मकवानपुर/ हेटौंडा उपमहानगरपालिकाले आर्थिक समृद्धिका लागि कृषिमा लगानीलाई उच्च प्राथमिकता दिंदै आएको छ ।
कृषिलाई निर्वाहमूखीबाट व्यवसायिक बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हो । विपन्न कृषकहरुलाई अनुदान तथा बिउ पुँजीको कार्यक्रम सञ्चालनार्थ सहयोग गरेपछि लक्ष्यित वर्गको जीवनस्तरमा समेत सुधार आएको पाइएको छ । नगरपालिकाले उन्नत प्रजातिको बाख्रा पालन, पाडापाडी पालन, तरकारी खेती, माछा तथा हाँस पालन, पशुहरुमा लाग्ने आकश्मिक रोग विरुद्धको खोप कार्यक्रमले ल्याएपछि कृषकलाई निर्वाहमूखीबाट व्यवसायिक रुपमा काम गर्न धेरै राहत मिलेको हो ।
नगरपालिकाले उन्नत बाली विकासको लागि विभिन्न बालीको बीउ ३ हजार ४०० केजी र मौसम अनुसारका तरकारीको बीउ १ हजार ५ सय पकेट वितरण गरिएको जनाएको छ । मुल्य श्रंखला कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएका हेटौंडाको वडा नंम्बर १७ र १९ का दुई वटा साना किसान कृषि सहकारीमा आवद्ध समुहका सदस्यहरुलाई मागमा आधारित २ वटा आयोजना संचालनका लागी सम्झौता सम्पन्न भएको आर्थिक महाशाखा प्रमुख गंगा चौलागाईंले बताइन् ।

यसैगरी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तरगत स्थानीय तहबाट संचालन गर्नेगरी संघीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट गत बर्षबाट संचालनमा आयका एक एक वटा मेवा पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रका लागि चालु आर्थिक वर्षमा प्राप्त कार्यक्रम निरन्तरताको लागि सम्झौता सम्पन्न भइसकेको छ ।
नगरको गौरवको आयोजनाको रुपमा बागमती प्रदेश सरकारसंगको लागत साझेदारीमा हेटौंडा ११ को थानाभ¥याङ्गमा प्रादेशिक फलफूल तथा तरकारी थोक केन्द्र निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको कार्य सुरु भएको छ ।
उक्त निर्माण कार्य चालु अवस्थामा रहेको आर्थिक महाशाखा प्रमुख चौलागाईंले बताइन् ।
तरकारी तथा फलफूल कृषकलाई आत्मनिर्भरता र व्यवसायिकीकरणको लागि नगर क्षेत्रमा आवश्यक पर्ने अनुदानको रासायनिक मल वितरण गर्न ३५ वटा कृषि सहकारीहरुलाई विक्रेताको लागि कार्य क्षेत्र सहित किटान गरी रसायनिक मल वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताइन् ।

यसैगरी पशुपन्छी विकास तर्फ यस वर्ष ८०/२० को लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत काउम्याट वितरण गरिएको कृषि महाशाखाका अधिकृतस्तर आठौ दुर्गाप्रसाद न्यौपानेले बताए । पाडापाडी अनुदान, युवा लक्षित अनुदान, माछा तथा हाँस पालन अनुदान बंगुर पालन अनुदान, व्यबसयिक फर्म प्रोत्साहन कार्यक्रम गरि १ सय ११ जना किसानलाइ अनुदान सम्झौता सुरु भएको न्यौपानेले बताए ।
विगत वर्षहरुदेखि संचालन हुदै आएको पशुको कृतिम गर्भाधान कार्यक्रम चालु आ।व। मा समेत संचालन भइरहेको उनले बताए । यसैगरी नगरका ४ वटा सेवा केन्द्रहरु मार्फत पशुमा लाग्ने विभिन्न रोगको लागि आवश्यक औषधीहरु निःशुल्क वितरण कार्य गरिएको उनले बताए ।
‘मौसम अनुसारको घाँसको बीउ सेवा केन्द्र मार्फत वितरण भईरहेको छ’ न्यौपानले भने ‘पशुहरुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्याकुते रोगहरुको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार लगाउदै आएको छ ।’
टनेल खेतीलाई प्रोत्साहन
नगरपालिकाले चालु आर्थिक बर्षमा कृषि उत्पादनलाई व्यबसायिक बनाउने अभिप्रायले २५ वटा टनेल निर्माण कार्य, प्लास्टिक पखरी ४ वटा, १० वटा साना सिचाई आयोजना संचालनका लागि सम्झौता सकिएर चालु आवस्थामा रहेको छन्।

कृषक समूह तथा सहकारीमा आबद्ध किसानहरुलाई कृषि पेशामा उत्साहित गराउन ५० प्रतिशत अनुदानमा साना ठुला गरी २४ वटा कृषि यान्त्रिक उपकरण उपलब्धताको लागि सम्झौता भएको छ । संघिय सरकारको सशर्त अनुदान मासु मिसन कार्यक्रम अन्तर्गत पाडा पालन कार्यक्रमका लागि १५ वटा समूह छनोट भई कार्यक्रम चालु अवस्थामा रहेको आर्थिक महाशाखा प्रमुख गंगा चौलागाईले बताइन् । साविक जिल्ला विकास समितिमा दर्ता भई हाल नगरपालिका कार्यालयमा नवीकरणका लागि आएका घ वर्गको निर्माण व्यवसाय इजाजत मध्ये चालु आर्थिक आर्थिक वर्षमा २ सय १६ वटाको
नविकरण तथा १ वटाको ठाँउसारी, ३ वटाको नामसारी र ४ वटाको नयाँ इजाजत जारी गरिएको उनले बताइन् ।
चालु आर्थिक वर्षबाटबाट स्थानीय तह मार्फत संचालन भईरहेको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यम विकास समूहगठन भई एच्ब्, क्थ्द्यए, उद्यमशिलता विकास तालीम सम्पन्न भएको छ । उपमहानगर क्षेत्रबाट संचालनमा रहेका सहकारीहरुलाई नजिकको सम्पर्क विकास गरी नियमित गर्ने कार्य हुदै आएको न्यौपानेले बताए ।
यस अवधिमा एक नयाँ दर्ता, एक एकीकरण र ३ वटा विनियम संशोधन भएको न्यौपानेले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सूचीमा सुचिकृतहरुलाई लक्षित गरी नगरका सबै वडामा कार्यान्वयन हुने गरि आयोजना छनोट गर्ने कार्य प्रक्रियामा रहेको महाशाखाले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हराएको स्कुटर प्रहरीले फेला पारी स्कुटर धनीलाई बुझाएकाे छ । हेटौंडा बजारमा हराएको स्कुटर २४ घण्टाभित्र फेला पारी सम्बन्धित धनीलाई प्रहरीले जिम्मा लगाएको छ ।
माघ २५ गते मंगलबार हेटौंडा-२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरेर राखिएको हेटौंडा -५ बस्ने चेत कुमारी सापकोटाको नाममा रहेको ना. ३४ प २३८४ नम्बर रातो रङको होन्डा कम्पनीको स्कुटर हराएको थियाे । स्कुटर हराएकाे सूचना प्रहरी कार्यालयमा मौखिम रुपमा जानकारी लगतै खटि गएको प्रहरी टोलीले हेटौंडा-४ बाट फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फेला परेको स्कुटर मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बुधबार सापकोटालाई कार्यालयमै बोलाएर बुझाएका हुन।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेकाे छ । जंगली हात्तीबाट प्रभावित उक्त परिवारलाई कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर बुधबार राहत उपलब्ध गराएका हुन् ।
सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने रानीवास चन्दनपुरलगायत क्षेत्रका ७७ परिवार, दूधौली नगरपालिका वडा नम्वर १, २, ३, ६ र ११ को झुगा तीनतले माथिल्लो फुटेपानी, कालापानी, लवा, माथिल्लो पत्रिङ्गालगायतका स्थानका ६३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो । उनीहरुलाई प्रति परिवार ५ हजारसहित ब्लाङ्केट, एक बोरा चामल, नुन, तेल, दाललगायत खाद्यान्न सहयोग गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले कांग्रेस जनताको पीर मर्का तथा अप्ठेरो परिस्थितिमा सदैव साथ सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रदेशवासीको समस्यालाई कांग्रेसले आफ्नो समस्या ठानेको भन्दै त्यसको सम्बोधनमा आफु निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘जंगली हात्तीबाट प्रभावित भएका जतिपनि घर परिवारहरु छन्, हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँहरुको भत्किएको घर पुनः निर्माण गरिने म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले भने ।
राहत वितरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, कांग्रेस बागमती प्रदेशका उपसभापतिद्वय मोहन बस्नेत र चन्द्र महर्जन, महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ र जीवन डंगोल, सिन्धुली जिल्ला सभापति उज्ज्वल बराललगायत उपस्थित थिए । सिन्धुलीमा जंगली हात्तीले केही दिन अघि स्थानीयको घर भत्काउनुको साथै बालिनालीसमेत नष्ट गरेको थियो ।

मकवानपुर । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष हटाउन चलखेल सुरु गरेकाे छ । मन्त्रालयले कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई माघ २५ गते स्पष्टीकरण सोधेपछि उनले आफूलाई हटाउने तयारी गरिएकाे प्रतिक्रिया दिएका हुन् ।
डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्ती गरेका उपाध्यक्ष चौलगाईलाई हटाउन राजेन्द्र पाण्डे नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले मन्त्रालयका कर्मचारीलाई निर्देशन नै दिएको बुझिएको छ । लामो समयसम्म परिषद बैठकले कार्ययोजना नै स्वीकृत नगर्दा परिषदले सोचे अनरुप काम गर्न नसकेको चौलागाईले बताए । २०७८ असोज ६ गते परिषद बैठकबाट योजना स्विकृत भएपछि परिषदले त्यही स्वीकृत योजना कार्यान्वयन गरेको उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।
मन्त्रालयले राजनीतिक पूर्वाग्रह नराखी कार्यक्रम प्रभावकारी बनाउन खोजे सहकार्यको लागि आफू तयार रहेको उनको भनाई छ । मन्त्रालय र मन्त्रीस्तरको सुझाव कार्यान्वयन गर्न कुनै समस्या छैन, तर राजनीतिक पूर्वाग्रह राखेर स्पष्टीकरण सोध्नु अन्याय भएको उनको तर्क छ । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद बैठकको निर्णय कार्यान्वयन गरिएको हो । मन्त्रालयसंग समन्वय नभएको आरोप मिथ्या हो । मन्त्रालयले मागेको प्रगति विवरण समयमै बुझाईएको उनले बताए । अहिले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको प्रदेश युवा परिषदले मन्त्रालयसंग समन्वय गरिरहेको छ । परिषदले बनाएका भावी योजनाका सन्दर्भमा मन्त्रालयले सुझाब दिने हो भने पनि ती सुझाब समेट्न सकिने उनले बताए ।
मन्त्रालय योजना फेर्नु भन्दा कार्यकारी उपाध्यक्ष फेर्ने दाउमा अघि बढेको छ । चार वर्षे कार्यकालका लागि २०७८ असार १ गते नियुक्त गरिएको कार्यकारी उपाध्यक्ष हटाएर आफू अनुकुलको कार्यकारी उपाध्यक्ष नियुक्ती गर्ने योजनाका साथ मन्त्रालय र मन्त्री अघि बढेका छन् । युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषदलाई काम गर्ने वातावरण नदिएको उपाध्यक्ष चौलागाईले आरोप लगाए । एकातर्फ काम गर्ने वातावरण नदिने अर्कोतर्फ काम भएन भनेर मन्त्री नै राजनितीक प्रतिशोध साध्न उद्यत देखिएको उनले बताए ।
परिषदले कार्यक्रम स्विकृत गरेको २ महिना भित्रै प्रदेशको लोगो र स्लोगन सार्वजनिक गरेको छ । युवा परिषदको वेभ साइट निर्माण भएको छ । दुई महिनाभित्र परिषदबाट थुप्रै काम भएको उपाध्यक्ष चौलागाईको दावी छ । बागमती प्रदेश सरकारका आन्तरिक मामीला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले एक हप्ता भित्रै अघिल्लो सरकारले गरेका नियुक्ती खारेज गर्ने बताए ।
मकवानपुर । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माघ २६ गते बुधबारबाट निष्काशन तथा बिक्री खुलेकाे छ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन जारी गरेको हो। कुल ५ लाख ५५ हजार ६ सय कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रूपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।