मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेले मकवानपुरबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ ।
राप्रपा नेपालसंग गठबन्धन गरेर सूर्य चिन्हमा कमल थापाको उम्मेदवारी पक्का भएको बहस चल्दै गर्दा एमाले मकवानपुरले निर्वाचनमा उम्मेदवार हुनेकाे आधिकारिक नाम सार्वजनिक गरेको हो । एमाले मकवानपुरका अनुसार मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना नाममा टिकट टुंङ्गिएकाे छ । प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तरगत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठकाे नाम टुंङ्गाे लागेकाे हाे ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा महेश बर्तौलाको नाममा टिकट पक्का भएकाे एमाले मकवानपुरले जनाएकाे छ । प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्तरगत प्रदेश सभा ‘क’ मा विष्णु प्रसाद ढकाल तथा प्रदेश सभामा ‘ख’मा लालबहादुर थापाकाे उम्मेदवारीकाे लागि नाम टुंङ्गिएकाे हाे । एमालेबाट टिकटको फाईनल लिष्ट आएको बताउँदै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी अब चुनावी अभियानमा लाग्ने बताए ।
बडादशै मनाउंदै गर्दै पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । यसैबीच पर्व मनाउने सन्दर्भमा गाउँघर पुगेका नेताहरूले मतदाता घरभेट कार्यक्रमलाई तिव्रता दिएका छन् । दशै सकिना साथ २३ असोज अर्थात् कोजाग्रत पुर्णिामा कै दिन उम्मेदवारी दर्ता भएकोले पनि नेताहरू चुनावीको चटारोले छोएको छ ।
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बारा जिल्लाको अमलेखगञ्जस्थित तीन नम्वर पुल नजिकैको सडक खण्डमा विहीबार विहान भएको बस दुर्घटनामा हालसम्म १६ जनाले ज्यान गुमाएका छन ।
मृत्यु भएका मध्ये १२ जनाको सनाखत भएको मकवानपुर प्रहरीले जनाएको छ । ४ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता बलराम श्रेष्ठले जानकारी दिए ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्जको तीन नम्वर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको बताइएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर– २ बस्ने वर्ष ४० को लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कंडेलका १४ वर्षीय छोरा सफल कँडेल रहेका छन् ।
त्यस्तै पर्साको वीरजंग महानगरपालिका वडा नम्वर १६ वस्ने वर्ष ६५ को सोमबहादुर चौरसिया, सोही स्थान बस्ने वर्ष ३५ की मन्निदेवी चौरसिया, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौंडा ७ कै २० वर्षकी स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १० बस्ने वर्ष ३५ की नाजलिन खातुन, कलैया १० बस्ने इजाजत अन्सारी, बाराकै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बस्ने वर्ष २८ को सुरेश विक रहेका छन् ।
सोही दुर्घटनामा परी सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर ५ बस्ने ५० वर्षका सन्तोष कुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक स्याङजा आदिखोला गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष ४० का कोदिप्ति नारायण ढकालको भने हेटौंडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए ।
बस ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नंबर ६ मा घर नजिकैको ढिस्को खसेर पुरिदा ४७ वर्षका तोकबहादुर चेपाङको मृत्यु भएको छ । वडा नंबर ६ मागेनीमा रहेको घरमा एक्लै बसेको अवस्थामा एक्कासी ढिस्को खसेर पुरिदा उनको ज्यान गएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका वडा नंब ३ मा रहेको कालिखोलाले बगाउँदा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको ज्यान गएको प्रहरीको भनाई छ ।
मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगे लगत्तै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।
उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् ।
सन्दीपको क्रिकेट यात्रा
२२ वर्षीय सन्दीपले छोटो समयमै सफलता प्राप्त गरे । विश्वभरीकै फ्रेन्चाइज्ड लिग खेल्ने अवसर पाउनु, करोडौ आम्दानी अनि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जस्तो जिम्मेवारी, यो सबै सन्दीपले निकै छोटो समयमै पाएको सफलता हो ।
तर सफलता प्राप्तिसँगै उनी पछिल्लो समय विवादित समेत बन्दै आएका थिए । अझ बलात्कारको आरोप लागेपछि सन्दीपले विदेशी फ्रेन्चाइज्ड लिगमात्र गुमाएका छैनन्, नेपाल क्रिकेट संघ (क्यान) ले उनको जिम्मेवारी खोस्नुका साथै उनलाई निलम्बन समेत गरेको छ ।
सन्दीपको स्थायी घर स्याङ्जा हो । उनले सन् २०१६ मा १६ वर्षकै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाए । बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपका क्रममा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनको चर्चा चुलियो ।
त्यसपछि उनले सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिज खेल्दा गरेको प्रदर्शनका कारण अष्ट्रेलियन क्रिकेटर माइकल कलार्कले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर जुराइदिए ।
सन् २०१८ मा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि आवद्ध भए । आईपीएल खेल्ने उनी पहिलो खेलाडी बने । उनी सन् २०२० सम्म दिल्लीमा आवद्ध भए ।
२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । विदेशी लिगहरुको यात्रा अझैसम्म जारी थियो । तर बलात्कारको आरोप लागेपछि उनलाई भर्खरै क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट निकाल्यो ।
त्यतिमात्र नभएर क्यानले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपकै कप्तानीमा नेपालले ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट खेल्यो भने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ पनि खेलिरहेको थियो ।
सन्दीपले ३० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६९ विकेट लिएका छन् । उनले एकदिवसीयको एकै इनिङ्समा ११ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका छन् । ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारेका सन्दीपले एकै इनिङ्समा ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका छन् ।
अब उनको क्रीकेट यात्रा लागेको आरोप छिटो प्रामाणित नभए मात्र अघाडी बढने देखिन्छ ।
भरत गुरागाई बर्बरिक
कहिले रुखमा घाँस काट्दाकाट्दै झरेर
मरेका मेरा बालाई सम्झिँदै रुन्छ्यौ,
कहिले परदेशमा मरेका
मेरा दाजुलाई सम्झेर रुन्छ्यौ,
कहिले भिनाजुले हेला गरेपछि
सहन नसकेर झुण्डिएकी
मेरी दिदीलाई सम्झेर रुन्छ्यौ,
तिमी सधैँ रोइ मात्र रहन्छ्यौ आमा !
तिम्रो ओठमा मुस्कान कहिले छाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
भयो,
अब त नरोइदेऊ न आमा !
दसैंमा भ्याइँदैन भनेर
सिस्ने कान्छीहरूले
घाँस-दाउराको जोहो गरिसके,
उता बिहानै भाले बास्न नपाउँदै
वस्ती बाको ढिकीमा गाउँलेहरूले
चिउरा कुटेको
भक्रङ भक्रङ आवाज आउँछ,
घर चिटिक्क पारेर लिप्न
कमेरो लिएर आइसके डाँडाघर्नीहरू,
उता रिजालकोमा यत्रो बाकटे खसी
ल्याइसके दसैँं मनाउन,
नेवार कान्छा चुलेंसी र खुकुरी बोकेर
सिराने जेठाको आरनतिर
जाँदै थिए धार लगाउन,
दुनियाँ खुशीमा रमाएको बेला
तिमी आँसुमै डुबिरहन्छ्यौ,
भन न आमा !
तिम्रो छातीमा कति गहिरो घाउ छ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?
बलेंसीबाट पानी झर्दैन
घरभित्रै धररर गर्छ,
पुर्पुरोमा हात राखेर सुस्केरा छोड्छ्यौ
तिम्रै थाप्लोबाट पसिना तररर झर्छ,
हामीलाई खाना दिँदा
आफू एकछिनमा खान्छु भन्दै
उता फर्किएर रित्तो भाँडोमा
आँसु झारेको देखेको छु मैले,
मुखियाकी स्वास्नीले राँडी भनेर दाह्रा किट्दा
आकाशतिर फर्किएर
ईश्वर पुकारेको सुन्या छु मैले,
आँसुको बाढीमा डुब्दाडुब्दा
तिम्रो शरीर नै नुनिलो भैसक्यो,
मतिर फर्किएर
एकपल्ट भनिदेऊ न आमा !
हाम्रो घर अघिल्तिरको
बकैनाको रुखमा बसेर
कोइलीले कहिले गीत गाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
पोहोर पनि यस्तै गर्यौँ
थाहा नपाए जस्तो गर्याथेँ
र
हरियाको कोठेबारीमा पसेर
एक्लै रुँदारुँदा त्यहीँ निदाएथेँ,
तिम्रो आँसुको पुस्तक बोकेर
उज्यालो खोज्दै झर्याथेँ तल चुलीबनसम्म,
अहिले मेरा साथीहरू लिङ्गेपीङमा
चचहुई चचहुई गरिरहँदा
म भने तिम्रो पीरले हल्लिएको छु,
यो दसैँंमा
अर्थोक जे भए पनि
तिमी त्यो फाटेको चोलो फेर न,
तिम्रो बुबू मैले देख्दा त केही हुन्न
दुनियाँले रमिता ठान्छन्
अनि तिमीलाई
पागल र बाइफाले भनेर
बाँच्दै दिँदैनन् आमा !
तिम्रो बच्चा म
बरु नाङ्गै खेलुँला तिम्रो काखमा
एकपल्ट त हाँसिदेऊ,
भन न आमा !
अरु घरमा जस्तै हाम्रो आँगनमा
मालसिरीको धून कसले गुन्जाउँछ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?
झोराहाट, मोरङ
फिकौली डटकम बाट
