मकवानपुर । मकवानपुरकाे हेटौडामा २ सय ५७ जना विद्यार्थी सम्मानित भएका छन् । एसइई २०८० मा उत्कृष्ट नतिजा ल्याउने उनीहरुलाई शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले सम्मानित गरेकाे हाे ।
एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने जिल्लाका ३७ विद्यालयललाई समेत सम्मानित गरिएको थियो। सम्मानित भएका सबै विद्यार्थीले एसईईमा ३.६ भन्दा माथि जीपीए हासिल गरेका थिए।
कार्यक्रममा ४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र ३.९५ जीपीए नतिजा हासिल गरेका सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ्ग स्कूलका लखिन्द्र मुखिया विनलाई विशेष सम्मान गरिएको छ ।
प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले एसइईमा मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताए। आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न बिद्यार्थीलाई उनले सुझाव दिए।
एसइई २०८० मा मकवानपुर जिल्लाबाट ५ हजा ९ सय २५ विद्यार्थी सहभागी भएका भएकाेमा २ हजार १ सय ६१ विद्यार्थी उत्तीर्ण भएका थिए ।
मकवानपुर । कवि निमेष निखिल ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान’ बाट सम्मानित हुने भएका छन् । नेपाल भाषा खलः मकवानपुरले वर्ष २०८१ का लागि निखिललाई उक्त सम्मानद्वारा सम्मानित गर्ने भएको हो ।
यसअघि उक्त सम्मान दाना कविताका पहिलो सर्जक तुल्सी थापा (हाल स्वर्गीय) लाई प्रदान गरिएको थियो । लोककविको ११३औँ जन्मजयन्ती अवसरमा साउन ५ गते पुरस्कार प्रदान गरिने खल:ले जनाएको छ ।
मकवानपुरे साहित्यकार तथा प्राध्यापक निखिलका ‘मनहरूको परिसर’, ‘उमेरको नदी’ र ‘शोकगीतको पोस्टमार्टम’ गरी कूल ३ कृतिहरू प्रकाशित छन् ।
यसैगरी संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेको छ । लोककवि श्रेष्ठको जन्मजयन्तीको अवसरमा हुने कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
मकवानपुरको भीमफेदीमा वि.सं. १९६८ मा जन्मिएका गणेशलाल श्रेष्ठ कवि, सङ्गीतकार तथा समाजिक अभियान्ता थिए । नेपाली भाषाका साथसाथै नेपाल (नेवारी) र तामाङ भाषामा समेत साहित्य सिर्जना गर्ने सक्ने श्रेष्ठका ‘मेरा दुई पुष्पाञ्जली’, निफ्वः स्वाँ, लोकह्वागु म्ये मुना लगायतका गीति सङ्ग्रह प्रकाशनमा रहेका छन् ।
श्रेष्ठ मकवानपुरे माटोमा पहिलो कविता लेख्ने तथा साहित्यकृती प्रकाशित गर्ने व्यक्ती हुन् ।
मकवानपुर । मकवानपुरमा हेटौंडा कोरा साइकल यात्राकाे सातौं संस्करण आयोजना हुने भएकाे छ । हेटौंडा राइडर्स क्लबले करिब ५० किलोमिटर लामो यात्रा हुने गरी साइकल यात्राकाे सातौं सस्करण आयोजना गर्ने भएकाे हाे ।
आगामी श्रावण ५ गते शनिबार “हेटौंडा कोरा-२०२४” साइकल महोत्सवको सातौं संस्करण आयोजना गर्न लागिएकाे हेटौडा राइडर्स क्लबले बुधबार पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । हेटौंडा कोरा साइकल महोत्सवको सातौं संस्करणमा हेटौडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका समेटेर ५० किमि साइकल यात्रा गर्न लागेकाे क्लब अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।
सहभागीहरूले हेटौंडाका प्रमुख धार्मिक स्थलहरू र शहरी क्षेत्रहरूको परिक्रमा गर्नेछन्। यात्रा भुटनदेवी मन्दिरबाट सुरु भई हेटौडाकाे सानाेपाेखरा बनष्खण्डी, जलेश्वर महादेव मन्दिर चौकीटोल सामरी शिखरकटेरी सालक पार्क राजदेवी हर्नामाडी हटिया चौघडा पिल्ले ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलकाे यात्रा गरी बुद्धचोकमा आइ समाप्त हुने अध्यक्ष ताम्राकारले बताए ।
साइकल यात्रा यात्रा मात्र नभइ सामूहिक अभियान भएकाेले स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश बोकेको उनले जानकारी दिए । कार्यक्रममा १२ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने बताइएकाे छ। सहभागिताको लागि भने २ सय रुपयाँ शुल्क लाग्नेछ भनेसहभागीलाई निःशुल्क जर्सी र समापनमा प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताए ।
‘२ सय ५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिताको अपेक्षा गरेका छाैं अध्यक्ष ताम्राकारले भने ‘हेटौंडालाई साइकलमैत्री शहरको रूपमा विकास गर्ने उदेश्य रहेकाे छ ।’ साइकल यात्राले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै शहरी यातायात समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्ने उनले बताए ।
यात्राको दौरान सहभागीहरूको सुरक्षा र सहजताको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी, मेडिकल टिम र साइकल मर्मत टोलीको व्यवस्था गरिएको बताइएकाे छ। हेटौंडालाई साइकलमैत्री शहर बनाउने अभियानमा सहयोग गर्न समेत आयोजकले आह्वान गरेकाे छ।
मकवानपुर । नागरीकहरुको स्वास्थ्य सुविधा पाउने मौलिकहकलाई कुण्ठित नपार्न नेकपा एमाले एमाले मकवानपुरले माग गरेको छ ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्याबलगायतका क्षेत्रमा सेवा प्रभावित हुने गरी कर्मचारी कटौंती गरिएको प्रति एमालेले ध्यानाकर्षण जनाएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुलाई कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य सचिवले सेवाबाट हटाएपछि एमालेले विज्ञप्तिमार्फत ध्यानाकषर्ण गराएको हो । हेटौडा अस्पतालमा सेवारत १४५ जना कर्मचारीहरुको अवकाश गरिएको छ । यो कार्यले हेटौंडा अस्पतालबाट आमनागरीकले पाउने स्वास्थ्य सुविधाबाट वञ्चीत भएको भन्दै एमालेले ध्यानाकषर्ण गराएको हो ।
प्रतिष्ठानलाई तहस नहस पार्ने मनसायले कर्मचारी हटाइएको र आवसर्वसाधारणलाई स्वास्थ्योपचारको हकबाट बञ्चित गराइएको कार्य तत्काल रोकी हेटौंडा अस्पतालको सेवा सुविधा सुचारु गर्न नेकपा एमाले मकवानपुरले माग गरेको छ ।
हाल बर्षाको समयमा आपतकालिन उद्वार र राहत पु¥याउन बढी भन्दा बढी प्राविधिक तथा अन्य जनशक्तिको आवश्यकता पर्ने हुँदा यस्तो समयमा राजनैतिक पूर्वाग्रहपूर्ण ढंगबाट प्राविधिक जनशक्ति सहित ठुलो संख्यामा रोजगारीबाट निकाल्ने र अस्पतालबाट दिईदै आएको सेवालाई प्रभावित पार्ने पार्टी अध्यक्ष श्रीधर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
“हचुवाको भरमा कुनै वैकल्पिक व्यवस्था नगरी भएको यस्तो अमानविय व्यवहारप्रति नेकपा एमालेको गंभिर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।
एमालेले तत्काल उक्त निर्णय सच्याई हाल निष्काशन गरिएका कर्मचारीहरुको वहाली गरी हेटौंडा अस्पतालको बिरामीको चापलाई ध्यानमा राखेर सेवा सुविधालाई निरन्तरता दिन माग गरेको छ ।
मकवानपुर । मकवानपुरको बकैयामा भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ ।
शनिबार बकैया गाउँपालिका वडा नम्बर ५ ले राजदमार स्वास्थ्य सेवा केन्द्रमा गरेको आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको हो । बकैया ४ का ३ जना, बकैया ७ का ४ जना र बकैया ५ का ७२ जनाको आँखा परीक्षण गरिएको वडा सचिव देवराज लामिछानेले जानकारी दिए ।सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए ।
शिविरमा आँखा परीक्षण गरिएको मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको लामिछानेले बताए ।उनीहरूको आँखाको अप्रेसन एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा हुने बताइएको छ ।