मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा फास्टट्रयाक निर्माणको सामान चोरी भएको छ । बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणको लागि राखिएको फलामको सामन चोरी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
फास्टट्रयाक निर्माणको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन ।
१२/१३ क्विन्टल बराबरको फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । फलामको सामान बोकेको गाडिलाई बाटो देखाउने बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बोलेरो, मोटरसाईकल र मानिसहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

