मकवानपुर । गणित बिषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताइएको छ । हेटौंडाको नबोदय शिशु सदनमा भएको म्याथ क्याम्प फायर कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताएका हुन ।
मङ्गलबार नवोदय गणित समूहले गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु पर्ने बताए ।
प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको उनले बताए । ‘गणित कठिन विषय होइन । यसलाई हामी आफैँले कठिनाइ बनाएका हौँ ।’ उनले भने –‘गणितलाई कठिनाइको रुपमा नहेरी सकारात्मक रुपले कार्य पूरा गरेमा नतिजा पनि सकरात्मक आउने छ ।’
नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषयको ज्ञान प्रयोग गर्नु पर्ने बताए । नवोदयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुती तारिफ योग्य रहेको उनले बताए ।
नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्गणमा राखिएको थियो । जसमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीे हलो, ढिक्की र मादल निर्माण गर्दै गणित विषयको प्रयोगको विषयमा प्रस्तुती गरेका थिए । कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए ।
यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्दत मिल्ने भएकोले नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्पफायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्ने र अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए ।
गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम भएको शिक्षक सीएम रिमालले जानकारी दिए ।
मकवानपुर । राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि मकवानपुरमा सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भर्न भनिएको छ ।
सूचनामा अनलाइन फाराम भरिसकेपछी फारममा दिइएको मितिमा मात्र बायोमेट्रिकको लागि सक्कल कागजात सहित कार्यालयमा उपस्थित हुन उल्लेख गरिएको छ ।
नेपाल सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा एकाबिहानैदेखि लाइन बस्नेहरुको घुइचो लाग्ने गरेको थियो ।
अनलाइन फारम भर्नु पर्ने भए पछि कार्यालयमा हुने भिड कम हुने छ भने सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोग्नु नपर्ने भएको छ ।

मकवानपुर । नेपालमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १ सय ६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको छ । संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् । २ जना संस्थागत आइशोलेशन, २ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिका समेत नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४ सय ४४ पुगेको छ । यसै गरि हालसम्म कोरोना संक्रमणबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ रहेको छ । ९ लाख ६७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणिकरण गरेका हुन् ।
गते १६ असारमा बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताए ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९-९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको छ ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२ रुपैयाँ तथा र हवाई इन्धन आन्तरिक तर्फ १ सय ९० रुपैयाँ पर्ने भएको छ ।
भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।

