मकवानपुर । मकवानपुरको हेटौंडामा कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौंडा–११ थानाभर्याङमा कारको ठक्करबाट पैदल यात्री ३८ वर्षिय शम्सेर सिंह नेगीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नंबरको कारले हेटौंडा ३ बसामाडीका नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका नेगीको उपचारको क्रममा गएराती पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कारसहित चालक नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध २६ बोतल वनरेक्स सहित २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको मोटरसाइकल आइतबार चेक गर्दा उनीहरु लागूऔषध सहित पक्राउ परेका हुन् । उनीहरुले मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर ल्याएको अवस्थामा २६ बोतल वनरेक्स फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावकाे लागि मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन तालिका अनुसार असाेज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकामा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । निर्वाचन तालिका अनुसार सोमबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने भए पनि मकवानपुरमा कुनै उजुरी नपरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
आयोगले उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बुधबार २६ गते तोकेको छ । यस्तै २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाको ३ सय ३० सिटका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।
– प्रतिनिधिसभामा २ हजार ४ सय ७३, प्रदेशमा ३ हजार ३ सय ९३
– उम्मेदवारी उत्साहजनक : आयोग
आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि उम्मेदवारलाई मनोनयनको समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार रातिसम्म उम्मेदवारी दर्ता कार्य जारी रहेकाले यो मनोनयन गर्नेको संख्या बढ्न सक्नेछ ।
तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य राति अबेरसम्म जारी रहेको आयोगले जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ । जसका कारण मनोनय गर्नेको संख्या केही बढ्ने देखिएको हो ।
आयोगका अनुसार आइतबार रातिसम्म प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २ सय ९३ महिला र १ अन्य गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवाको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम छ । सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन तालिका छ । सोही तालिकाअनुसार कार्य अगाडि बढाइएको आयोगले जनाएको छ । राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १ हजार ८ सय ८२ जना पुरुष र १ हजार ४ सय ७६ जना महिलामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । आइतबार थप १७ जना संक्रमित हेटौंडामा थपिएसँगै संक्रमितको कूल संख्या २ हजार ७ सय ९५ जना पुगेको छ ।
यस्तै, आइतबार नै थाहानगरपालिकामा थप २५ जना संक्रमित थपिएसँगै कूल संक्रमित १ सय पुगेको छ । यसैगरी, हालसम्म मकवानपुरगढीमा ५४ जना, बागमती र कैलाश गाउँपालिकामा ६/६ जना, मनहरी गाउँपालिकामा ३ सय १२ जना, इन्द्रसरोवर गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा २८ जना, बकैया गाउँपालिकामा २३ जना, राक्सिराङ गाउँपालिकामा ९ जना, हाल ठेगाना नखुलेका २० जना र अन्य जिल्लाका ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ती पालिकाहरुमा भने आज संक्रमित थपिएका छैनन् ।
जिल्लामा हालसम्म डेंगु संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका १ का एक जनाको मृत्युु भएको स्वास्थ कार्यलयले जनाएको छ ।
