मकवानपुर । बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ । काठमाडौंमा आयोजना भएको बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर बिजेता बनेको हो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर विजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन ।
५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा फास्टट्रयाक निर्माणको सामान चोरी भएको छ । बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणको लागि राखिएको फलामको सामन चोरी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
फास्टट्रयाक निर्माणको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन ।
१२/१३ क्विन्टल बराबरको फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । फलामको सामान बोकेको गाडिलाई बाटो देखाउने बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बोलेरो, मोटरसाईकल र मानिसहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले आगामी निर्वाचनबाट समेत गठबन्धनकाे सरकार बन्ने बताएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको अगुवा कार्यकर्ता भेलामा निर्वाचन पछी बन्ने सरकारले गाँजा विधेयक पारित गर्ने बताए । गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने उनले बताए ।
खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताए । मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने समेत उनकाे भनाई रहेकाे थियाे । ‘पश्चिम मकवानपुरको विकासमा विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’ उनले भने
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए।
नेकपा माओवादी राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय ४८ रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मनहरी र भीमफेदी गाउँपालिकाका दुई/दुई जना, बकैया गाउँपालिकाका ३ जना, राक्सिराङ गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ५२६ जना पुगेको छ । जसमध्ये २ हजार ५१८ जना पुरुष र २ हजार ८ जना महिला रहेका छन् ।
लामखुट्टेको टोकाईबाट हुने डेंगु देशका ७७ वटै जिल्लामा फैलिएको छ । हालसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको कारण हालसम्म ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मकवानपुर । राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आचार संहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा निर्वाचन आचार संहिताकाे उलङ्घन भएकाे सूचना प्राप्त भएकोले आयाेगले राजनीतिक दल तथा उम्मेदवारलाई ७ बुदें निर्देशन दिएको छ ।
आयोगले कार्तिक २ गते बुधबार विज्ञप्ति मार्फत उक्त निर्देशन दिएको हाे । ‘सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएकोले निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको छ आयोगबाट प्रकाशित विज्ञप्तिमा भनिएकाे छ ।


