मकवानपुर । गणित बिषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताइएको छ । हेटौंडाको नबोदय शिशु सदनमा भएको म्याथ क्याम्प फायर कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताएका हुन ।
मङ्गलबार नवोदय गणित समूहले गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु पर्ने बताए ।
प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको उनले बताए । ‘गणित कठिन विषय होइन । यसलाई हामी आफैँले कठिनाइ बनाएका हौँ ।’ उनले भने –‘गणितलाई कठिनाइको रुपमा नहेरी सकारात्मक रुपले कार्य पूरा गरेमा नतिजा पनि सकरात्मक आउने छ ।’
नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषयको ज्ञान प्रयोग गर्नु पर्ने बताए । नवोदयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुती तारिफ योग्य रहेको उनले बताए ।
नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्गणमा राखिएको थियो । जसमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीे हलो, ढिक्की र मादल निर्माण गर्दै गणित विषयको प्रयोगको विषयमा प्रस्तुती गरेका थिए । कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए ।
यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्दत मिल्ने भएकोले नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्पफायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्ने र अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए ।
गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम भएको शिक्षक सीएम रिमालले जानकारी दिए ।

