राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको छ । संसदले दोस्रो पटक पारित गरेर स्वीकृतिको लागि सो विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।
राष्ट्रपतिले मंगलबार राती १२ बजेसम्म पनि सो विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको हो । संसद्बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपनि राष्ट्रपतिले भने सो विधेयक राष्ट्रिय स्वाभिमान विपरित रहेको भन्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन् ।
राष्ट्रपतिको सो कदम पछि समर्थन र विरोधमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझाव सहित पुनर्विचार गर्नका लागि फर्काएकी थिइन् तर संसद्ले राष्ट्रपतिको सुझावलाई पुरै वेवास्ता गर्दै दोस्रोपटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि उनी कहाँ दोस्रोपटक पेस भएको मंगलबार राती १२ बजे १५ दिन नाघेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नागरिकता विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस भएको मंगलबार संविधानले तय गरेको १५ दिन पुगेको जानकारी दिए । राष्ट्रपति कार्यालय स्रोतले सो विधेयक प्रमाणिकरण नभएको जानकारी दियो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोस्रोपटक पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो । नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचार गर्न आवश्यक ठानेर गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उक्त सन्देशसहितको विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएर जस्ताको तस्तै पारित भएको थियो ।
यस क्रममा राष्ट्रपतिले विभिन्न कानुनविद् तथा नागरिक समाजका अगुवा सँग समेत विधेयकका ’boutमा छलफल गरेकी थिइन् । नागरिक अगुवाहरुले सो विधेयक यही अवस्थामा कुनै हालतमा पनि प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।
राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक संसदमा नै फिर्ता गर्दा लेखेको सन्देशमा वैवाहिक अंगीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्न हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गरेकी थिइन् ।
उनको सबैभन्दा ठुलो असहमति नै वैवाहिक अंगीकृत नागरिकता र आमाको नामबाट नागरिकता लिँदा सरकारी अधिकारीसामू गर्नुपर्ने स्वघोषणाको विषय थियो ।यो विषयलाई पुर्नविचार गर्नुपर्ने सुझाव राष्ट्रपतिको थियो तर संसदले राष्ट्रपतिको सो सुझावलाई पूर्ण रुपमा वेवास्ता गरेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । हाल मकवानपुर जिल्लाकाे अधिकाश भागमा बर्षा भइरहेकाे छ । बागमती प्रदेशमा सामान्य वदली रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा साेमबार साँझ परेकाे वर्षाकाे कारण त्रिभुवन राजपथ अवरुद्ध भएकाे छ । भिमफेदी १ काे बागझाेरा खाेलामा आएकाे बाढीकाे कारण यातायता अवरुद्ध भएकाे हाे
मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेकोले हाल प्रदेश १, मधेश प्रदेशमा समेत सामान्य बदली रहेका तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
महाशाखाका अनुसार सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले असोज ४ गते मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ जनाएकाे छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी असोज ५ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकाे छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहने साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले आग्रह गरेकाे छ।
मकवानपुर । नेपाली चलचित्र ‘ऐना झ्यालकाे पुतली’ ओस्कार अवार्डकाे लागि सिफारिस भएकाे छ । मकवानपुरे निर्देशक सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिफारिस गर्ने निर्णय गरेको हाे ।
विमल पौडेलको अध्यक्षतामा रहेकाे आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन सूचना प्रकाशित गरेकाे थियाे । नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्तिमा जनाइएको छ ।
ओस्कर अवार्ड आगामी १२ मार्चमा लस एञ्जल्सको डल्बी थिएटरमा हुनेछ । नेपालमा पौडेलको अध्यक्षतामा इन्टरनेसनल फिचर फिल्म छनोट समिति समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् । ऐेना झ्यालकाे पुतली गत भदाै २४ गतेबाट सिनेमा हलहरुमा प्रदर्शनमा आएकाे हाे ।
मकवानपुर । मकवानपुरको बकैयामा खाेलामा डुबेर एक जानकाे मृत्यु भएकाे छ । बकैयाकाे ल्वाजाेर खाेलामा डुबेर एक युवकको ज्यान गएको हाे।
सोमबार दिउँसो बकैया-४ बाममारामा रहेको ल्वाजोर खोलामा नुहाउन गएका तामाखोला बस्ने बिष्णु बहादुर खत्रीको भान्जा भरतपुर -१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा १६ बर्षीय सचिन थापाकाे खोलाको डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते सचिनकाे प्रहरी चौकी हात्तिसुँडेकाे प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगिएकाे थियो । छतिवनमा उपचार पश्चात् थप उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले दिउँसाे ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।
मकवानपुर । आज असोज ३ गते संविधान दिवस । संविधानसभाबाट संविधान पारित भइ नेपालको संविधान जारी भएकाे दिन । संविधान दिवस २०७९ काे अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छन् ‘संविधानसभाबाट संविधान पारित भएकोमा हामी गौरवबोध गर्दछौं ।’
साेमबार शुभकामना सन्देश जारी गर्दै शर्माले भनेका छन् ‘नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेका छौं।’ ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा संविधान दिवस’ मनाउने गर्दछौं । यस सुखद् अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माले सन्देशमा भनेका छन् ।
‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरस : पालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो । साथै, संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता हो’ शुभकामना सन्देशमा भनिएकाे छ ।
संविधान दिवसकाे शुभकामनामा उनले भनेका छन् ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान पारित भएकोमा यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।’ प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गर्दै दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन् ।

