मकवानपुर । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा आबद्ध ५ दल सहमत भएका छन् ।
निर्वाचन आयोगले भने गत २२ असारमा नै मंसिर २ मा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध ५ दलको बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।
यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो । यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।
आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गर्दै आएको छ । आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।
२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ । निर्वाचनको मिति घोषणा भएपछि भने नामावली दर्ता रोकिने कानुन छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।
मकवानपुर । साइनो वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवमा “साइनो सौरभ” विमोचन गरिएकाे छ । प्रतिष्ठानको आयोजनामा तेस्रो साइनो वार्षिकोत्सवको अवसर पारेर संयुक्त साइनो संग्रह “साइनो सौरभ” को विमोचन गरिएकाे हाे ।
प्रतिष्ठानकी अध्यक्ष डा.सीता सुवेदी पन्थीको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता प्रमुख प्रा.डा.देवी नेपाल, कवि एवं समालोचक प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.डा.षडानन्द पौड्याल, प्रा.डा.गार्गी शर्मा, डा.यज्ञेश्वर निरौला, डा.बमबहादुर थापा “जिताली” एवं साइनोका प्रणेता छायादत्त न्यौपाले संयुक्त रूपमा प्रतिष्ठानको दोस्रो कोसेली “साइनो सौरभ” को विमोचन गरिएकाे हाे।
साइनोका प्रवर्तक श्री छायादत्त न्यौपानेबाट प्रथम साइनो प्रसारण भएको मिति साउन सोह्र गतेलाई साइनोको आधिकारिक जन्म भएको मानिएकोले यसै मितिमा साइनोको वार्षिकोत्सव मनाउन थालिएको बताए । प्रा.डा.देवी नेपालबाट विमोचित कृतिको समीक्षागत टिप्पणी गरिएको थियो । अतिथिबाट साइनोबारे विचार विमर्श गरिएको थियो ।
“साइनो सौरभ” मा ३० जनाकाे साइनाे प्रकाशित छन् । “साइनो सौरभ” मा कपिल किशोर घिमिरे, कमला गौतम, केशव ज्ञवाली ‘आगत’, खेमलाल पोखरेल, घनबहादुर थापा, चन्द्रावती अधिकारी, चिरञ्जीवि ढकाल, छायादत्त न्यौपाने बगर, तोयानाथ चापागाईँ, दुर्गाप्रसाद कोइराला, पशपति राई, प्रधुम्न चालिसे, प्रमोद भट्टराई ‘प्रतीक’, प्रीति आत्रेय ज्ञवालीका साइनाे प्रकाशित छन् ।
यसैगरी बलराम सुवेदी, बालकुमार क्षेत्री ‘साइनो’, राजेन्द्र घिमिरे, लक्ष्मण धामी, वासुदेव ज्ञवाली, विष्णुप्रसाद पन्त, विष्णु दाहाल, शान्ता पन्थी ‘शान्तिदीप’, शेखर अर्याल, डा.शेखरकुमार श्रेष्ठ, सरिता पराजुली, सविता के.सी, सीता पाण्डेय मरासिनी, डा. सीता सुवेदी पन्थी, सुरेन्द्र शाही ‘गुलाब कान्छो’ र हरिप्रसाद चौलागाईंका साइनोहरू प्रकाशित छन् । पुस्तकमा सबै नेपाली साइनोहरू प्रकाशित भएका छन् । प्रीति आत्रेय ज्ञवालीको भने नेपाली, संस्कृत र अंग्रेजी गरी तीन भाषामा साइनोहरू प्रकाशित छन् ।
प्रतिष्ठानका सचिव शेखर अर्यालद्वारा संचालित उक्त कार्यक्रममा सल्लाहकार केशव ज्ञवालीबाट स्वागत मन्तव्य र महासचिव बालकुमार क्षेत्रीबाट साइनोको विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै सल्लाहकार हरिप्रसाद चौलागाईँ, कोषाध्यक्ष शान्ता पन्थी, सदस्य प्रीति आत्रेय ज्ञवाली, शान्ता पौडेल र लक्ष्मण धामीबाट साइनोहरूको वाचन गरिएको थियो ।
सदस्य डा.शेखर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएकाे कार्यक्रममाा विभित्र साहित्यिक तथा अन्य संघ संस्था एवं प्रतिष्ठानबाट साहित्यकार तथा साहित्य अनुरागीलगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मधेस प्रदेशमा बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको पाइएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेसकाे उक्त कार्यक्रममा छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गरेकाे हाे ।
साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई, सह लेखापाल, ओम सत्य साई प्रालि वीरगन्ज सहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य ४ जना गरी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रदेश सचिव भुसालको हकमा १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरिएको छ । भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदाबी लिइएको छ ।
यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख सीडीई भगवान झाले तत्कालीन मूल्यांकन समितिको सदस्य समेत रहेर फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेको अख्तियारको भनाइ छ । उनीमाथि पनि समान १० करोड ३३ लाख ७५८ रुपैया बिगो मागदाबी गरिएको छ भने सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो,भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिवाना माग दावी भएको छ।
यस्तै ओम सत्य साईकी रेनु अग्रवालमाथि पनि सम्झौता अनुसारको सर्त पालना नगरी प्रदेश सरकारलाई हानी नोक्सानी पार्ने काममा भूमिका खेलेको पाइएकाले १० करोड ३३ लाख ७५८ रुपैयाँ नै मागदाबी भएको छ।
यस्तै साइकल खरिदबारेकै अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरु उपसचिव दिलिप कुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सह लेखापाल राजाराम मण्डलमाथि मापदण्ड नपुग्दा समेत बदनीयतपूर्ण भूमिका खेलेकाले दोषी किटान गरी मुद्दा दायर गरिएकाे अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्लामा २८ जनामा डेङ्गु संक्रमण पुष्टि भएकाे छ । जिल्लामा पछिल्लो समय डेङ्गुको संक्रमण फैलँदै गएको हाे । १५ दिनकाे अवधिमा २८ जनामा डेङ्गु संक्रमण पुष्टी भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।
यस वर्ष साउनको दोस्रो सातासम्म २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा धेरै डेङ्गु संक्रमण पुष्टी भएकाे घिमिरेले बताए ।
हेटौंडा उपमहानगर बाहेक अन्य २ स्थानीय तहमा डेङ्गु भेटिएको घिमिरेले बताए । हेटौंडामा सबैभन्दाबढी संक्रमितहरु वडा नम्बर ४ र ५ का रहेका छन् । संक्रमित हरुको हाल उपचार भइरहेको छ । संक्रमितहरु मध्ये १ जनामा कालाजार र ९ जनामा स्क्रबटाइफसको संक्रमण भएको घिमिरेले बताए । कालाजार संक्रमित भने मनहरी गाउँपालिकाका रहेका छन् ।
गत आर्थिक वर्षमा १ सय ९५ जनामा डेङ्गू संक्रमण भएको थियो । त्यस्तै स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । डेङ्गू संक्रमण बढ्ने क्रममा भएकाले सुरक्षित रुपमा बस्न स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेकाे छ ।
डेङ्गु रोग के हो ?
डेङ्गु रोग Aedes प्रजातीका लाम्खुट्टेबाट सर्ने एउटा भाइरल रोग हो। डेङ्गु रोग लगाउने जीवाणु फ्लाभी भिरिडे भन्ने परिवरको डेङ्गु भाइरस (जिवाणु) ४ अलग अलग प्रकारको (serotype) हुन्छ, ती हुन DENV-1, DENV-2, DENV-3 र DENV-4 । भन्नूको मतलब कुनै एक व्यक्तिलाई जीवनभरमा ४ अलग अलग चोटि यो रोग लाग्न सक्छ। मानौ तपाईंलाई आज DENV-1 ले बिरामी पार्यो भने तपाईं निको भए पछी फेरि DENV-1 ले जीवन भर डेङ्गु लगाउन सक्दैन तर अन्य DENV-2, 3 र 4 ले भने फेरि लगाउन सक्छन् तर एकपटक जून प्रकारले लगायो त्यस्ले फेरि भने लगाउदैँन। डेङ्गु रोग सामान्यतया सजिलै उपचार गर्न सकिने रोग हो।
विश्व स्वास्थ संगठनको परिभाषा अनुसार यो रोगलाई तीन तरिकाले बिभाजन गरिन्छ।
पहिलो डेङुगु ज्वरो ( Dengue Fever), दोस्रो डेङ्गु हेमोर्याजिक फिबर (Dengue Hemorrhagic Fever) र तेस्रो डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।
१. खतराको संकेत बिनाको डेङ्गु ज्वरो (Dengue Fever Without Warning Signs)
२. खतराको संकेतसहितको डेङ्गु ज्वरो (Dengue Fever With Danger Signs)
३. अत्ति गम्भीर अवस्थाको डेङ्गु (Severe Dengue)
डुङ्गु रोग सामान्यतया ८ देखी १० दिनमा निको हुने गर्छ। कुनै खास औषधीले यसको उपचार गरिने होइन। तर बिरामीको शरिरमा पानीको मात्रा घट्न नदिन भने धेरैख्याल गर्नु पर्छ।
लाम्खुट्टेले एउटाले एकै पटक टोकेपनि यो रोग सर्छ तर त्यसका लागि लाम्खुट्टे आफूले यो जीवाणु बोकेको हुनु पर्यो। लाम्खुट्टेले टोकेको औसत ३ देखि ७ दिनमा यो रोगको लक्षण देखा पर्छ। यो समय व्यक्तिको शरीरमा भएको रोग सँग लड्ने क्षमतामा भर पर्छ। डेङ्गु लागेको व्यक्तिलाई ज्वरोसुरु भएको १ दिन अगाडी र ६-७ दिन पछी सम्म लाम्खुट्टेले टोक्दा यो रोगको जीवाणु लाम्खुट्टेमा सर्छ। लाम्खुट्टेमा सरेको ६-८ दिनमा यो जीवाणु लाम्खुट्टेका र्याल ग्रन्थीमा गुणात्मकरुपमा वृद्धि हुन्छ। र यसले स्वस्थ व्यक्तिलाई टोक्दा अब डेङ्गु सर्छ। डेङ्गु लगिसकेको लाम्खुट्टेले उसको जीवन भर डेङ्गु सार्न सक्छ तर उसलाई भने यो रोगले कुनै नकारात्मक असर पर्दैन।
डेङ्गु रोगका लक्षणहरु के हुन्?
पहिलो:– डेङ्गु ज्वरो (Dengue Fever) रोगको सुरुमा एक्कासि हनहनी ज्वरो आउनु यो रोगको पहिलो लक्षण हो। (स्मरण रहोस् कहिलेकाही ज्वरो नआइ नै पनि डेङ्गु भएको हुन सक्छ।)
अन्य लक्षणहरु:
१. टाउको दुख्नु
२. आँखाको गेडोको वरिपरि वा पछाडितिर दुख्नु
३. जीउ दुखनु (अत्यधिक जिउ दुख्ने भएकाले डेङ्गुलाई (Break Bone Fever) हाड भाँच्ने ज्वरो पनि भनिन्छ।)
४. जिउ थकित हुनु
५. जिउमा मसिनो (सियोको टुप्पो झैँ सानो) आकारको रातो दाग आउनु
६. बान्ता हुनु र होला जस्तो हुनु
७. खाना रुचि नहुनु
८. झाडापखाला हुनु
९. मन्द पेट दुख्नु
यी सबै लक्षण अरु रोगमा नि हुने गर्छ त्यसैले नहिच्किचाइ ज्वरो आउन साथ अस्पताल जानु पर्छ। यदि तपाईंको छरछिमेकमा कसैलाई डेङ्गु भएको भए आफ्नो डाक्टरलाई भन्नुस्, अथवा तपाई डेङ्गु रोग लगेको भनिएको ठाँउ घुम्न जानु भएको थियो भने त्यो नि भन्नुस्।
दोस्रो:- डेङ्गु हेमोर्याजिक फिबर (Dengue Hemorrhagic Fever) २ देखी ७ दिन सम्मको ज्वरो, माथि भनिएका लक्षण र तलका लक्षणहरु साथमा आए त्यो डेङ्गु हेमोर्याजिक फिबर हुन्छ।
१. पेट धेरै दुख्नु
२. लगातार बान्ता हुनु
३. गिजाहरुबाट खुन बग्नु
४. नाथ्री फुटेको झैँ नाकबाट रगत आउनु
५. प्यास धेरै लाग्नु, खटपट/छट्पटी हुनु
६. दिशा कालो हुनु
ल्याब रेपोर्टमा शरीरमा खुनको बाक्लोपना बढेको देखिनु, खुन जम्न मद्दत गर्ने platelet प्लेट्लेटको मात्रा घटेर १००,००० cells/mm3 भन्दा कम हुनु।
तेस्रो:- डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) डेङ्गु रोगको गम्भीर अवस्था हो यो। माथीका सम्पुर्ण लक्षणहरुका वा केही लक्षणहरुका साथमा तलको कुनै लक्षण संगै आए डेङ्गु शक सिन्ड्रोम भएको भन्ने बुझिन्छ।
१. रगतका नसाहरुबाट पानी र खुन जमाउने पदार्थहरु भएको प्लास्मा Plasma लिक भएको प्रमाण भेटिनु (प्रमाणके हुन् भन्ने कुरा तपाईको डाक्टरले जान्ने छन्)।
२. रक्तचाप (B.P.= Blood Pressure) घटेर जानु, नाडीमा धड्कनको चाल बड्नु र धड्कन कमजोर हुनु
३. फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या आउनु
४. पेटमा अत्यधिक खुनबगेको प्रमाण अथवा खुन बान्ता हुनु
५. विभिन्न अङ्गहरु मुटु, मृगौला, कलेजोहरुले काम गर्न छोडनु
यी सबै अवस्थाहरुमा डाक्टरहरुले आवस्यकता अनुसार प्रयोगशालामा विभिन्न समय समयमा रगतका जाँच, एक्स-रे, अल्ट्रासाउन्ड आदि गर्ने गर्छन्। साथै डेङ्गु रोग प्रमाणित गर्न केहि रगत परिक्षण पनि गरिन्छ। सुन्दा कहिँ डरलागे पनि समयमा ज्वरो आउनसाथ डाक्टरलाई देखाए यो रोग दोस्रो तेस्रो अवस्थामा पुग्दैन।
डेङ्गु लग्दा पहिलो १ देखि ५-७ दिन ज्वरो आउँछ, जब ज्वरो घट्छ तब को २-३ दिन एकदमै चनाखो हुनु पर्छ किन कि त्यो समय शरीरमा पानीको कमि, रगत बग्ने आदि हुनसक्छ त्यस पछीको १-२ दिन बिरामीको स्वास्थ सामान्य बनेर जान्छ।
रोगको उपचार के हो?
प्रसस्त पानी पिउने, बेड रेस्ट (आराम गर्ने) शारीरिक बल पर्ने काम गर्दै नगर्ने, ज्वरो आउन नदिन औषधि खाने, अस्पतालमा भए सलाइन पानी दिने, यदि रोग दोस्रो वा तेस्रो अवस्थामा पुगे बिरामीलाई रगत पनि दिनु पर्ने हुन सक्छ।
डेङ्गु लागेको शंका हुन साथ कालो चक्लेट, खुन र डडाएको मासुहरु खानु हुन्न। यी खानाले दिसा कालो हुने भएकोले पेटमा कतै रगत पो बगेको हो कि भनेर झुक्किन सक्छ। लक्षणहरुमा माथी डेङ्गु हेमोर्याजिक फिबरमा भएका लक्षण नभए बिरामीको उपचार अस्पताल भर्ना नगरी बहिरंग सेवा मै गरेर घर पठाउन सकिन्छ। तर फेरि पनि पहिला डाक्टरको सल्लाह लिनुपर्छ।
यो रोग बाट कसरी बच्ने?
यो रोगबाट बच्न पहिला लाम्खुट्टेको टोकाइ बाट बच्नु पर्यो। त्यस्का लागि तलका उपायहरु अपनाउनु पर्छ।
१. लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने।
२. पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने।
३. स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने/मार्ने औषधि छर्किने।
४. हातखुट्टामा लाम्खुट्टे भगाउने लोसन/कृम लगाउने।
५. साझ पर्न लग्दा ४ बजे अपरान्ह पछी घरका झ्यालहरु बन्द गर्ने, अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न/खेल्न नदिने।
६. कुनैपनि माथी उल्लेख लक्षण देखिन साथ अस्पताल वा नजिकको डाक्टरलाई देखाउने।
७. Citrus fruits भिटामिन सि पाइने फलफूलहरु खाइ रहने।
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’’bout छलफल नै भएको छैन ।
कसको कति दाबी ?
कांग्रेस– ८० देखि ९० सिट
माओवादी केन्द्र– ५० बढी
जनता समाजवादी–३०
नेकपा एकीकृत समाजवादी–३०
राष्ट्रिय जनमोर्चा–५
कांग्रेस नेता रामचन्द्र पौडेलले ‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँट’bout छलफल सुरु गर्ने’ जानकारी दिए ।
‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ,’ उनले थप प्रस्ट पार्दै राजधानीसँग भने, ‘सबै दल त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सिट बाँडफाँट’bout छलफल सुरु गर्छौं ।’
निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ । तर, गठबन्धनभित्र निर्वाचन मिति विषयमा पनि छलफल भएको छैन । स्रोतका अनुसार ४ मंसिरमा निर्वाचन गर्ने सरकारको तयारी छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ ।
‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’
गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।
त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ ।
सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन् ।
प्रधानमन्त्रीमा प्रचण्डको दाबी
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि सरकारको नेतृत्व विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच होडबाजी सुरु भएको छ ।
कांग्रेसले आगामी निर्वाचनबाट एक्लै बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबी गरिसकेको छ भने माओवादी केन्द्रको नेतृत्वले पनि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने विषयमा इच्छा देखाउन थालिसकेको छ ।
गत १० असारमा नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘तेस्रोपटक प्रधानमन्त्री हुने’ इच्छा व्यक्त गरेका थिए । गत शनिबारसमेत पार्टीको एक कार्यक्रममा उनले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने र माओवादी केन्द्र दोस्रो भएमा एकपटक फेरि सरकारको नेतृत्व हातमा आउने तथा आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने’ बताए ।
‘आउने चुनावमा तालमेल हुन्छ, हामी दोस्रो हुनेगरी तालमेल भएमा सत्ता हाम्रै हातमा आउँछ, यो नै मेरो लास्ट इनिङ्स हुनेछ,’ प्रचण्डले भनेका छन्, ‘यसपटक मैले पछिसम्मको सन्ततिले सम्झिनेगरी देशलाई केही चिज दिने सपना लिएको छु ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले भने सरकारको नेतृत्व निर्वाचनको परिणामले नै तय गर्ने बताए । ‘प्रधानमन्त्रीमा सबैले चासो राख्नु स्वाभाविक हो, निर्वाचन परिणामले नै अबको प्रधानमन्त्रीको तय हुने हो,’ उनले भने, ‘आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वाभाविक दाबी रहन्छ ।’ राजधानी दैनिकबाट
