्षण र कानूनी ब्यवस्थालगायतमा समुदायस्तरमा काम गर्दै आएकाे छ । समूहकाे सेवा क्षेत्रभित्र ५० भन्दा बढी सालक रहेकाे कार्यालय सचिव भीमसेन पाौडेलले बताएका छन्।
समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षता त़़था हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, अशाेक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सनाैलाे महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहकी काेषाध्यक्ष गाेमा लामिछाने लगायतकाे सहभागीता थियाे ।
मच्छिन्द्र सेमिफाइनल प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र युथ क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेकाे हाे ।
छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारकाे तेस्रो क्वार्टरफाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका प्रदिप भण्डारी घोषित भए । मच्छिन्द्रले फाइनल प्रवेशका लागि न्यू रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको विजेता हो भने मच्छिन्द्र दोस्रो संस्करणको उपविजेतासमेत हो । आइतबार प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको मैदानमा भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।