मकवानपुर । मकवानपुरकाे हेटौंडामा तेस्रो साइकल जात्रा भएकाे छ । जेसीआई हेटौंडाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहकार्यमा शनिबार साइकल जात्रा आयोजना गरिएको हाे ।
“स्वास्थ्यका लागि साइकल” भन्ने नाराका साथ साइकल जात्राको आयोजना गरिएको आयोजकले जनाएकाे छ । जात्रामा मकवानपुर र बाराका गरी २ सय ५० जना सहभागी भएको मकवानपुर जिल्ला साइक्लिङ संघले जानकारी दिएकाे छ । हेटौंडा–४, हुप्रचौरबाट सुरु भएको साइकल जात्राले ३७ दशमलव ५ किलोमिटरको यात्रा पूरा गरेको संघ अध्यक्ष संगीत श्रेष्ठले बताए । हुप्रचौरबाट कपुर कम्पलेक्स हुँदै, बुद्धचोक, चौकीटोल, जलेश्वर मन्दिर, वनस्खण्डी, सानोपोखरा, चुच्चेखोला, चिसापानी हटिया, कमाने, एचआइडी, वनस्पती, पदमपोखरी, कुसमाण्ड सरोवर, सिमेन्टरोड हुँदै हेटौँडा–९ स्थित जेसीआई हेटौंडा सचिवालय आएर जात्रा समापन गरिएको थियो ।
जात्रामा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । सन् २०१७ बाट सुरु भएको साइकल जात्रा २०१८ मा पनि भएको थियो । बीचमा निरन्तरता पाउन नसकेको सो कार्यक्रम २०२४ मा तेस्राे संकरण गरी निरन्तरता दिइएकाे आयोजकले जनाएकाे छ । जात्राकाे दुई संस्करण सम्पन्नपछि कोरोना महामारीका कारण साइकल जात्रा निरन्तर पाउन नसकेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारबाट सुरु जिल्ला लिग फुटबल प्रतियोगितामा डाँफे क्लबले विजयी सुरुवात गरेकाे छ । शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता डाँफेले महावीर क्लव हेटौंडालाई ७–० को गोलले पराजित गरेकाे हाे ।
डाँफेकाे जीतमा सुशान्त तामाङले दुई तथा अभिषेक बल तामाङ, निश्चल थापा, रितेश श्रेष्ठ, बोधकुमार वाइबा र राजिव डिमडुङले समान एक/एक गोल गरे । खेलको म्यान अफ द म्याच डाँफेका सुशान्त लामा घोषित भए । १५ भदौमा ४ खेल हुने छन् । सक्षम युवा क्लव र हेटौंडा भेट्रान्स, आरआर एफसी र एफसी इन्टरनेट, परेली युवा क्लव र विजय यूथ तथा गोर्खा ब्वाइज क्लव र एफसी ईन्टरनेट सिटीको बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
लिगको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालमा बढ्दो बिरामीको चापलाई ध्यानमा राखि अस्पतालले हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउन विस्तारित सेवा सुरु गरिने शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।
१६ भदौ आइतबारबाट अस्पतालले २ घण्टा अतिरिक्त सेवा प्रदान गर्ने भएकाे हाे । ‘अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले चौबिसै घण्टा टिकट काट्न सकिने छ’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले भने ‘यो सेवामा स्वास्थ्य बिमा भने लागू हुने छैन् ।
अस्पतालले शनिबारबाहेक हरेक दिन साँझ ४ देखि ६ बजेसम्म जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले बताए ।
विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको छ । ल्याब परीक्षण, औषधि शुल्क भने साविक बमाेजिम नै प्रदान गरिने अस्पतालले जनाएकाे छ । बिस्तारित बहिरंग सेवामा बिरामीले डाक्टर रोजेर जँचाउन सक्नेछन् । जसको लागि अस्पताल प्रशासनले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुको सूची दिनेछ ।
अस्पताल प्रशासनका अनुसार हाल दैनिक एक हजारले अस्पतालको ओपिडीबाट सेवा लिइरहेका छन् ।
मकवानपुर । अपाङ सरोकार केन्द्र मकवानपुर अध्यक्षमा गणेशचन्द्र दवाडी चयन भएका छन् । केन्द्रकाे हेटौंडामा भएको १५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले दवाडीलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसैगरी केन्द्रको उपाध्यक्षमा पार्वती पौडेल, सचिव सरिता थापा मगर, कोषाध्यक्ष शुसिला न्यौपाने चयन भएका छन् । यस्तै सदस्यहरुमा शान्तिमाया मोक्तान, मनलाल गोपाली, विज्ञान स्याङ्तान, पातलीमाया रुम्बा र दुर्गाकुमारी बानियाँ चयन भएको निर्वाचन समिति संयोजक बद्रीविक्रम थापाले जानकारी दिए ।
अपाङ सरोकार केन्द्रले अपाङता भएका व्यक्तिहरुको हितका लागि विभिन्न कानूनी तथा व्यवहारीक पाटोमा सहजिकरण गर्दै आएको छ ।
मकवानपुर । बागमती प्रदेश आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले प्रभावकारी र दीगोपनाको कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले हेटौंडामा आयोजना गरेको स्वास्थ पुनर्स्थापना सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले सरकारले अपाङ्ग भएकाहरूको सम्बोधन गर्नेगरी बजेट ल्याउनु पर्ने माग गरे । अपाङ्गता भएकाहरूको लागि कार्यान्वयनमा रहेको बिमा कार्यक्रम कटौती गरिएको प्रति लम्सालले गुनासो गरे ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परियोजना संयोजक सन्दीप विश्वकर्माले सर्भेक्षेण रिपोर्ट सार्वजनिक गरेका थिए । बागमती प्रदेशमा १ हजार ६१५ जनामा गरिएको सर्भेक्षणमा अनुसार ३ दशमलव ६ जनाले सामग्री बिना जीवन चलाउन समस्या भएको उनले बताएका थिए । यहाँ २१ प्रतिशतले मात्रै सरकारले प्रदान गर्ने सहायक सामग्री पाएको विश्वकर्माले बताएका थिए ।
चस्मा, सेतो छडी, कुर्सी जस्तो सामग्रीमा पनि सहायता कमैमात्र उपलब्ध भएको पाइएको विश्वकर्माले बताए । सर्भेक्षणका क्रममा ५६ प्रतिशतले आफै र ३९ प्रतिशतले साथीभाइको सहयोगमा सहायता सामग्री खरिद गर्ने गरेको बताएका थिए ।
‘स्थानीय प्रदेश र संघीय सरकारले सहायक सामग्री दिने नीति लिएको छ तर त्यो व्यवहारमा देखिएन’ उनले भने ‘सरकारले प्रदान गर्ने सामग्री पनि नापजांच गरेर आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रदान नगरिएको सर्भेक्षणमा पाइयो ।’
अपाङ्गता भएकाहरूले प्रयोग गर्ने सहायता सामग्री बिमा कार्यक्रम भित्रै समावेश गर्नुपर्ने उनले बताए ।
स्वास्थ मन्त्रालयले अपाङ्गता भएकाहरूलाई प्रदान गर्दै आइएको कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेश स्वास्थ मन्त्रालयका वरिष्ठ स्वास्थ प्रशासक डा.खगेश्वर गेलालले बताए ।
स्वास्थ बिमा मकवानपुरको नरबहादुर खड्काका अनुसार सरकारले ‘ख’ बर्गको लागि बिमा व्यवस्था गरेको छैन । क बर्गको लागि भने वडाको दर्ता सहयोगीमार्फत पुर्ण छुटमा बिमा गर्न सकिन्छ ।
युएसएआईडी र ह्याण्डि क्यापको आर्थिक सहयोग, बागमती प्रदेश स्वास्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा स्वास्थ मन्त्रालय,स्वस्थ्य निर्देशनालय, स्वास्थ कार्यालय, अपाङ्ग सरोकार केन्द्रलगायतको प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।