मकवानपुर । आगामी फागुन २१ गतेका लागि तोकिएकाे प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले गत मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नामसमेत समेटेर १ करोड ९० लाख भन्दा बढी मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै आयोगले मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगको शनिबारको निर्णय अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नेपाली नागरिकलाई मतदाता नामावली अद्यावधिक गर्न पाइने व्यवस्था गरिएको हो । आयोगले मंसिर ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई आधार मानेर अद्यावधिक प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
जसमा मतदाता नामावली अद्यावधिक अर्थात दाबी विरोध कार्यक्रमअनुसार आयोगको वेबसाइटमा रहेको विवरण प्रकाशन भएपछि मतदाताले मंसिर २६ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्न पाउनेछन् । जसमा नाम, थर, जन्ममिति, ठेगाना लगायत त्रुटि सच्याउन निवेदन दिन सक्ने, कसैले झुटा विवरण दिएर नाम दर्ता गराएको भए विरोधमा उजुरी दिन सक्ने, नाम दुई वा बढी स्थानमा दोहोरिएको भए एक स्थानमा मात्र राख्न माग गर्न सक्ने, मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन सक्ने आयोगले जनाएको छ ।
दाबी–विरोधबाट प्राप्त निवेदनको अन्तिम छानबिनपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ । यस्तै आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको र मतदाताले अब आफूलाई पायक पर्ने मतदान स्थल छनोट गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । त्यसका लागि अनलाइन प्रणालीबाट वा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने छ । आयोगले समयमै नामावली अद्यावधिक गर्न सके फागुन २१ को निर्वाचन व्यवस्थित र विश्वसनीय हुने विश्वास व्यक्त गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सभाका पूर्व सदस्य ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेका छन् । प्रदिप वालाचन उपनाम रहेकाे उनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने घोषणा गरेका हुन् ।
मकवानपुर राक्सिराङका ग्लान २०७४ मा माओवादी केन्द्रको समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य भएका थिए । माओवादीले संचालन गरेकाे सशस्त्र द्वन्द्वमा सहभागी ग्लानले नेपालको ऐतिहासिक जनक्रान्ति र जनयुद्धमा सहभागी भएर योगदान गर्न पाएकोमा आफूले गर्व महसुस गरेको बताए । जनयुद्धपश्चात् निरन्तर बाध्यात्मक जिम्मेवारी लिएर अघि बढे पनि पछिल्लो समय आफ्नै व्यावहारिक कारणले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्न नसकेकोले कारणले पार्टीलाई असहज नहोस् भन्ने उद्देश्यले नैतिकताको आधारमा सोही दलको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको उनले बताए ।
‘विगतको योगदान र इतिहास प्रति गर्व गर्दै मूल नेतृत्व, नेता तथा कार्यकर्ता र जनतामा आभार प्रकट सहित फरक ढङ्गको यात्रा र सम्बन्धमा जोडिने विश्वासका साथ पार्टीलाई मेरो कारण असहज नहोस् भन्ने हेतुले नैतिकताको आधारमा आजैको मितिबाट सोही दलको कुनै पनि जिम्मेवारीमा नरहने गरी स्वतन्त्र रहेको जानकारी गराउँदछु’ उनले विज्ञप्तिमा भनेका छन् ।
मकवानपुर । कृषि कर्ममा युवालाई प्रोत्साहन गर्न नसकिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले बताएका छन् ।
परम्परागत शैलीमा आधुनिक प्रविधिलाई जोडेर कृषि कर्मलाई युवामाझ लैजान नसकिएको भन्दै कृषि प्रतिको दृष्टिकोण फेर्न जरुरी रहेको उनले बताएका हुन् ।
कृषि उत्पादन भए पनि त्यसको प्रभावकारी बजारीकरणमा चुनौती औँल्याउँदै मन्त्री पौडेलले उत्पादन बढाउनुभन्दा पनि उत्पादित वस्तुको ब्राण्डिङमा जोड दिनुपर्ने बताए। उनले नेपालमा संसारमा नपाइने विशिष्ट कृषि उत्पादनहरू रहेको र त्यसलाई विश्व बजारमा पुर्याउन सके मनग्ये आम्दानी गर्न सकिने बताउँदै यस विषयमा सरकारको ध्यान केन्द्रित भएको जानकारी दिए ।
हेफर इन्टरनेशनल नेपालद्वारा आयोजित र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको प्राविधिक सहयोगमा भएको ‘कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यक्रममा सहकार्यको सम्भावना र अवसरबारे सरोकारवालासँगको प्रादेशिक अन्तरक्रिया कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री पौडेलले युवालाई कृषिमा आकर्षित गर्नका लागि प्रदेश सरकारले ‘कृषि ज्ञान रत्न’ कार्यक्रम ल्याएको बताए । हाल यो कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको भए पनि आवश्यकताअनुसार यसलाई बढाउन सकिने उनको भनाइ थियो ।
मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बागमती प्रदेशमा कृषि तथा पशुपन्छी क्षेत्रमा कार्यरत साझेदार संस्थाहरूको भूमिका र प्रभावकारिताको समिक्षा गरिएको थियो । छलफलमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रमहरूलाई प्रादेशिक नीति, रणनीति, योजना, कार्यक्रम र प्राथमिकतासँग कसरी तादम्यता मिलाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।
यसका साथै, साझेदारीबाट भविष्यमा अपेक्षित उपलब्धि र सम्भावनाहरूका बारेमा समेत सरोकारवालाहरूबीच गहन विमर्श गरिएको हेफरका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलले बताए । कार्यक्रममा हेफर नेपालकी कार्यक्रम निर्देशक सबिना प्रधानले हेफरको काममा हातेमालो गर्नेहरूकै कारण संस्थाले कृषिमा योगदान गर्न संभव भएको बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका ललित घलान, मकवानपुर बागमती गाउपालिका अध्यक्ष सर्केस घलानलगायतको सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।
आइतबार आयोगले एक निर्माण कम्पनीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य विरुद्ध मुद्दा दर्ता गरांएकाे हाे । यस्तै तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायतलाई समेत प्रतिवादी बनाइएको छ ।
विस्तृत यहाँबाट हेर्न सकिनेछः
Pokhara bimansthal bhrastachar
मकवानपुर । मकवानपुरकाे हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतबाट शुक्रबार जारी अल्पकालिन अन्तरिम आदेश सडक डिभिजन कार्यालय हेटौंडामा दर्ता भएसँगै विस्तार कार्य रोकिएको हाे ।
सर्वोच्चकाे अल्पकालिन अन्तरिम आदेश आइतबार दिउँसो सडक कार्यालयमा तामेल भएपछि विस्तारको काम रोकिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुुसार सर्वोच्चको आदेशको सम्मान गर्दै हाललाई सडक विस्तारकाे काम रोकिएको छ । उक्त आदेशमा छलफलकाे लागि मंसिर २६ सर्वोच्चले बाेलाएकाे छ । शुक्रबारको आदेश तामेल नभएकाेले शनिबार सडक विस्तारकाे काम भएकाे थियाे ।
कार्यालय प्रमुख अधिकारीका अनुसार आइतबार सर्वोच्च अदालतको आदेश कार्यालयमा आइपुगेपछि काम रोकिएको छ । ‘मंसिर २६ गते हुने छलफलपछिकाे सुनुवाइ र आदेशपछि मात्र थप प्रक्रिया अघि बढाइने छ’ उनले भने । सर्वोच्चको आदेश पालना गर्नु आफूहरूको कर्तव्य भएको उनी बताउँछन् । ‘हामी सर्वोच्चको आदेशको सम्मान गर्दै मंसिर २६ गतेसम्म कुर्छौं । मुद्दा खारेज भए सडक विस्तार गर्छौं, नभए प्रक्रियाअनुसार हुन्छ’ उनले भने ।
सडकलाई ‘एसियन हाइवे’को मापदण्ड अनुसार विस्तार गर्ने योजनाअनुरुप पुनर्निर्माणको छलफल पनि थालिएको अधिकारीले बताए । मापदण्ड अनुसारको जग्गा सडकको स्वामित्वमा ल्याएर ‘सेट ब्याक’ लगायतका विषय मिलाई सडक स्तरोन्नतिका लागि डीपीआर तयार गर्ने र चालु आर्थिक वर्षमै टेन्डर आह्वान गर्ने योजना सडक डिभिजन कार्यालयको छ । उक्त कार्यका लागि बजेट प्राप्तिको काम सकेर चालु आर्थिक वर्षमा नै टेन्डर गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
शनिबार बिहान ५ बजेबाट हेटौंडा बजारको राप्ती रोडबाट बुद्धचोक, मेन रोड हुँदै कर्रा, पशुपतिनगर, रातोमाटे तथा बुद्धचोकबाट पिपल बोट, चौकीटोल ओरालोसम्म सडक विस्तारको लागि घर टहरा भत्काइसकिएको छ । शनिबार बिहान ५ बजेबाट साँझ ५ बजेसम्म (१२ घण्टा) सडक कार्यालयले १० वटा मेसिन प्रयोग गरेर घर तथा टहरा भत्काएको थियो । यद्यपि उक्त घरहरू पूर्ण रूपले भत्किएका छैनन् । अधिकांश घरहरूको झ्याल ढोका तथा सटर र टप भत्काइएको छ ।
भत्काइएका संरचनाहरूको व्वस्थापनमा कार्यालयले सहयोग गरिरहेको बताइएकाे छ । ‘केही दिन घरधनीहरूले माग गरेअनुसार समय दिएर भत्किएका संरचना व्यवस्थापनको लागि समय दिएका छौं उक्त समयमा भत्किएका स्क्र्यावहरू व्यवस्थापन नगरे पुनः कार्यालयले प्रक्रियाअनुसार काम गरेर सडक सीमा खाली गर्छ,’ उनले भने ।