नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।
कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।
यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।
सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।
संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ ।
इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ । मंगलबार मात्रै पनि पूर्वमहामन्त्री सिंहको ठमेलस्थित निवासमा सो समूहको ५ घन्टा बढी बैठक चलेको थियो ।
वरिष्ठ नेता पौडेलले साझा उम्मेदवार तय गर्ने विषयमा आफूहरू सहमतिनजिक पुगेको दाबी गरे ।
‘हामी सहमतिको नजिक छौं, साझा उम्मेदवार टुंग्याउन हामी सबै एक छौं, बुधबार बिहान बैठक बसेर निर्णय लिन्छौं,’ मंगलबार बसेको इतर समूहको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै पौडेलले भने ।
बैठकमा महामन्त्री डा. कोइरालाले भने आफू सहमतिका लागि सभापतिको दौडबाट बाहिरिने भन्दै वरिष्ठ नेता पौडेलका लागि समर्थन गरेका हुन् ।
तर, सभापतिमा दाबी गर्दै आएका नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री सिंह भने आफ्नो दाबीबाट पछि हटेका छैनन् । उनीहरू आफैं सभापतिको साझा उम्मेदवार हुनुपर्ने अडानमा छन् ।
‘शशांकजी ब्याक हुन तयार हुनुभएको छ, शेखर र प्रकाशमानजीले अझै पनि आफ्नो अडान नछाड्दा समस्या भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।
इतर समूहको साझा उम्मेदवार खोज्ने प्रक्रियामा अघि बढ्दै आएका नेता अर्जुननरसिंह केसीले भने सहमति नभए सिंगो समूहले नै निर्णय लिने बताए ।
‘हामी अन्तिम समयसम्म पनि सहमति गरेरै साझा उम्मेदवार छान्न प्रयत्न गर्छौं, त्यो अवस्था बनेन भने समूहले निर्णय गर्छ, निर्णय सबैले मान्नुपर्छ,’ नेता केसीले राजधानीसँग भने ।
वरिष्ठ नेता पौडेलले भने दुई नेता सहमतिमा पुगे आफू पनि छाड्न तयार हुने संकेत गरेको महामन्त्री कोइरालाले भनेका छन् ।
इतर समूहले साझा उम्मेदवार’bout छलफल गर्न आफ्ना पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्वजिल्ला सभापतिहरू र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका नेताहरूसँग बुधबार छलफल गर्ने बताएको छ । सो छलफलबाट निष्कर्ष निस्कने अनुमान इतर पक्षको छ ।
सोही समूहका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरीसहितको मंगलबार बसेको बैठकले इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार तोक्न दबाब दिएका थिए । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । मंसिर १८ गते शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः १ हजार ५९ र १ हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् ।
उक्त पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये धर्मराम गौतम १ हजार ४ र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मत प्राप्त गरी पराजित भएका छन् । यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे ९ सय ९५ र राजु श्रेष्ठ ९सय १० मतसहित विजयी भएका छन् । सो पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा माइकल रामचन्द्र अर्याल ८ सय ९९, तिलकप्रसाद रुवारी ७ सय ६०, गौरीप्रसाद दवाडी १ सय ८८ र सुरेश श्रेष्ठ १ सय ६३ मतसहित पराजित भएका छन् ।
यस्तै, महिलातर्फकोे सह–महामन्त्रीमा जीवन डंगोल विजयी भएका छन् । उनी ९ सय ४९ मतसहित महामन्त्रीमा विजयी भएका हुन् । सो पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा निर्मला वस्तकोटी (निरु खड्का) ७ सय ८६ र मोतिमाया तामाङ २ सय १८ मतसहित पराजित भएका छन् । यसैगरी, खुल्लातर्फको सह–महामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उनीहरु क्रमशः ९ सय १६ र ८ सय ३९ मतसहित विजयी भएका हुन् ।
उक्त पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ ८ सय ३५, महेन्द्र थिङ ८ सय १, राजकुमार पाठक २सय १७, जगन्नाथ धिमाल १ सय ५४ र जयनारायण सापकोटा ८५ मतसहित पराजित भएका छन् । कांग्रेस बागमतीको सभापतिमा भने इन्द्रबहादुर बानियाँ जगदिश नरसिंह केसीलाई हराउदै विजयी भएका छन् ।
मकवानपुर । दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगितामा उपाधीको लागि मकवानपुर र रामेछाप ‘ए’ भिड्ने भएका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको कुनौरी खेल मैदानमा जारी नकआउट फुटबल प्रतियोगितामा सोमबार भएको सेमिफाईनल खेलमा रामेछाप ‘बी’ लाई हराउँदै मकवानपुर फाईनलमा प्रवेश गरेको छ । ओखलढुङ्गालाई हराउँदै रामेछाप ‘ए’ फाईनलमा प्रवेश गरेको हो । आज मंगलबार फाईनल खेल दिउँसो १ बजे हुनेछ ।
नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा भईरहेको प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ नगद साथै शिल्ड र मेडल प्राप्त गर्नेछन् । यसैगरि,प्रतियोगिताको उपविजनेताले एक लाख र क्रमशः तृतिय र चौथो हुनेले ५० हजार र २५ हजार रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गनेछन् ।
यसअघि,मकवानपुरको बकैया-४ को जुरेलि खेलमैदानमा भएको प्रथम राष्ट्रिय माझी गोल्डकप प्रतियोगितामा रामेछापले उपाधी हात पारेको थियो । रामेछापले सिन्धुलीलाई ट्राइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै उपाधी हात पारेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ बिजयी भएका छन् ।
दोस्रो चरणको मतदानमा बानियाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई १५८ मत अन्तरमा पराजित गरेका हुन् । दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन् । १३ वटा मत बदर भएको थियो। बानियाँले यसपटक भने ५३ प्रतिशत मत ल्याएका छन् ।
पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । सोही मत दुईतिर बाडिएको मत अंकले देखाएको छ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये हिजोको दोस्रो मतदानमा २ हजार २५ मत खसेको थियो । प्रदेश समितिको अन्य पदाधिकारी र सदस्यहरूको भने मतगणना आज गरिने बताईएको छ ।बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको प्रतिक्रिया दिए ।
मकवानपुर / नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले समर्थन गरेका छन् ।
सभापतिको उम्मेदवार प्रधानले आफ्नो समर्थन बानियाँलाई दिएका हुन् । हिजो भएको मतदानमा उनले तेस्रो स्थानमा नतिजा ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा उनले बानियाँलाई साथ दिनेबारे पत्रकार सम्मेलन गरेर बताएका हुन् ।
पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अबको साथ सहयोग बानियाँलाई रहने बताए ।
आफुलाई अमुल्य मतदान गर्ने साथीहरुलाई धन्यवाद दिदैं अब बानियाँलाई सबैले मतदान गरी विजयी गराउन आग्रह समेत गरे । “एकता र सहमतिको लागि सन्देश दिन मेरो समर्थन बानियाँ रहेको छ” उनले भने । उनले विपीको सिन्द्धातमा रहने आफु जहिले पनि लोकतन्त्रमा विश्वास रहेको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं तामाङ लगायतका नेता तथा प्रनिनिधिहरुको उपस्थिती रहेको थियो ।
निर्वाचन समितिका अनुसार दोस्रो चरणको सभापतिको मतदान साढे ११ बजेबाट सुरूहुने तालिका रहेता पनि १ बजेबाट सुरु भएको छ ।