मकवानपुर । राष्ट्रियसभा उपनिर्वाचनको लागि ३ जनाको उम्मेद्वारी दर्ता भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभाकाे १ पदकाे लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ दल नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “वादल” नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको समर्थनमा डाक्टर खिमलाल देबकोटा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेद्वारी दर्ता भएको गरेका हुन् ।
बादलको मनोनयनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रस्ताव गरेका छन भने सामजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकि छिन् । डाक्टर देबकोटाको प्रस्ताबक नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल छन भने समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् । तामाङको प्रस्तावक नेमकिपा वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई छन भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेापल समूहको समर्थन रहेको छ ।
यसै गरी नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गृहमन्त्री बादलले नेकपा एमालेको मत आफुले प्राप्त गर्ने बताएका छन् । राष्ट्रियसभा उपनिर्वाचनको लागि शुक्रबार उम्मेद्वारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफुले प्राप्त गर्ने बताए ।
राष्ट्रियसभामा बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । साेही अनुसार नेकपा माओवादी केन्द्रले बादललाइ कारवाही गरे उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानकाे लागि हेटौंडा ४ मा रहेकाे भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । क र ख मतदान केन्द्र रहने छन्र भने उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
बागमती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना हुने प्रदेश निर्वाचन कार्यालय हेटाैडाका निमित्त प्रमुख गाेविन्द प्रसाद पाैडेलले जानकारी दिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् भने जनता समाजवादी पार्टीका १ जना सदस्य छन् । एमालेका ५७ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद रहेकाे बताइएकाे छ ।
शुक्रबार दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेकाे प्रदेश निर्वाचन कार्यालयका प्रमुख पाैडेलले बताए ।

