मकवानपुर । नेपाली चलचित्र ‘ऐना झ्यालकाे पुतली’ ओस्कार अवार्डकाे लागि सिफारिस भएकाे छ । मकवानपुरे निर्देशक सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिफारिस गर्ने निर्णय गरेको हाे ।
विमल पौडेलको अध्यक्षतामा रहेकाे आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन सूचना प्रकाशित गरेकाे थियाे । नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्तिमा जनाइएको छ ।
ओस्कर अवार्ड आगामी १२ मार्चमा लस एञ्जल्सको डल्बी थिएटरमा हुनेछ । नेपालमा पौडेलको अध्यक्षतामा इन्टरनेसनल फिचर फिल्म छनोट समिति समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् । ऐेना झ्यालकाे पुतली गत भदाै २४ गतेबाट सिनेमा हलहरुमा प्रदर्शनमा आएकाे हाे ।

