मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ९ मा माेटरसाइकल कारमा ठोक्किदा १ जनाकाे मृत्यु भएकाे छ ।
शनिबार बिहान महेन्द्र राजमार्गमा हेटौडा बजार तर्फबाट रातोमाटे तर्फ जाँदै गरेको बा ७५ प ६२७२ नम्बरकाे मोटरसाइकल रातोमाटे तर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा.प्र.०१-०२८ च १५३२ नम्बरको कारमा ठक्कर खाएकाे हाे । उक्त माेटरसाइकल अनियन्त्रित भई उक्त कारलाई ठक्कर दिएकाे बताइएकाे छ ।
उक्त दुर्घटनामा माेटरसाइकलमा सवार हेटौंडा १३ वनस्पति बस्ने २४ वर्षीय सुकराम लोप्चन घाइते भएकाेमा सन्चो अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उनलाई हेटौंडा अस्पतालबाट भिडियो एक्सरेकाे लागि सन्चो अस्पताल लगिएकाेमा स्वास्थ्य अवस्था विग्रिएकाेले त्यही उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा शनिबार बेलुका लोप्चनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
उक्त दुर्घटनामा माेटरसाइकल चालक हेटौंडा १३ वनस्पतिका २६ वर्षीय प्रकाश थापा मगर घाइते भएका छन् । उनकाे दाहिने हात र दाहिने खुट्टामा चाेट लागेकाेमा अवस्था सामन्य रहेकाे बताइएकाे छ । कार चालक मोरङ विराटनगर ४ बस्ने ३५ वर्षीय शिवप्रसाद खतिवडालाई केही पनि नभएकाे बताइएकाे छ ।
प्रहरीका अनुसार माेटरसाइकलसहित चालक थापा मगर र कारसहित चालक खतिवडा इलाका प्रहरी कार्यालय पशुपतिनगरकाे नियन्त्रणमा रहेकाे छ ।
मकवानपुर । आगामी ५ दिनसम्म देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने भएकाे छ । ५ दिनसम्म देशकाे हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी ५ दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
महाशाखाले आगामी तीन दिन र कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
मकवानपुर। मकवानपुरको हेटौंडामा पिकअप गाडी र माेटरसाइकल एकआपसमा ठोक्किंदा १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैंसे सडकखण्डमा पिकअप र मोटरसाइकल ठोक्किंदा हेटौंडा – १० का विनोद लामाकाे मृत्यु भएको हाे।
आइतबार अपराह्न करिब ४ः५० बजेकाे समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकका ४२ वर्षीय लामाकाे हेटौंडा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।
मकवानपुर । हिन्दु नेपालीहरुले मुख्य पर्वको रुपमा मनाउँदै आएको विजयाको प्रतिक वडा दशैंको नौरथा चलिरहेकाे छ । घर र मन्दिरहरुमा दुर्गापूजा स्थापना गरी जमरा राखिएको छ ।
तर दशैंमा जुन रौनकता विगतमा देखिन्थ्यो त्यो विस्तारै हराउँदै गएको छ । यो वर्ष प्राकृतिक प्रकोपको कारण देशमा पीडा थपिएकोले यथार्थ एकातिर छ । तर गाँउघरको पर्वको मौलिकता पनि हराउँदो छ । “दशैं आउन लाग्यो भन्ने बितिकै बाबियो, बाँसको लिङ्गो, कमेरो माटोको खोजी सुरु हुन्थ्यो अहिले तिनीहरुको वास्तै हुदैन” मकवानपुरगढी ५ का लक्ष्मण घिमिरेले भने “अब ढुङ्गामाटोको घरहरु नै भेट्न गाह्रो छ।”
प्रकृतिको पनि अचम्मकै लाग्छ, वर्षभरी कमेरो माटो खोजेर भेटिदैनथ्यो भदौको अन्ततिर वा असोज लागेपछि (नौरथा नजिकीदै गर्दा) जमिन बाहिर कमेरो देखा पर्दथ्यो, यो जमिनबाटै पलाउने र सिमित हुन्थ्यो” उनी भन्छन् “कहिले एकै ठाँउमा प्रत्येक वर्ष कमेरो माटो पलाउँथ्यो कहिले एक पटक खनेपछि सकिन्थो ।” वनजंगलमा घाँस, दाउरा, सोतर खोज्न जाँदा माटो पलाएको छ की भनेर पनि ध्यान दिने गरेको उनी बताउँछन् ।
अहिलेको पुस्तालाई कमेरो माटो खोज्ने, खन्ने र आसार्ने बारे जानकारी नै छैन । कमेरो माटो संकलन गर्न जमिन मूनि धेरै तलसम्म खाल्डो खन्नुपर्दा यो जोखिमपूर्ण पनि हुने गरेको उनको अनुभव छ । माटो खन्न खाल्डोभित्र पसेको बेलामा माटो भासिएर कतिको ज्यान जाने गरेले यो उच्च जोखिमको काम हो । त्यो भन्दा अहिले बजारमा पाइने रङहरु नै उपयोगि मान्दछन् उनी ।
उबेलाको रमाइलो यस्तो थियो घिमिरे स्मरण गर्दछन्, “कमेरो र रातो माटोले घरको भित्तामा पोतिन्थो, विभिन्न चित्रहरु बनाएर काला भरिन्थ्यो, झ्याल ढोकाहरुमा ब्याट्रीको कालो धुललाई पानी र तेल मिसाएर फिटेर लगाउँथ्यौ अनि त घर त चिटिक्कै हुन्थ्यो ।” कतैकतै कालो माटोले पनि घरको पिढीका भित्ताहरुमा थप आकर्षण र कला थपिने गरिएको उनी बताउँछन् । अहिले उबेला जस्तो विभिन्न रङको माटोले घर पोत्ने रङ्ग्याउने चलन हराउँदै गए ।
हाल शहरका मात्रै हैन ग्रामिण घरहरु पनि सिमेन्टलगाएर बनाउने र चुन तथा आधुनिक रङको प्रयोग प्रचलन बढेको छ । यसैले गाउँघरमा दशैँसँग जोडिएको माटोले घर रङ््ग्याउने चलन पनि हराउँदै गएको हो । माटोको जोडाइ र लिपपोत गरी बनाइएको घरमा विभिन्न रङका माटो प्रयोग गरी हुन्थ्यो घरको लिप पोतपछि दशैको झल्को आउँथ्यो । घर लिपपोत गर्न घरदेखि घण्टौं लामो यात्रा गरेर वन, खोल्सी तथा डाँडापाखाबाट सेतो माटो (कमेरो) खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदो छ ।
पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले लिपपोत र कमेरो लगाउने घर निर्माणको अभ्याससँगै पुरानो शैलीको यस्ता परम्परागत चलन तथा अनुभव समेत ओझेलमा पर्दै गएको हेटौंडा उपमहानगरपालिका १८ फुर्केचौरका ज्वाला पराजुली बताउँछन् । अहिले घरहरु सिमेन्ट जडित हुने तथा बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि माटो खोज्नुपर्ने झन्झटै हटेको पराजुली बताउँछन् ।
गाउँघरमा भएका माटो जडित घरहरुमा समेत बजारिया रङ नै प्रयोग गर्ने गरेकोले समेत माटोको प्रयोग कथा जस्तै बनेको छ । “पहिले घण्टौ लगाएर कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपर्थ्यो” भिमफेदी गाउँपालिका नामटारका इन्द्र बर्तौलाले अनुभव सुनाउँदै भने “घरमा ल्याएर तयार गरिएको माटो भित्तामा लगाउने चलन थियो । अहिले त्यो कथा बन्यो, त्यो एक प्रकारको मौलिकता नै बनेको थियो ।”
समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास हराउँदै गए । घर सजाउने परम्परागत तरिका पनि बदलिदै गयो । कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, सामुदायिक एकता, सहकार्य, श्रम र पारिवारिक उत्साहसँग पनि जोडिएको परम्परा थियो । अब पहिले जस्तो एकअर्काको सुखदुखमा साथ दिनेहरु समेत कमै भेटिन्छन् हेटौंडा १७ की शशीला पुडासैनी भन्छिन् “सामाजिक सञ्जालले वास्ताविका छिमेकी/समाज, परिवारभित्रै समेत आपसी चासो कम गरेको छ।”
हराउँदै परम्परागत पिङहरू
दशैँको आफ्नै मौलिक, सांस्कृतिक छ, यसको आफ्नै सामाजिक महत्व छ। दशैँ भन्नेबित्तिकै गाउँघरमा हालिने लिङ्गे पिङ र रोटे पिङको सम्झना सबैभन्दा पहिले आउँछ। तर पछिल्लो समय यो पनि हराउँदै छन् ।
प्रविधि, व्यस्त जीवन शैली र शहरीया रहनसहनले सामाजिक जीवनशैलीमा आएको परिवर्तनसँगै लिङ्गे पिङहरु पनि हराउँदै छन् । गाउँघरमा सबै मिलेर बाबियो खोज्ने, लठ्ठा बाट्ने र बाँस खोज्ने पिङ हाल्ने फुर्सद अब छैन । गाउँघरमा पीङ देख्नै मुस्किल छ अचेल । परम्परा बचाउन भनेर हालिने पिङहरु पनि बाबियोको हैन सुतली र नाइलनको डोरीको हुन्छन् ।
रोटे पिङको झन् इतिहास नै खोज्न पर्ने भैसक्यो । डोरी र काठका ठूला खाम्बाहरू प्रयोग गरेर घुमाउने तरिकाले बनाइने रोटे पिङ निर्माण गर्न निकै सीप, धेरै मानिसहरूको श्रम तथा ठुलै खर्च आवश्यक हुन्छ । काठको अभाव, निर्माण गर्ने पुराना कालीगडहरूको कमी र आधुनिक मनोरञ्जनका साधनका कारण यो लगभग पूर्ण रूपमा लोप भइसकेको छ।
लिङ्गे पिङ बाँसका चारवटा अग्ला लिङगा गाडेर बाबियो वा सनपाटको लठ्ठा (डोरी) बाटेर लिङ्गे पिङ हालिन्छ। दशैँमा “एकपटक भए पनि भुइँ छाड्नुपर्छ, मरेपछि स्वर्ग पुगिन्छ भन्दै पिङ खेलिथ्यो” सुमित्रा भन्छिन् । अब त्यो जनविश्वास पनि रहेन । तर पछिल्लो समय बाँस र बाबियोको डोरीको सट्टा सुतली, प्लाष्टिक वा नायलोनको डोरी प्रयोग हुन थालेको छ ।

जमरा मन्दिरमा सिफ्ट
दशैंमा घरघरमा राखिने जमरा पछिल्लो समय चोकको खुल्ला स्थानमा दुर्गा स्थापना गरि सामूहिक पूजा गर्ने र जमरा राख्ने वा मन्दिरहरुमा मात्रै राख्ने प्रचलन बढेको छ । दुर्गा पूजा घरघरमा गर्ने प्रचलन पनि विस्तारै हराउँदै छ । बरु चोकहरुमा अस्थायी दुर्गा मुर्ति बनाउने परम्पराले नेपाली रुपैया बाहिरीएको छ ।
नौरथा लाग्नुभन्दा महिनादिन अगावै सुरु हुने मुर्ति निर्माणका लागि भारतबाट आउने कालिगढहरुले प्रत्येक वर्ष लाखौ रुपैया लिएर जान्छन् । यसले केही सामूहिकता जगाउला तर नयाँ पुस्तालाई घरघरमा जमरा राख्दा जति मौलिकता प्रति अध्ययन गर्ने अवसर हुन्थ्यो त्यो अब त्यति सहज छैन । हर दिन जमरा पुरा गर्ने, दुर्गामाताको फरक फरक स्वरुपलाई पूजा गर्ने, फूलपाति, अष्टमी, नवमी तथा दशमीको दिनमा गरिने विशेष पूजाबारे ज्ञान नयाँ पुस्तामा विस्तार हुने क्रम लोप हुदै गएको छ ।
एकातिर युवाहरू रोजगार वा अध्ययनका लागि शहर र विदेशतर्फ केन्द्रित छन्, बालबालिका तथा युवाहरू मोबाइल, टेलिभिजन, गेम र सामाजिक सञ्जालमा बढी व्यस्त हुनुले समेत परम्परागत सिप हराउँदो छ । पार्क तथा घरहरूमा फलाम वा प्लाष्टिकका तयारी पिङको प्रयोग बढ्नु तथा पहिलेजस्तो गाउँघरमा भेला भएर दशै मनाउने र श्रमदान गर्ने सामाजिक सद्भाव तथा सहकार्य घट्दो रहेको संस्कतविद् रामचन्द्र आचार्य बताउँछन् ।
दशैंमा राखिने पिङ केवल मनोरञ्जनको साधन मात्र नभई नेपाली समाजको एकता, भाइचारा र मौलिक संस्कृतिको प्रतीक हो। स्थानीय तह, युवा क्लब तथा सांस्कृतिक संस्थाहरूले अग्रसरता देखाएर बाँस र बाबियोको संरक्षण गर्दै पिङ हाल्ने परम्परालाई निरन्तरता दिनु आवश्यक रहेको औलाउँछन् आचार्य । उनका अनुसार नेपाली लोकसंस्कृति र समाजशास्त्रको दृष्टिबाट हेर्दा पिङ केवल मनोरञ्जन वा खेल मात्र होइन; यो हाम्रो सामाजिक बनोट, प्रकृतिसँगको सम्बन्ध, आध्यात्मिक विश्वास र मौलिक पहिचानसँग गहिरोसँग जोडिएको एउटा महत्वपूर्ण सांस्कृतिक प्रतीक हो।
जनविश्वास अनुसार दशैँको दिन पिङ खेलेर भुइँ छाड्नाले वर्षभरिको कष्ट, पाप र शारीरिक आलस्य मेटिन्छ र आत्मामा ऊर्जा थपिन्छ भन्ने मान्यता छ।
मौलिकतासँगै के के हराए ?
दशैंमा माटोले घर लिपपोतमा गरिने कला र पिङ मात्रै हराएका छैनन् । यो सँग जोडिएका कला र परम्परा पनि हराउँदो छन् । प्रकृतिसँगको निकटता हराउँदो छ । ग्रामिण हस्तकलाहरु लोक हुँदैछन् । पिङमा प्रयोग हुने बाँस, बाबियो, डोरी र काठ सबै प्रकृतिका उपज हुन् । पिङमा मच्चिनुलाई धर्ती र आकाशबीचको सन्तुलन तथा प्रकृतिप्रतिको आभार व्यक्त गर्ने तरिका मानिन्छ।
लिङगे वा रोटे पिङ एक्लै बनाउन असम्भव हुन्छ। बाबियो काट्ने, डोरी बाट्ने, बाँस काट्ने र ठड्याउने कार्यमा सिङ्गो चौतारी वा गाउँका मानिसहरू जुट्थे। यसले नेपाली समाजको श्रमदान र अर्मपर्म सामुहिकताको संस्कृतिलाई बलियो बनाउँथ्यो। यो परम्पारा पनि हराउँदो छ । दशैँमा घर फर्किएका परदेशी, गाउँले र आफन्तहरू पिङ खेल्ने बहानामा एकै ठाउँमा भेला हुन्थे। यसले मनमुटाव बिर्साएर सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्थ्यो, त्यो पनि हराउँदो छ ।
काठका ठूला चक्रहरूलाई काठकै किला र चुकुलका भरमा अड्याएर घुमाउने रोटे पिङ र चारवटा बाँसको सन्तुलन मिलाएर उभ्याइने लिङ्गे पिङ नेपाली पुर्खाको मौलिक प्रविधिका उत्कृष्ट नमुना हुन्। अब गुमाउँदै छ गाउँले । वातावरणमैत्री सामग्री (बाँस, काठ, बाबियो) को प्रयोगले हाम्रो प्राचीन जीवनशैली प्रकृतिको प्रतिकूल नभई अनुकूल थियो भन्ने प्रमाण दिन्छ।
“दशैंको पिङ र लिपपोत परम्पारा लोप हुनु भनेको माटो, काठ वा बाँसको ढाँचा हराउनु मात्र होइन, यससँगै जोडिएको रैथाने सीप, सामूहिक श्रमको भावना, सामाजिक एकता र मौलिक पहिचान हराउँदै जानु हो” आचार्य भन्छन् ।
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बादरेभीरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२ः३० बजे हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी १ त्रिखण्डी नजिकै बादरेभीरमा बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी दुर्घटनामा भएकाे हाे ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको उक्त ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज सीएमसी रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा तथा हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साहको शरीरमा भित्री चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, हरि साहका पाँच वर्षीय नाति आर्यन साहको शरीरमा भित्री चोट लागेको छ। उनका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेका छन्। हरि साहलाई थप उपचारका लागि चितवन रिफर गरिएपछि उनीहरूसमेत चितवन मेडिकल कलेज गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनामाई गाउँपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकाे थियो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।