मकवानपुर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।
आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।
यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको १० प्रतिशत मतपत्र जगेडा छपाइ हुनेछ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक, प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा फरक मतपत्र प्रयोग हुने जानकारी दिए ।
‘१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकार र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३ सय ३० प्रकारका गरी ४ सय ९५ प्रकारका मतपत्रको प्रयोग हुन्छ, ती मतपत्रको छपाइ बिहीबारबाटै सुरु भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको मात्रै निर्वाचन चिह्न हुनेछ । अर्थात् कुनै पनि क्षेत्रमा उम्मेदवारी नदिएका दलका उम्मेदवारको भने चिह्न मतपत्रमा रहनेछैन । यसअघि स्थानीय तह निर्वाचनमा उम्मेदवार नहुँदा पनि मतपत्रमा दलको निर्वाचन चिह्न कायम हुँदा धेरै मत बदर भएको थियो । आयोगले सोही कारण यसपटक उम्मेदवार कायम भएकाको मात्रै निर्वाचन चिह्न राखेको हो ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फको लागि आवश्यक पर्ने मतपत्रको छपाइ भने सकिसकेको छ । सात प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा प्रतिनिधि सभातर्फको पूरै देशलाई एक निर्वाचन क्षेत्र मान्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि छुट्टै एक प्रकारको मतपत्र प्रयोग हुने आयोगले बताएको छ ।
सात प्रदेशको प्रदेशसभाका समानुपातिक निर्वाचन प्रणालीका लागि सात प्रकारका तथा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि एकप्रकारको मतपत्र प्रयोग हुनेछ ।
यी सबै गरी आगामी निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा एक÷एक तथा समानुपातिकतर्फ अर्को एक÷एक गरी कुल चारवटा मतपत्रमा मतदाताले मत दिनुपर्नेछ ।
‘एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्र तथा प्रदेश सभातर्फ पनि सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नुपर्छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने ।
आयोगले दुवै निर्वाचनका लागि प्रत्यक्षतर्फ २÷२ करोड गरी ४ करोड र समानुपातिकतर्फ पनि २÷२ करोड गरी ४ करोड गरी कुल ८ करोड मतपत्र आवश्यक पर्ने बताउँदै आइरहेको छ ।
नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधिसभामा कुल २ सय ७५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।
यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेशसभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।
आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताले मतदानको अधिकार पाउनेछन् । आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो ।
आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि भने आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता थियो । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता स्थानीय तह निर्वाचनमा मतदानका लागि योग्य मानिएको थियो ।
आयोगले आगामी निर्वाचनमा पनि नामावलीमा नाम दर्ता भएका र ३ मंसिरमा १८ वर्ष पुग्ने मतदातालाई मात्र निर्वाचन प्रक्रियामा हुने मतदानमा सहभागी गराउनेछ ।
आयोगले निर्वाचनमा खटिने कर्मचारी सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालगायतलाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ मताधिकार दिनेगरी तयारी गरिरहेको छ । राजधानी दैनिकबाट
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलकाे दोस्राे खेलमा बागमती प्रदेशले विजयी सुरुवात गरेकाे छ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।
३५/३५ मिनेटकाे खेलाईएकाे खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।
खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बिच दोस्रो खेल हुनेछ ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका रहेका ४ मन्त्रीलाई बर्खास्त भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्तमान गठबन्धन सरकारमा सहभागी जनता समाजवादी पार्टीका ४ मन्त्रीलाई पदमुक्त गरिएको हो ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि हटाइएका मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह रहेका छन ।
सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै आएका थिए ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।
यसैगरी देउवा मन्त्री मण्डलका कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाको कार्यकाल सकिएकोले उनले सम्माल्दै आएको मन्त्रालएको कार्यभार सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाले गरि तोकिएको छ ।
संसद सदस्य नरहेका उनलाई प्रधानमन्त्री देउवाले गत चैत २४ गते कानून मन्त्रीमा नियुक्ति गरेका थिए । संसद सदस्य नभएको ब्यक्ति मन्त्री नियुक्ति गर्न सकिने संबैधानिक ब्यबस्था रहेको छ । त्यसरी नियुक्ति भएको मन्त्रीले ६ महिना भित्र संसदको सदस्यता लिनुपर्ने हुन्छ ।
शुष्मा थापा
१.
रिसाउने र फकाउने काम हुन्छ मायामा
दिउँसो जून र राती घाम हुन्छ मायामा
हाँसी रहुँ,टोलाइ रहुँ एक्लै हुदाँ यादमा
पाउने दामी नपाउने बेनाम हुन्छ मायामा ।
२.
के गरू के नगरू मन कै संवादमा पर्यो
राखु कि नराखु कोसेली हातमा पर्यो
फेरी रहने तस्वीर जस्तै भयो भने माया
पराइ ठानु कि आफ्नो विवादमा पर्यो ।
३.
जिन्दगीले अनौठो कहानी बनायो
केही आफ्ना,केही बिरानी बनायो
आमाको छत्रछाँयामा रहन पाउनेलाइ
यो लोकको ठूलो भाग्यमानी बनायो ।
४.
जिन्दगी आसको खेती रहेछ
सास भइन्जेल मरी मेटी रहेछ
माया मोहले जति कसेपनि
समयले समयलाइ रेटी रहेछ ।
पोखरा
मकवानपुर । मकवानपुरमा १ हजार ६ सय ९९ जना म्यादी प्रहरी छनौट गरिएकाे छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले छनौट भएका उक्त संख्यामा म्यादी प्रहरीको नाम सार्वजनिक गरेको छ ।
कार्यालयले पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरीतर्फ ८ सय ५ जना र खुलातर्फ ८ सय ९४ जना गरी १ हजार ६ सय ९९ जनालाई म्यादी प्रहरीकाे लागि छनौट गरेको हो । छनौट भएका म्यादी प्रहरीका लागि सफल उम्मेदवारहरुलाई बुधबारबाटै नियुक्तीपत्र प्रदान गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । उनीहरुकाे लागि ३० गते आइतबाबाट १० दिनको तालिम दिइने बताइएकाे छ ।
परीक्षामा सहभागी उम्मेदवार मध्ये योग्यताक्रम अनुसार सफल र वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ३ सय ३५ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा छनौट गरिको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
