मकवानपुर । नेपाल पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारी महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएका हुन् । झाले ले ५० मत र भण्डारीले १ सय ७४ मत ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
मनिकाले अध्यक्षका प्रतिस्पर्धीहरु पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् ।
यस्तै कास्कीकी भण्डारी महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् ।
मकवानपुर । पटक पटक सूचना टाँस गरेर स्थगित हुँदै आएकाे बागमती प्रदेश सभकाे बैठक ७४ दिन पछी चैत २४ गते मंगलबार बसेकाे थियाे । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले चैत २४ गतेकाे प्रदेशसभा बैठक अवरुद्ध गरेकाे थियाे । आज बुधबारकाे लागि बैठक बस्ने गरी स्थगित भएकाे बागमती प्रदेशको बैठक नेकपा माओवादी केन्द्रले पुनः अवरुद्ध गरेको छ ।
आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित नभए पछी समर्थकको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।
अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरेका थिए । मागसँगै माओवादीले बैठक नै अवरुद्ध गरेकाे छ । माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।
बैठकमा आर्थिक कार्यविधिको स्वीकृत नै नगरी मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउण्डेसनलाई रु ५० लाख अनुदान दिएकोबारे जम्मकट्टेलले आपत्ति प्रकट गर्दै आर्थिक कार्यविधि तयार गरेर अन्य संघ–संस्थाहरुलाई पनि उचित सहयोग गराउन माग गरे ।
आजकाे बैठकमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिँदै प्रतिपक्षहरूलाई कुनै दलगत स्वार्थ नराखी सरकारले स्वीकृत गरेको नीति कार्यक्रम अनुसार, क्रमशः बजेट, योजनालाई समानताका साथ वितरण गरिएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले आर्थिक मापदण्ड अनुसार, सरकारले अन्य संघसंस्थाहरूलाई जस्तै मदन भण्डारी फाउण्डेसनलाई पनि नियमानुसार रकम दिएको दावी गरे ।
मकवानपुर । पछिल्लो २४ घण्टामा ७४ जना काेराेना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएक्ाे छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा पीसीआरबाट २ सय ९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । हाल देशभर २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना रहेका छन् ।
मकवानपुर । गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक गरिएकाे हाे ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर सुन्न सकिन्छ छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छुँ’ उनले भनिन् । गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए ।
उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँग काम गर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमा जोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन ।

भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो । शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षा लिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् । ‘उहाँले गायन र अभिनय मार्फत आफ्नो कामलाई न्याय गर्नु भएको छ । आउँदा दिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् ।
भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले पाेखरामा क्यूआर कोड सेवा सुरू गरेकाे छ । पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको बैंकले जानकारी दिएकाे छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी सेवाको शुभारम्भ गरेका हुन् ।
यो ब्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।
सेवा शुभारम्भकाे अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो ।