मकवानपुर । मकवानपुरमा हेटौंडा कोरा साइकल यात्राकाे सातौं संस्करण आयोजना हुने भएकाे छ । हेटौंडा राइडर्स क्लबले करिब ५० किलोमिटर लामो यात्रा हुने गरी साइकल यात्राकाे सातौं सस्करण आयोजना गर्ने भएकाे हाे ।
आगामी श्रावण ५ गते शनिबार “हेटौंडा कोरा-२०२४” साइकल महोत्सवको सातौं संस्करण आयोजना गर्न लागिएकाे हेटौडा राइडर्स क्लबले बुधबार पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । हेटौंडा कोरा साइकल महोत्सवको सातौं संस्करणमा हेटौडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका समेटेर ५० किमि साइकल यात्रा गर्न लागेकाे क्लब अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।
सहभागीहरूले हेटौंडाका प्रमुख धार्मिक स्थलहरू र शहरी क्षेत्रहरूको परिक्रमा गर्नेछन्। यात्रा भुटनदेवी मन्दिरबाट सुरु भई हेटौडाकाे सानाेपाेखरा बनष्खण्डी, जलेश्वर महादेव मन्दिर चौकीटोल सामरी शिखरकटेरी सालक पार्क राजदेवी हर्नामाडी हटिया चौघडा पिल्ले ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलकाे यात्रा गरी बुद्धचोकमा आइ समाप्त हुने अध्यक्ष ताम्राकारले बताए ।
साइकल यात्रा यात्रा मात्र नभइ सामूहिक अभियान भएकाेले स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश बोकेको उनले जानकारी दिए । कार्यक्रममा १२ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने बताइएकाे छ। सहभागिताको लागि भने २ सय रुपयाँ शुल्क लाग्नेछ भनेसहभागीलाई निःशुल्क जर्सी र समापनमा प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताए ।
‘२ सय ५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिताको अपेक्षा गरेका छाैं अध्यक्ष ताम्राकारले भने ‘हेटौंडालाई साइकलमैत्री शहरको रूपमा विकास गर्ने उदेश्य रहेकाे छ ।’ साइकल यात्राले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै शहरी यातायात समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्ने उनले बताए ।
यात्राको दौरान सहभागीहरूको सुरक्षा र सहजताको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी, मेडिकल टिम र साइकल मर्मत टोलीको व्यवस्था गरिएको बताइएकाे छ। हेटौंडालाई साइकलमैत्री शहर बनाउने अभियानमा सहयोग गर्न समेत आयोजकले आह्वान गरेकाे छ।

