मकवानपुर / सवारी कर तिर्नको लागि कार्यालयसम्म धाउने समय नभएर तनावमा हुनुहुन्छ कि ? तपाई बागमती प्रदेश अन्तरगतमा हुनुहुन्छ भने अब त्यो तनाव छोड्नुस् ।
प्रदेश सरकारले स्मार्ट प्रदेश बनाउने घोषणा गरेको २ वर्षपछी शुक्रबारबाट सवारी कर तिर्नको लागि अनलाइन सेवा सुरु गरेको छ । प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) कार्यान्वयनमा ल्याएको हो । नेपालमा यो प्रणालीको सुरुवात गर्ने बागमती प्रदेश सरकार पहिलो हो ।
प्रदेशको भौतिक योजना मन्त्रालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुक्रबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत् तिरेका थिए ।

यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सवारीको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवा प्रवाहलाई सेवाग्रही मैत्री बनाउने सरकारको नीति अनुरुप स्थापना गरिएको मुख्यमन्त्री पौडेलले बताए । “दुई वर्ष अघि घोषणा गरेका थियौं लक्ष्य लिएपछी सफलतामा पुगिन्छ भन्ने यो गतिलो उदाहरण हो” मुख्यमन्त्री पौडेलले भने । “केही ढीलो भएपनि प्रतिबद्धता पूरा भएको छ” मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले दुई वर्ष अघि डिजिटल प्रदेश बनाउने घोषणा गरेअनुसार यसले गति लिन थालेको उनले दावि गरे । पौडेलले यस अभियान सफल भएपछी राजस्वमा बृद्धि हुनुका साथै सेवाग्रहीहरुको समय बचत एवं पारदर्शी पनि हुने दावी गरे । “वैज्ञानिक प्रविधिमा सबैलाई सहयोग गर्नु सबैको दायित्व हो” उनले भने, “हामीले गफमा सीमित नभई बोलेको प्रतिवद्धता पूरा गरेका छौं ।”
यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ ।
बागमती प्रदेशमा करिब ४७ प्रतिशत साधनहरु दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएका छन् । २०७६/०७७ मा ९३ हजार ५ सय ७७ दर्ता भएका छन् भने २०७७/०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारी साधनहरु दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को असार १५ सम्म सवारी साधनबाट प्रदेशमा ८ अर्ब ९३ करोड ९८ लाख ५० हजार ३ सय ९८ राजश्व संकलन भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ वटा कार्यालयबाट यस प्रणाली मार्फत् सेवा लिन सकिने छ । प्रदेशको सबैजसो सरकारी सेवाहरुलाई सकेसम्म डिजिटलाइजेशन प्रकृयामा लैजाने नीति प्रदेश सरकारले लिएको छ ।
तस्बिरहरू साैजन्यः प्रकाश दाहाल

