मकवानपुर । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ ६ गते हेटाैडामा हुने भएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौंडामा हुने उपनिर्वाचन हेटाैडा ४ स्थित भुटनदेवी माविमा मतदान स्थल ताेकिएकाे छ ।
उपनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्य १ सय १० जनाले भुटनदेवी मावी (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाले भुटनदेवी मावी (ख) केन्द्रबाट मदतान गर्ने भएका छन् । राष्ट्रिय सभा सदस्यकाे लागि कुल ३ सय ४८ मतदाता रहेकाे बागमती प्रदेशमा बैशाख २३ गते विहीबार अन्तिम नामावली प्रकाशन भएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने तथा मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटाैडा मकवानपुरका निमित्त प्रमुख गोबिन्द प्रसाद पौडेलले बताए । प्रमुख पाैडेलका अनुसार बैशाख २४ गते शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
उपनिर्वाचनमा राष्ट्रिय ५ राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आयोगमा दल दर्ता गराएको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, कांग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र लाई गोलाकारभित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राप्रपालाई हलो चिन्ह र क्रम ४ तथा नेमकिपालाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।

