मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
काेराेना पुष्टि भएका मध्य १ हजार ५१ जना काठमाडौँ उपत्यकाका रहेका छन्। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४४ परीक्षणको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेकाे छ ।
मकवानपुरमा बुधबार २५ जनामा कोरोना संक्रमण
मकवानपुर जिल्लामा बुधबार थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा एक जना ५ वर्षिय वालक समेत रहेका छन् ।
कोरोना संक्रमित मध्य २४ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका र एक जना कैलाश गाउँपालिकाको रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताए ।
हाल मकवानपुरमा ७७ जना सक्रिय संक्रमित रहेका छन । मकवानपुरमा हालसम्म ३ हजार ९ सय १२ जना संक्रमित भएका छन् । बुधबार विहान हेटाैडामा १ जना पुरूषकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । मकवानपुरमा संक्रमित मध्ये ३३ जनाको ज्यान गएको छ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमटेड र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता भएकाे छ । मेगा बैंकले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुकाे ब्यवसाय प्रबर्धन गर्ने उद्धेश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको हाे ।
मेगा बैंकले संघ आबद्ध उद्यमीहरुलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ बैंकले जनाएकाे छ । जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास रहेको छ ।
सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् । मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल वजारका उद्यमीहरुलाई बैंकको नजिकैको शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।
मकवानपुर । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रही रहेकाेले आज बुधबार देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग अन्तरगतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश स्थानमा आज तुवाँलो लाग्ने सम्भावना समेत रहेको छ । पश्चिमी वायुसँगै धुलोका कणहरु आएकाले आज तुँवालो लाग्ने सम्भावना रहेको बताइएको छ । पानी परेपछि भने तुवाँलो घट्ने मौसमविद्को भनाइ छ ।
देशकाे सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले छ । ती प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाकाे अनुसार मध्यान्हपछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ ।
मकवानपुर । बागमती प्रदेशसभाको चालु सातौँ अधिवेशन मंगलबार राती १२ बजेबाट अन्त्य भएकाे छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख प्रसाइले मंगलबार सूचना जारी गर्दै अाज रातको १२ बजे देखि प्रदेशसभाको चालु सातौँ अधिवेसन बैठक अन्त्य गरेका हुन् । ७४ दिन पछी बसेकाे प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार संसद् अवरुद्ध गर्दै आएको थियो ।
माओवादी केन्द्रले सरकारले बिना मापदण्ड विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको, पर्याप्त छलफल बिना नै निजी कम्पनीको समायावधी बाँकी रहँदै सुरुङ्ग मार्ग निर्माणको काम अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख सहयोग गरिएकोलगायतका विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लगातार अवरोध गरेपछि सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले संसद चलाउन सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले बहिष्कार गरेका थिए ।
बागमती प्रदेश सभामा मंगलबारसम्म चालु हिउँदे अधिवेशनमा पास हुनुपर्ने दूई वटा विधेयक पेश नभई रोकिएको छ । कार्यसुचिमा रहेका भौतिक पुर्वाधार मन्त्रालयले पेश गरेको सडक सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालयले पेश गरेको पर्यटन सम्बन्धी विधेयक छलफल विना नै राेकिएकाे हाे । त्यस्तै महालेखा परीक्षणको प्रतिवेदन, लोक सेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन ।

मकवानपुर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६७ जना तथा ६ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएकाे छ ।
योसँगै नेपालमा २ लाख ८७ हजार ५ सय ६७ जनामा संक्रमित पुगेका छन् । गत २४ घण्टाकाे अवधिमा २ सय ५१ जना निको भएका छन् । याेसँगै नेपालमा काेराेना निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८ सय ६ जना रहेको छ ।
यही अवधिमा काेराेनाकाे कारण थप ११ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे कारण मृत्यु हुनेको कूल संख्या ३ हजार १ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६ सय ५९ जना आइसोलेसनमा रहेका छन् ।
मकवानपुरमा १३ जनामा काेराेना संक्रमण
हेटौंडामा गरिएकाे काेराेना परीक्षणमा १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २४ जनाकाे पीसीआर परीक्षण गर्दा ८ जना र १९ जनाकाे एन्टीजेन परीक्षण गर्दा ४ जनामा काेराेना पुष्टि भएकाे हाे ।
पीसीआर परीक्षणबाट ५ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा ७ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना बागमती गाउँपालिका रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ८ सय ६७ रहेको छ । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको छ ।