मकवानपुर । मकवानपुरकाे हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतबाट शुक्रबार जारी अल्पकालिन अन्तरिम आदेश सडक डिभिजन कार्यालय हेटौंडामा दर्ता भएसँगै विस्तार कार्य रोकिएको हाे ।
सर्वोच्चकाे अल्पकालिन अन्तरिम आदेश आइतबार दिउँसो सडक कार्यालयमा तामेल भएपछि विस्तारको काम रोकिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुुसार सर्वोच्चको आदेशको सम्मान गर्दै हाललाई सडक विस्तारकाे काम रोकिएको छ । उक्त आदेशमा छलफलकाे लागि मंसिर २६ सर्वोच्चले बाेलाएकाे छ । शुक्रबारको आदेश तामेल नभएकाेले शनिबार सडक विस्तारकाे काम भएकाे थियाे ।
कार्यालय प्रमुख अधिकारीका अनुसार आइतबार सर्वोच्च अदालतको आदेश कार्यालयमा आइपुगेपछि काम रोकिएको छ । ‘मंसिर २६ गते हुने छलफलपछिकाे सुनुवाइ र आदेशपछि मात्र थप प्रक्रिया अघि बढाइने छ’ उनले भने । सर्वोच्चको आदेश पालना गर्नु आफूहरूको कर्तव्य भएको उनी बताउँछन् । ‘हामी सर्वोच्चको आदेशको सम्मान गर्दै मंसिर २६ गतेसम्म कुर्छौं । मुद्दा खारेज भए सडक विस्तार गर्छौं, नभए प्रक्रियाअनुसार हुन्छ’ उनले भने ।
सडकलाई ‘एसियन हाइवे’को मापदण्ड अनुसार विस्तार गर्ने योजनाअनुरुप पुनर्निर्माणको छलफल पनि थालिएको अधिकारीले बताए । मापदण्ड अनुसारको जग्गा सडकको स्वामित्वमा ल्याएर ‘सेट ब्याक’ लगायतका विषय मिलाई सडक स्तरोन्नतिका लागि डीपीआर तयार गर्ने र चालु आर्थिक वर्षमै टेन्डर आह्वान गर्ने योजना सडक डिभिजन कार्यालयको छ । उक्त कार्यका लागि बजेट प्राप्तिको काम सकेर चालु आर्थिक वर्षमा नै टेन्डर गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
शनिबार बिहान ५ बजेबाट हेटौंडा बजारको राप्ती रोडबाट बुद्धचोक, मेन रोड हुँदै कर्रा, पशुपतिनगर, रातोमाटे तथा बुद्धचोकबाट पिपल बोट, चौकीटोल ओरालोसम्म सडक विस्तारको लागि घर टहरा भत्काइसकिएको छ । शनिबार बिहान ५ बजेबाट साँझ ५ बजेसम्म (१२ घण्टा) सडक कार्यालयले १० वटा मेसिन प्रयोग गरेर घर तथा टहरा भत्काएको थियो । यद्यपि उक्त घरहरू पूर्ण रूपले भत्किएका छैनन् । अधिकांश घरहरूको झ्याल ढोका तथा सटर र टप भत्काइएको छ ।
भत्काइएका संरचनाहरूको व्वस्थापनमा कार्यालयले सहयोग गरिरहेको बताइएकाे छ । ‘केही दिन घरधनीहरूले माग गरेअनुसार समय दिएर भत्किएका संरचना व्यवस्थापनको लागि समय दिएका छौं उक्त समयमा भत्किएका स्क्र्यावहरू व्यवस्थापन नगरे पुनः कार्यालयले प्रक्रियाअनुसार काम गरेर सडक सीमा खाली गर्छ,’ उनले भने ।

