मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले आगामी निर्वाचनबाट समेत गठबन्धनकाे सरकार बन्ने बताएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको अगुवा कार्यकर्ता भेलामा निर्वाचन पछी बन्ने सरकारले गाँजा विधेयक पारित गर्ने बताए । गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने उनले बताए ।
खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताए । मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने समेत उनकाे भनाई रहेकाे थियाे । ‘पश्चिम मकवानपुरको विकासमा विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’ उनले भने
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए।
नेकपा माओवादी राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतकाे उपस्थिति रहेकाे थियाे ।

