मकवानपुर । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौडाले ६३ औं वार्षिकोत्सव मनाएको छ । सञ्चय कोष हेटौंडा शाखाले एक कार्यक्रमको आयोजना गरी सोमबार वार्षिकोत्सव मनाएको हो ।
‘सुरक्षित भविष्यका लागि निवृत्तिभरण तथा सञ्चय कोष’ भन्ने नाराका साथ कोष शाखा हेटौंडाले मनाएकाे वार्षिकोत्सवमा प्रभातफेरी समेत गरिएकाे छ । हेटौंडा ४ स्थित कार्यालय परिसरबाट सुरु भएकाे प्रभातफेरी हुप्राचौर, पारिजातपथ, स्कुलरोड हुँदै कोषको कार्यालयमा गएर समापन गरिएको थियो । कार्यालय प्रमुखलगायतका कर्मचारीहरु नेपाल प्रहरी सहितले प्रभातफेरीमा सहभागिता जनाएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न कोषले अधिकतम लगानी गर्ने सञ्चय गर्ने सञ्चयकर्तालाई अवकाश पछि पाउने रकमको सुनिश्चितता गरिनु पर्ने बताए । प्रदेश प्रमुख सचिव कृष्ण कुमार कार्कीले कर्मचारी सञ्चय कोषले आफ्नो सेवा प्रभावलाई स्तरीय बनाउन यसका लगानीका दायराहरु विस्तार गर्दै जानुपर्ने बताए ।
उनले सञ्चयकर्ताको रकमलाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताए । ‘प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तिभरण कोषमा समेट्नका लागि कानूनी स्पष्टता आवश्यक रहेको छ’ उनले भने । आर्थिक मामिला मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले कोषले निवृत्तभरण कोष व्यवस्थापनलाई अझै प्रभावकारी बनाउँदै एकरुपता हुने गरी तीनै तहको सरकारमा लाग्नुपर्ने बताए ।
कोष हेटौंडा शाखा प्रमुख डाक्टर दिलिपराज पौडेलले संचय काेष वि.सं १९९१ सालमा सैनिक द्रव्यकोषको नामबाट स्थापित अर्थ मन्त्रालयको सञ्चय कोष महाशाखा हुँदै २०१९ सालमा कर्मचारी सञ्चय कोष ऐनद्वारा छुट्टै एक स्वशासित संगठित संस्थाको रुपमा रुपान्तरित हुँदै आएको जानकारी दिए ।
नेपाल सरकार, संगठित संस्थाका कर्मचारीहरू, अन्य कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरूको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष, स्वास्थ्य वीमा कोषलगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने कोषको उदेश्य रहेको पौडेलले बताए । कोषले निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, विशेष सेवातर्फका राष्ट्रसेवक कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा नीजि प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी नियमित सञ्चयकर्ताको करिव ५ खर्व १८ अर्व ४८ करोड रुपैंया बराबरको कोष रकम व्यवस्थापन गर्ने जिम्मेवारी निर्वाह गरिरहेको उनले जानकारी दिए ।
निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम २०७६ श्रावण १ गते पश्चात नियुक्त संघीय निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र विशेष सेवाका राष्ट्रसेवक कर्मचारीहरुको योगदानमा आधारित निवृत्तभरण कोषको सञ्चालनको लागि नेपाल सरकारले कर्मचारी सञ्चय कोपलाई दिएको जिम्मेवारी समेत बहन गर्दै आएको शाखा प्रमुख पौडेलले बताए । योगदानमा आधारित निवृत्तभरण कोषमा २०७६ साउनदेखि ८० हजार ४ सय योगदानकर्ता कर्मचारीको करिव ११ अर्व २१ करोड निवृत्तभरण कोषको व्यवस्थापन गरिरहेको समेत उनले बताए ।
शाखा प्रमुख पौडेलका अनुसार सञ्चय कोष र निवृत्तभरण कोषको समेत गरी कुल स्रोत तर्फ हालसम्म करिव ५ खर्व ७१ अर्ब ३३ करोड रहेको छ । सञ्चयकर्ताहरुको जम्मा रकमको ९० प्रतिशत सम्मको विशेष सापटी अनलाइन मार्फत आवेदन गरी सञ्चयकर्ताको बैक खातामै सापटी जम्मा हुने व्यवस्था मिलाएको उनले बताए । अन्य सुविधा अर्न्तगत घर निर्माण, घर खरिद, घर मर्मत, शैक्षिक सापटी, जग्गा खरिद र सरल सापटी जस्ता धितोमूलक सापटीहरूको व्यवस्था गरेको छ । साथै कोषले आफ्नो सञ्चयकर्ताहरुका लागी विभिन्न सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको उनको भनाई रहेको थियो ।
कोषले बचतकर्ताको आर्थिक विकासमा सहयोग पुर्याउन विभिन्न जलविद्युत कम्पनीको शेयर सुरक्षण गरेको छ । आ.व. २०७२।०७३ देखि २०७७/०७८ सम्मको मुनाफा रकम मध्येबाट सञ्चयकर्ताको बचत रकमको आधारमा प्रदान हुने मुनाफा रकमलाई कोषको अग्रसरतामा स्थापित बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा रुपान्तरण हुने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए ।
शाखा प्रमुख पौडेलले अनुसार कोषले आफ्ना सञ्चयकर्ताहरूलाई उपलब्ध गराउने सेवा सुविधाहरू स्थानीय स्तरमा नै उपलब्ध गराउँदै जाने नीति अनुरूप २०६२ सालमा हेटौंडामा शाखा कार्यालयको स्थापना भइ सेवा दिदै आएको जानकारी दिए । बागमती प्रदेशका १३ जिल्ला मध्ये मकवानपुर र चितवन गरी २ जिल्ला र मधेश प्रदेशका ८ वटा जिल्ला मध्ये वारा र पर्सा गरी २ जिल्ला समेत गरी यस कार्यालयको कार्य क्षेत्रमा ४ वटा जिल्ला रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित कोषको कार्यालय निर्माणधिन अवस्थामा रहेको समेत उनले बताए ।
हेटौंडा शाखाबाट विशेष सापटी, कोषकट्टी रकम भुक्तानी, सामाजिक सुरक्षा सुविधाहरू तर्फ दुर्घटना क्षतिपूर्ति योजना, सञ्चयकर्ता औषधोपचार कार्यक्रम, काजक्रिया अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गतका सुविधाहरू ७७ जिल्लाकै सञ्चयकर्ताले सेवा प्राप्त गर्न सक्ने छन् भने धितो मूलक सापटीहरू घर निर्माण, घर खरिद, जग्गा खरिद, घर मर्मत, शैक्षिक सापटी, सरल सापटी बारा, पर्सा, मकवानपुर र चितवन गरी ४ जिल्लाहरूमा मात्रै उपलब्ध गराइदै आएको छ ।
कोषका उपत्यकास्थित पुल्चोक, ठमेल, लगनखेल र सिंहदरबारमा तथा उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र धनकुटामा कार्यालय रहेका छन् । कोष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रमुख सचिव कृष्ण कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश मन्त्रालयका प्रदेश सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, मानव अधिकार आयोग मकवानपुरका प्रमुख तथा प्रतिनिधिहरू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी वलका प्रहरी नायव महानीरिक्षक, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव महानीरिक्षक, कर्मचारी मिलन केन्द्र, मकवानपुरका अध्यक्षलगायतकाको आथित्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ को ए र २ नम्बर वडाकाे टिम विजयी भएको छ । सोमबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई ४ विकेटले हराउँदै ८ ‘ए’ टिम विजयी भएको हो । यसैगरी वडा नम्बर २ ले वडा नम्बर ९ बीलाई पराजित गरेकाे हाे ।
टस हारेर पहिला व्याटिङमा उत्रिएकाे १८ नम्बर वडा ८१ रनमा अलआउट भएको थियाे । वडा नम्बर ८ को ‘ए’ ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्यलाई भेटायो । यस्तै १८ नम्बरका लागि निश्चल खतिवडाले सर्वाधिक ४२ रन बनाएका थिए । पहिलो खेलकाे म्यान अफ द म्याच ८ ए का जर्सी नम्बर १४ सुरज भट्टराई भए ।
प्रतियोगिता अन्तर्गत साेमबारकाे दोस्राे खेलमा वडा नम्बर २ र ९ को ‘बी’ बीच प्रतिस्पर्धा भएकाे थियाे । पहिले ब्याटिङ रोजेकाे ९ बीले निर्धारित २० ओभरकाे खेलमा ६ विकेटकाे क्षतिमा १११ रन बनायाे । ११२ रनकाे लक्ष्य पाएकाे २ नम्बर वडाले १२ औभरकाे खेलमा लक्ष्य भेट्टाएकाे हाे । खेलकाे म्यान अफ द म्याच २ नम्बर वडाका जर्सी नम्बर ५१ का शुभ कंसाकार भए । उनले खेलमा ४६ रन जाेडेका थिए । अहिले सोमबारकाे तेस्राे खेल वडा नम्बर १६ र वडा नम्बर ८ बीच भइरहेकाे छ ।
नेपाल खेलकुद महासंघ हेटौँडा–८ नम्बर वडा कमिटीको आयोजनामा जारी प्रतियोगिता ५ असोजसम्म सञ्चालन हुने छ । प्रतियाेगितामा प्रथम हुने टिमले ५० हजार रुपैंया प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले २५ हजार रुपैंया प्राप्त गर्ने छन् । ‘खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने अभिप्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए । प्रतियोगितामा १९ वटा वडास्तरीय टाेलीकाे सहभागिता रहेकाे छ ।
मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ५१ हजार रहेको छ । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिने भएको छ ।
सम्मान तथा पुरस्कार ५ असोज शनिबार हेटौंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। भाषा, साहित्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व मार्फत यथासम्भव योगदान पुऱ्याउने उद्देश्यले बैंकले उक्त पुरस्कार स्थापना गरेकाे हाे ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल लगायतकाकाे उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा सुरु वडास्तरीय टी २० क्रिकेट प्रतियाेगितामा आयोजक नेपाल खेलकुद महासघ वडा नम्बर ८ ले विजयी सुरुवात गरेकाे छ ।
शनिबार उद्घान गरिएकाे प्रतियोगिताकाे आइतबारबाट सुरु खेलमा आयोजक महासघ ८ नम्बरले र ५ नम्बर वडा ए टिमलाई ३ रनले जितेकाे हाे ।आयोजक टिमले टस जितेर बलिङ राेजेकाे थियाे । निर्धारित ओभरमा वडा नम्बर ५ ए ले ९५ रनकाे लक्ष्य दिएकाे थियाे । आयोजकले निर्धारित ओभरमा ९८ रन बनायाे । खेलकाे म्यान अफ दि म्याज ५ ए एकाे सुवर्ण भट्ट घाेषित भए ।
यसैगरी आइतबार भएकाे वडा नम्बर ३ र ९ नम्बर ए बिच भएको खेलमा वड नम्बर ९ ए बिजय भएको छ । खेलमा ९ ए ले टस जितेर ब्याटिङ राेजेकाे थियाे । खेलकाे निर्धारित औभरमा ३ नम्बरले ९१ रन बनायाे । ९ ए ले निर्धारित समयमै २४१ रन बनाउँदै फराकिलाे जीत निकालेकाे हाे । खेलकाे म्यान अफ द म्याच ९ एका रबिन गुरुङ घोषित भए ।
यस्तै तालिका अनुसारकाे तेस्राे खेल वडा नम्बर ४ र वडा नम्बर १ बीच रहेकाेमा बर्षाको कारण स्थगित भएको क्रीकेट प्रतियोगिता व्यवस्थापन समिति सदस्य गोकर्ण तिवारीले जानकारी दिए । ४ र बिच भएको खेलमा वडा न ४ ले १७५ रनको लक्ष्य दिएको थियाे । दोश्रो पालीकाे २.४ ओभर खेल्दै गर्दा पानीको कारण खेल स्थगित भएकाे थियाे । उनका अनुसार आज रोकिएकाे खेल १ असोज विहान हुने छ ।
५ असोजसम्म सञ्चालन हुने प्रतियाेगितामा प्रथम हुने टिमले ५० हजार रुपैंया पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले २५ हजार रुपैंया, शिल्ड र प्रमाण र पत्र वितरण प्राप्त गर्ने छन् । ‘खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने अभिप्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए । प्रतियोगितामा १९ वटा वडास्तरीय टाेलीकाे सहभागिता रहेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार बिहान प्रतियाेगिता अन्तरगत क्वाटरफाइनलकाे अन्तिम खेलमा हरिवन भेट्रान्स सर्लाही विजय भएसँगै सेमिफाइन समिकरण पुरा भएको हो ।
बगरभाइ खलक भेट्रान्स पोखरालाई सडन डेथमा हराउँदै हरिवन सेमिफाइन प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोेलको बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा धकेलिएकाे हाे । टाइब्रेकरमा ४–४ गोल भएपछि सडनडेथबाट निर्णय लिदाँ ६–५ ले हरिवन सेमिफाइन प्रवेश गरेकाे हाे । यसैगरी शनिबार भएकाे क्वाटरफाइनलबाट नवजनजागृति सेमिफाइनल प्रवेश गरेकाे हाे ।
नवजनजागृति भेट्रान्स र निजगढ भेट्रान्सबीच भएको खेल निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलकाे निर्णय टाइब्रेकरमा लिइएकाे थियाे । नवजनजागृतिले ४-३ गोलले निजगढलाई पराजित गरि सेमिफाइनल यात्रा तय गरेकाे हो ।
सेमिफाइनलमा आइतबार दिउँसो पुर्वेली भेट्रान्स क्लब, झापा र नवजनजागृति भेट्रान्स, सिमरा भिड्ने छन् । यसैगरी सोमबार बिहान प्रतियाेगिताकाे दोस्रो सेमिफाइनलमा फ्रिडम फाइटर भेट्रान्स, काठमाडौं र हरिवन भेट्रान्सले भेट पक्का गरेका छन् । प्रतियोगिताको फाइनल खेल ३१ गते हुने भनिएपनि वर्षाको कारण खेल तालिकामा परिवर्तन भएकाे आयोजकले जनाएकाे छ । प्रतियाेगिताकाे फाइनल १ असोजमा हुनेछ ।
प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।