मकवानपुर । पटक पटक सूचना टाँस गरेर स्थगित हुँदै आएकाे बागमती प्रदेश सभकाे बैठक ७४ दिन पछी चैत २४ गते मंगलबार बसेकाे थियाे । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले चैत २४ गतेकाे प्रदेशसभा बैठक अवरुद्ध गरेकाे थियाे । आज बुधबारकाे लागि बैठक बस्ने गरी स्थगित भएकाे बागमती प्रदेशको बैठक नेकपा माओवादी केन्द्रले पुनः अवरुद्ध गरेको छ ।
आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित नभए पछी समर्थकको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।
अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरेका थिए । मागसँगै माओवादीले बैठक नै अवरुद्ध गरेकाे छ । माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।
बैठकमा आर्थिक कार्यविधिको स्वीकृत नै नगरी मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउण्डेसनलाई रु ५० लाख अनुदान दिएकोबारे जम्मकट्टेलले आपत्ति प्रकट गर्दै आर्थिक कार्यविधि तयार गरेर अन्य संघ–संस्थाहरुलाई पनि उचित सहयोग गराउन माग गरे ।
आजकाे बैठकमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिँदै प्रतिपक्षहरूलाई कुनै दलगत स्वार्थ नराखी सरकारले स्वीकृत गरेको नीति कार्यक्रम अनुसार, क्रमशः बजेट, योजनालाई समानताका साथ वितरण गरिएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले आर्थिक मापदण्ड अनुसार, सरकारले अन्य संघसंस्थाहरूलाई जस्तै मदन भण्डारी फाउण्डेसनलाई पनि नियमानुसार रकम दिएको दावी गरे ।

