मकवानपुर / सवारी कर तिर्नको लागि कार्यालयसम्म धाउने समय नभएर तनावमा हुनुहुन्छ कि ? तपाई बागमती प्रदेश अन्तरगतमा हुनुहुन्छ भने अब त्यो तनाव छोड्नुस् ।
प्रदेश सरकारले स्मार्ट प्रदेश बनाउने घोषणा गरेको २ वर्षपछी शुक्रबारबाट सवारी कर तिर्नको लागि अनलाइन सेवा सुरु गरेको छ । प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) कार्यान्वयनमा ल्याएको हो । नेपालमा यो प्रणालीको सुरुवात गर्ने बागमती प्रदेश सरकार पहिलो हो ।
प्रदेशको भौतिक योजना मन्त्रालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुक्रबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत् तिरेका थिए ।

यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सवारीको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवा प्रवाहलाई सेवाग्रही मैत्री बनाउने सरकारको नीति अनुरुप स्थापना गरिएको मुख्यमन्त्री पौडेलले बताए । “दुई वर्ष अघि घोषणा गरेका थियौं लक्ष्य लिएपछी सफलतामा पुगिन्छ भन्ने यो गतिलो उदाहरण हो” मुख्यमन्त्री पौडेलले भने । “केही ढीलो भएपनि प्रतिबद्धता पूरा भएको छ” मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले दुई वर्ष अघि डिजिटल प्रदेश बनाउने घोषणा गरेअनुसार यसले गति लिन थालेको उनले दावि गरे । पौडेलले यस अभियान सफल भएपछी राजस्वमा बृद्धि हुनुका साथै सेवाग्रहीहरुको समय बचत एवं पारदर्शी पनि हुने दावी गरे । “वैज्ञानिक प्रविधिमा सबैलाई सहयोग गर्नु सबैको दायित्व हो” उनले भने, “हामीले गफमा सीमित नभई बोलेको प्रतिवद्धता पूरा गरेका छौं ।”
यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ ।
बागमती प्रदेशमा करिब ४७ प्रतिशत साधनहरु दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएका छन् । २०७६/०७७ मा ९३ हजार ५ सय ७७ दर्ता भएका छन् भने २०७७/०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारी साधनहरु दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को असार १५ सम्म सवारी साधनबाट प्रदेशमा ८ अर्ब ९३ करोड ९८ लाख ५० हजार ३ सय ९८ राजश्व संकलन भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ वटा कार्यालयबाट यस प्रणाली मार्फत् सेवा लिन सकिने छ । प्रदेशको सबैजसो सरकारी सेवाहरुलाई सकेसम्म डिजिटलाइजेशन प्रकृयामा लैजाने नीति प्रदेश सरकारले लिएको छ ।
तस्बिरहरू साैजन्यः प्रकाश दाहाल
मकवानपुर । सूचना तथा प्रसारण विभागले प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण गर्ने भएकाे छ । नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको सूचना तथा प्रशारण विभागले जनाएकाे छ ।
साउन ५ गतेकाे सूचना अनुसार साउन १० गते आइतबारदेखि सेवाग्राहीले आवश्यक कागजात सहित दर्ता तथा नविकरणकाे लागि सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवेदन दिन विभागले आग्रह गरेको छ ।
अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र काठमाडौँ उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ । साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।
साथै साउन १० गते विभागमा सेवाग्राहीकाे प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रभाव दिनकाे १ बजेसम्म मात्र हुने समेत विभागकाे सूचनामा उल्लेख गरिएकाे छ ।

मकवानपुर । माधव नेपाल पक्षका एमाले सांसदले नेकपा एमाले पार्टीले साउन ४ गते पत्र मार्फत सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनस्स्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकोले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।
राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोध स्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन ।’ ओलीलाई बुझाइएकाे स्पष्टिकरणमा भनिएकाे छ ।
अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षर गरेकाे असार ४ गतेकाे पत्रबाट २२ जना सांसदलाई स्पष्टीकरण सोधिएकाे थियाे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण साेधिएकाे भए पनि पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न साेधिएकाे थिएन ।
‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरु निरन्तर गराइएकाे छ’ २४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा उल्लेख छ ‘पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको ‘हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला।’
मकवानपुर । मकवानपुरगढीमा निर्माण सम्पन्न भएकाे झोलुङ्गे पुलकाे उद्घाटन गरिएकाे छ । बुधबार गाउँपालिकाकाे वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन् बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले गरिन् ।
झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए । एक करोड रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । झोलुंगे पुल बनेपछि स्थानीयबासीलाइ अावतजावलमा निकै सहज हुने हुमागाइ बताउँछन् ।
मकवानपुरगढी गाउँपालिकामा सडक, पक्की पुल निर्माणसंगै झोलुङ्गे पुल निर्माणको कामले पनि तिब्रता पाएको अध्यक्ष हुमागाईले बताए । वर्षायामको समयमा दुइवटा गाउँ ओहोर दोहोर गर्नका लागि निकै समस्या भएपनि झोलुङ्गे पुल निर्माण पछी सहज भएको भन्दै स्थानीय खुसी भएका छन् ।झोलुङ्गे पुलको निर्माणले ओखरडाडा बासी जनसमुदायलाई तरकारी लगायत कृषि उपज बजार पुर्याउन सहज हुनेछ ।
पुल उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रितिलाल लामा, समाजसेवी मेम्बर लामा, मकवानपुरगढी गापाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य प्रमुख ध्रुव लामिछाने सहभागिता रहेको थियो ।

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पताल तथा हाेम आइसाेलेसनबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै साेही अवधीमा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएकाे छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ र ३ हजार ९ सय १ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय २० जना गरी जम्मा २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।