सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
अहिले भने फेरि राजनीतिक दल विभाजनसम्बन्धी नयाँ अध्यादेशअनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न नेकपा एमाले र जसपाका सांसदहरूलाई निर्वाचन आयोगले दिएको २२ भदौको समयसीमाका कारण मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको हो ।
यसबीचमा मन्त्रिपरिषद् विस्तार गर्दा सत्तारूढ दलभित्रको असन्तुष्ट समूहले अध्यादेशअनुसार फेरि २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्ने डरसमेत गठबन्धन आबद्ध दलका नेताहरूमा छ । सोही कारण दल रोज्न निर्वाचन आयोगले दिएको समय घर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सत्तारूढ दलका नेताहरू सहमत भएका हुन् ।
सो प्रक्रिया पूरा भएपछि अध्यादेश निष्क्रिय पार्ने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन आबद्ध दलका नेताबीच सहमति छ । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका गठबन्धनमा आबद्ध माधव नेपालनिकट प्रतिनिधि सभा सांसदको पद जोगाइदिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।
त्यसपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेता नेपाललाई नयाँ दल दर्ता गर्न पर्खंदासमेत मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो भने पछिल्लो समय उपेन्द्र यादवको आग्रहमा जसपाको प्रदेशस्तरीय बैठकका कारण मन्त्रिपरिषद् विस्तार धकेलिएको थियो ।
‘गठबन्धन आबद्ध शीर्ष नेताहरू २२ गतेपछि मन्त्रिपरिषद् विस्तार गर्न सहमत हुनुभएको छ, निर्वाचन आयोगले अध्यादेशअनुसार प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको समयपछि मात्रै अब सरकार विस्तार हुन्छ,’ सत्ता गठबन्धन आबद्ध दलका एक नेताले राजधानीसँग भने ।
योबीचमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रियासमेत सुरु हुनेछ । ‘कांग्रेस पनि वडा अधिवेशनमा केन्द्रित हुँदै छ, वडा अधिवेशनका लागि शीर्ष नेताहरू पनि जिल्ला जानुपर्ने अवस्था छ । त्यसपछि मात्रै सरकार विस्तार हुन्छ, योबीचमा निर्वाचन आयोगले पनि आफ्नो काम सक्छ,’ ती नेताले थपे ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न भन्दै शुक्रबार यता दिनहुँजसो सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आइरहेको छ । हालसम्म पनि कुन दलले कति मन्त्रालय लिने भन्नेमसमेत गठबन्धनमा सहमति जुट्न सकेको छैन ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा सरकार हाल चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् ।
आकर्षक मन्त्रालय तानातानमा, सहमति जुटेन
आकर्षक र मालदार मन्त्रालय कसले लिने भन्नेबारेमा गठबन्धन दलबीच विवाद हुँदा मन्त्रिपरिषद् विस्तार अझै केही दिन पर धकेलिने देखिएको छ । गठबन्धन दलका जिम्मेवार नेताहरूले नै बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गर्दै आएकोमा मन्त्रालय भागबन्डा निर्धारण गर्न सोमबार र मंगलबार दुई दिन बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनिकट स्रोतले जानकारी दिएको छ । विशेषगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शक्तिशाली र मालदार मन्त्रालयका रूपमा रहेका मन्त्रालय कसले लिने भन्नेमा विवाद छ ।
एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ । सोही मन्त्रालयमा जनता समाजवादीको पनि दाबी रहेकाले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटन नसकेको हो । यसअघि सबैभन्दा मालदार र शक्तिशाली मन्त्रालयका रूपमा रहेका गृह र अर्थ मन्त्रालय कांग्रेस र माओवादी केन्द्रको भागमा परेकाले त्यसपछिको मालदार मन्त्रालय आफूले पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ ।
सरकार निर्माणमा आफूहरूको भूमिका निर्णायक भएकाले माओवादी केन्द्रले पाएकै जस्तो शक्तिशाली मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी एकीकृत समाजवादी दलले गरेको हो । यस्तै, अन्य मालदार मन्त्रालयका रूपमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि विवाद छ । एकीकृत समाजवादी र जनता समाजवादी दुवैले उद्योग मन्त्रालयमा पनि आँखा लगाइरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, सहरी विकासलगायतका मन्त्रालयसमेत मालदार मन्त्रालयका रूपमा रहेकाले ती मन्त्रालयमा समेत गठबन्धनबीच सहमति जुट्न सकेको छैन । सत्तारूढ दलभित्र मन्त्रीको आकांक्षीको संख्या बढ्न थालेपछि कसलाई मन्त्री बनाउने भन्नेमा प्रमुख नेतालाई निकै सकस भएको छ ।
सांसदहरू दलबलसहित आफूलाई मन्त्री बनाउनुपर्ने र नबनाए जस्तोसुकै परिणाम भोग्न पनि बाध्य हुनुपर्ने भन्दै नेतृत्वलाई चेतावनी दिन थालेपछि नेताहरू बिलखबन्दमा परेको बताइएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर / मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेको सनाखत गरेको सांसद मुनु सिग्देलले बताइन्। निर्वाचन आयोगले प्रदेश सभा सदस्यलाई २२ भदौसम्म पार्टी रोज्ने समय दिएको छ।
नयाँ पार्टी रोज्ने सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण खनाल छन्। सांसद खनाल मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री छन्।
अहिले १२ जनाले सनाखत गरेको, अझै केही सांसद आउने सिग्देलले बताइन्। “अझै केही साथीहरू आउने क्रममा हुनुहुन्छ,” उनले भनिन्।
११० सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५६ सांसद निर्वाचित थिए। दोलखाका सांसद पशुपति चौलागाईको निधन भएको छ। १२ सांसदले एमाले छोडेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अहिले विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी (जसपा)का तीन र राष्ट्रिय जनमोर्चा एक सांसद छन्।
हिमाल खबरबाट
न्याय कहिले पाउनेः अगष्ट ३० अर्थात जबर्जस्ती बेपत्ता बनाइएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस । दिवसकाे अवसरमा उनीहरुको लागि न्याय माग गरिएको छ । वेपत्ता पारिएका ब्यक्तिहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएकाे छ । विभिन्न समयमा राज्य तथा विद्राेही पक्षबाट नागरिक वेपत्ता भएका भए पनि उनिहरु न त सार्वजनिक नै भएका छन् । न उनीहरुकाे परिवारले उचित न्याय नै पाएका छन् । तस्विरः कृष्ण गाैतमकाे फेसवुकबाट

मकवानपुर । मकवानपुरमा ३१ जना काेराेना संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या थपिएका हुन् ।
१ सय पीसीआर परीक्षणमा ३० जना र २ सय ७३ जनामा एन्टीजेन परीक्षणमा १ जना गरी थप ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । काेराेना पुष्टि हुने ३१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार ७ सय ५६ जनामा कोरोना पुष्टि भएकाे छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । हाेम अाइसाेलेसनमारहेका ६ जना र संस्थागत आइसोलेसनबाट ४ जना गरी १० जना संक्रमित कोरोना निकाे भएका कार्यलयले जनाएको छ । याे समेत जिल्लामा १४ हजार २ सय ५२ जना कोरोना संक्रमण निकाे भएकाे कार्यलयले जनाएको छ ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६१ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाको कारण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय १४ जनाको मृत्यु भएको छ । यसै गरी मनहरी गाउँपालिका भित्रका १३ जना, थाहा नगरपालिका भित्रका ९ जना, भीमफेदी भित्रका ७ जना, मकवानपुरगढी र बकैया भित्रका ५/५ जना,बागमती भित्रका ४ जना,कैलाश र राक्सिराङ गाउँपालिका भित्रका २/२ जना काे मृत्यु भएकाे छ ।
हाल जिल्लामा ३ सय २ जना संक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय ७४ जना आफ्नै घरमा र २८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । आज भाद्रकृष्ण अष्टमी । हिन्दुहरूका भगवान श्रीकृष्णकाे जन्मदिन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्ण जन्माष्टमी’ काे दिन महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पौराणिक ग्रन्थमा उल्लेखित कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । महाभारत ग्रन्थ अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त विचारहरूकाे संग्रह ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको एक पवित्र ग्रन्थ मानिन्छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।
