मकवानपुर । नवोदय म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अंग्रेजी माद्यमिक विद्यालयकाे म्याथ क्लवले ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ
म्याथ काउन्सिल मकवानपुरका सह–सचिव इन्द्रबहादुर कार्कीले गणित विषय घर, समाज र विद्यालयमा बढी उपयोग हुने भएकाले अरु विषयको तुलनामा महत्वपूर्ण रहेको बताए । ‘गणित विषय प्रयोगात्मक भएको बताउँदै उनले पढ्नमा कठिन भए पनि अभ्यासलाई निरन्तरता दिँदा यो विषय सहज रहेको बताए । गणित विषयप्रति विद्यार्थीको झुकाव बढी रहेकोमा उनले खुशी व्यक्त गरे ।
त्यसैगरी नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले म्याथ क्याम्पफाइर कार्यक्रमले गणित विषय पढ्नमा सहयोग मिलेको बताए । उनले नवोदय म्याथ क्याम्पफायर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे । व्यक्तिगत जीवनमा गणित विषयले कसरी असर पु¥याइरहेको छ भन्ने विषयलाई लिएर क्याम्पफायरमा विद्यार्थीहरुले जानकारी गराउने छन् ।
विद्यालयको प्राङ्गणमा स्टल निर्माण गरी विद्यार्थीहरुले टुकी बत्ती, टपरी, रङ्गोली, पानीघट्ट, राष्ट्रिय झण्डा, नाङ्लो, मुडा, मानापाथी, मादल, कोदालो, खुकुरी, हवनकुण्ड, घर, करुवा, गुन्द्री, ग्रामोफोन निर्माण गर्दा गणित विषयको प्रयोगको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने विद्यार्थी लिजा विष्टले बताइन् । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने उनले बताइन् । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम यस अघि भर्चुअल माध्यमबाट भएको थियो ।
नवोदय विद्यालयकाे म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे मार्च १४ र असार १४ गते म्याथ क्याम्प फाइर कार्यक्रम गर्दै आइरहेको छ ।
रेणुका चाैलागाईं
१.
ढुङ्गा बोल्नुपर्छ अब माटो बोल्नुपर्छ
सहिदहरूको रगतको टाटो बोल्नुपर्छ
धेरै बोले सुकिला र बाठाहरू देशमा
यो देशको लागि अब लाटो बोल्नुपर्छ ।
२.
बाँझै छ गाउँमा खेतबारी शहर पसियो
छोडेर गाउँघर शुन्य पारी शहर पसियो
पाइदैन खान साँझ झोला भरेर नफर्के,
गमलामा फलाउन तरकारी शहर पसियो ।
काभ्रे हाल काठमाडाैं
चाैलागाईंकाे भरखरै विमाेचन भएकाे मुक्तक संग्रह ‘जीवनजस्ताे जीवन’बाट
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।
गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन तय भइसकेको छ ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत बिहीबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर कांग्रेसमा प्रवेश गराएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफैं उपस्थित भएर कांग्रेस प्रवेश गराएका थिए । उनी नेपाली जनता दलबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।
यसैगरी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं वीरगन्ज पुगेर एमालेमा भित्र्याएका हुन् । सरावगीको पहिलो रोजाइ कांग्रेस थियो । तर, कांग्रेसबाट राम्रो ‘रेस्पोन्स’ नआएपछि अन्तिममा उनी एमालेमा गएका हुन् ।
पर्साकै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासमेत यसअघि नै नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।
यस्तै, माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसमेत गत बुधबार एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमारी खराललाई एमाले अध्यक्ष ओलीले रंगेलीमै आयोजित एक कार्यक्रमबीच एमालेमा भिœयाएका हुन् ।
यसैगरी, केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेतमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला समन्वय समितिका नेपाली कांग्रेसका उपप्रमुख ज्ञानीप्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।
जिल्लामा स्थानीय तहका प्रमुख उपप्रमुख मात्रै होइन वडा अध्यक्षदेखि वडा सदस्य र पदमै नरहेर पनि प्रभाव राख्न सक्ने नेताहरू दल अदलबदलमा लागेका छन् । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानले नै व्यक्तिलाई स्वतन्त्रताको अधिकार दिएकाले व्यक्तिले मन परेको दल रोज्नु स्वाभाविक भएको बताए । यस्तो प्रक्रिया मूल्य र मान्यताका आधारमा हुने उनले जानकारी दिए ।
‘संविधानले नै व्यक्तिलाई स्वतन्त्रताको अधिकार दिएको छ, दलमा आउने जाने स्वार्थका आधारमा होइन, मूल्य र मान्यताका आधारमा हुन्छ,’ एमाले नेता नेम्वाङले भने । उनले एमालेले महाधिवेशन सकिएलगत्तैबाट महाधिवेशनको सन्देश जनताका बीचमा पु¥याउने कार्यक्रमसँगै देशभर पार्टी प्रवेश अभियान सुरु गर्दै आएको जानकारी दिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले सुरु गरेको निर्वाचन अभियानमार्फत अन्य पार्टीमा आबद्ध हजारौं नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको बताए । ‘कांग्रेस गाउँगाउँ जाँदै छ, यो हाम्रो अभियान नै हो, यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्ताहरू हजारौंको संख्यामा कांग्रेस प्रवेश गर्दै छन्,’ कांग्रेस प्रवक्ता महतले भने ।
कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै २९ फागुनदेखि २९ चैतसम्म १ महिना सञ्चालन गर्नेगरी आइतबारबाटै अभियान सुरु गरेको हो । यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्तालाई आफ्नो दलमा तान्ने कांग्रेसको रणनीति छ । यसका लागि कांग्रेसले ७७ जिल्लामा नै केन्द्रीय कमान्डर खटाइसकेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रलेसमेत स्थानीय तहमा नेताकार्यकर्ता र आफ्नातर्फबाट गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सक्रिय बनाइसकेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले पनि आफ्ना नेताकार्यकर्तालाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन गरिसकेको छ । राजधानी दैनिकबाट
मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत भएकाे पुरुष फुटबल स्पर्धामा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आइतबार हेटौंडाको क्याम्पा रंगशालामा भएकाे खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
त्यस्तै आइतबार नै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला सोझो सेटले विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ब्याटमिन्टन खेलका एकल खेलाडी र डबल खेलाडीबीच ३० खेल खेलाइएको थियो ।
महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने बताइएकाे छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीकाे आयोजनामा शनिबार हेटाैडामा उद्घाटन भएकाे प्रथम प्रदेश खेलकुद प्रतियाेगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको हाे । मकवानपुरमै चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने कार्य तालिका रहेकाे छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद्ले जनाएकाे छ । प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान आयाेजकले गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । बागमती प्रदेश सरकारले मनहरी मलेखु सडकको स्तरोन्नती गर्न १ अर्ब लगानी गर्ने भएकाे छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतीको लागि करिब १ अर्ब लगानी गर्ने योजना बनाएको भाैतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाले बताए । ‘करिब १ अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको छ’ राज्यमन्त्री प्रजाले भने – ‘आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ ।’
राज्यमन्त्री प्रजाले शनिबार मनहरी–मलेखु सडक खण्डको स्थलगत अवलोकन पछी यस वर्ष लोजा–जिनाई खण्डकाे काम गर्नको लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं बताए । मकवानपुरको मनहरी / राक्सिराङ गाउँपालिका हुँदै धादिङको बेनिघाट रोराङ मलेखु जाेड्ने उक्त सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो ।
करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । २ गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको हाे । २ गाउँपालिकाको अगुवाई तथा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुको प्राथमिकतामा उक्त सडकको ट्रयाक पूरा भएपछि हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।