मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रबार भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे– ‘यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ ।’
नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । उपप्रधानमन्त्री पोखरेलले भने – ‘कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन् ।’ जवाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नोतर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएकाे पाेखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । बस्नेतका अनुसार साराले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेकाे जानकारी दिए ।
कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ । यसैगरी, भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे भातृ तथा शुभेच्छुक संघ संस्था समन्वय विषयगत समितिको विज्ञमा हेटाैडाका रामबहादुर भण्डारी मनाेनयन भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रकाश अधिकारी संयोजक रहेकाे उक्त समितिको विज्ञका रुपमा भण्डारीलाई नियुक्त गरिएकाे हाे ।
२०७७ फागुन १ गतेकाे नियुक्ती पत्रमा भनिएकाे छ ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु–याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त हुनु भएकोमा बधाई छ ।’
लामाे समयदेखि शिक्षण पेशामा संलग्न भण्डारी हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख छन् ।भण्डारी हेटाैडा उपमहानगरपालिका वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् ।

मकवानपुर । राष्ट्रियसभा उपनिर्वाचनको लागि ३ जनाको उम्मेद्वारी दर्ता भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभाकाे १ पदकाे लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ दल नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “वादल” नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको समर्थनमा डाक्टर खिमलाल देबकोटा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेद्वारी दर्ता भएको गरेका हुन् ।
बादलको मनोनयनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रस्ताव गरेका छन भने सामजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकि छिन् । डाक्टर देबकोटाको प्रस्ताबक नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल छन भने समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् । तामाङको प्रस्तावक नेमकिपा वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई छन भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेापल समूहको समर्थन रहेको छ ।
यसै गरी नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गृहमन्त्री बादलले नेकपा एमालेको मत आफुले प्राप्त गर्ने बताएका छन् । राष्ट्रियसभा उपनिर्वाचनको लागि शुक्रबार उम्मेद्वारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफुले प्राप्त गर्ने बताए ।
राष्ट्रियसभामा बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । साेही अनुसार नेकपा माओवादी केन्द्रले बादललाइ कारवाही गरे उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानकाे लागि हेटौंडा ४ मा रहेकाे भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । क र ख मतदान केन्द्र रहने छन्र भने उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
बागमती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना हुने प्रदेश निर्वाचन कार्यालय हेटाैडाका निमित्त प्रमुख गाेविन्द प्रसाद पाैडेलले जानकारी दिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् भने जनता समाजवादी पार्टीका १ जना सदस्य छन् । एमालेका ५७ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद रहेकाे बताइएकाे छ ।
शुक्रबार दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेकाे प्रदेश निर्वाचन कार्यालयका प्रमुख पाैडेलले बताए ।
मकवानपुरमा थप १५ जना काेराेना भाइरस संक्रमण मुक्त
Tags: No Comments
मकवानपुर । मकवानपुरमा शुक्रबार थप १५ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना मुक्त भइ डिस्चार्ज हुनेमा घरमा उपचाररत १० जना र आइसोलेसनमा उपचाररत ५ जना गरी १५ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा कोरोना भाइरस मुक्त हुनेकाे संख्या ३ हजार ९ सय ३१ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणबाट ३ सय १८ जनामा गरिएको परीक्षणबाट थप १ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि कैलाश गाउँपालिकाका ३५ जना, मनहरी गाउँपालिकाका १२ जना,थाहा नगरपालिकाका १२ जना,ईन्द्रसरोब र बकैैयाका एकएक जनाका रहेका छन् । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ५ हजार १ सय २४ पुगेको कार्यलयले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा मकवानपुरको हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्लाका ३८ वर्षीय पुरुष रहेका छन् । मकवानपुरमा हालसम्म ४२ जनाको मृत्यु भएकाे स्वास्थ्य कार्यलयले जनाएको छ ।
मकवानपुरमा विहीबार सम्म १ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् । जस मध्ये १ हजार ९९ संक्रमित घरमै र ५४ जना संक्रमित (हेटौंडा अस्पतालमा २९ र गौरिटारमा २२ जना) आइसोलेसनमा उपचाररत रहेका छन् ।
नेपालमा शुक्रबार थप २ हजार ९सय ५ जना कोरोना संक्रमण मुक्त
नेपालमा पछिल्लाे २४ घण्टमा थप २ हजार ९ सय ५ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेकाे संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको कारण थप ५० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ ६ गते हेटाैडामा हुने भएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौंडामा हुने उपनिर्वाचन हेटाैडा ४ स्थित भुटनदेवी माविमा मतदान स्थल ताेकिएकाे छ ।
उपनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्य १ सय १० जनाले भुटनदेवी मावी (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाले भुटनदेवी मावी (ख) केन्द्रबाट मदतान गर्ने भएका छन् । राष्ट्रिय सभा सदस्यकाे लागि कुल ३ सय ४८ मतदाता रहेकाे बागमती प्रदेशमा बैशाख २३ गते विहीबार अन्तिम नामावली प्रकाशन भएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने तथा मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटाैडा मकवानपुरका निमित्त प्रमुख गोबिन्द प्रसाद पौडेलले बताए । प्रमुख पाैडेलका अनुसार बैशाख २४ गते शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
उपनिर्वाचनमा राष्ट्रिय ५ राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आयोगमा दल दर्ता गराएको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, कांग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र लाई गोलाकारभित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राप्रपालाई हलो चिन्ह र क्रम ४ तथा नेमकिपालाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।