मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बारा जिल्लाको अमलेखगञ्जस्थित तीन नम्वर पुल नजिकैको सडक खण्डमा विहीबार विहान भएको बस दुर्घटनामा हालसम्म १६ जनाले ज्यान गुमाएका छन ।
मृत्यु भएका मध्ये १२ जनाको सनाखत भएको मकवानपुर प्रहरीले जनाएको छ । ४ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता बलराम श्रेष्ठले जानकारी दिए ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्जको तीन नम्वर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको बताइएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर– २ बस्ने वर्ष ४० को लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कंडेलका १४ वर्षीय छोरा सफल कँडेल रहेका छन् ।
त्यस्तै पर्साको वीरजंग महानगरपालिका वडा नम्वर १६ वस्ने वर्ष ६५ को सोमबहादुर चौरसिया, सोही स्थान बस्ने वर्ष ३५ की मन्निदेवी चौरसिया, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौंडा ७ कै २० वर्षकी स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १० बस्ने वर्ष ३५ की नाजलिन खातुन, कलैया १० बस्ने इजाजत अन्सारी, बाराकै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बस्ने वर्ष २८ को सुरेश विक रहेका छन् ।
सोही दुर्घटनामा परी सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर ५ बस्ने ५० वर्षका सन्तोष कुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक स्याङजा आदिखोला गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष ४० का कोदिप्ति नारायण ढकालको भने हेटौंडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए ।
बस ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

