मकवानपुर । बागमती प्रदेशसभाको चालु सातौँ अधिवेशन मंगलबार राती १२ बजेबाट अन्त्य भएकाे छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख प्रसाइले मंगलबार सूचना जारी गर्दै अाज रातको १२ बजे देखि प्रदेशसभाको चालु सातौँ अधिवेसन बैठक अन्त्य गरेका हुन् । ७४ दिन पछी बसेकाे प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार संसद् अवरुद्ध गर्दै आएको थियो ।
माओवादी केन्द्रले सरकारले बिना मापदण्ड विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको, पर्याप्त छलफल बिना नै निजी कम्पनीको समायावधी बाँकी रहँदै सुरुङ्ग मार्ग निर्माणको काम अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख सहयोग गरिएकोलगायतका विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लगातार अवरोध गरेपछि सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले संसद चलाउन सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले बहिष्कार गरेका थिए ।
बागमती प्रदेश सभामा मंगलबारसम्म चालु हिउँदे अधिवेशनमा पास हुनुपर्ने दूई वटा विधेयक पेश नभई रोकिएको छ । कार्यसुचिमा रहेका भौतिक पुर्वाधार मन्त्रालयले पेश गरेको सडक सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालयले पेश गरेको पर्यटन सम्बन्धी विधेयक छलफल विना नै राेकिएकाे हाे । त्यस्तै महालेखा परीक्षणको प्रतिवेदन, लोक सेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन ।


