मकवानपुर । पञ्चायतकालमा मकवानपुरको तत्कालिन धियाँल बरबोटमा करिब ७ सय घरमा आगजनी भएको थियो । वन क्षेत्रमा बस्ती बसेको भन्दै पञ्चायत सरकारले उक्त वस्तीमा आगजनी गरी हटाइएको थियो ।
पञ्चायतकालको २०४४ सालले दिएको स्थानीयवासीको पीडामा मलम लगाउने गरी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र १ तथा प्रदेश सभा १ क का उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा हालको बकैया गाउपालिका १ धियाँलको बरबोट चिसापानी सभामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय डिना तथा प्रदेश सभा १ क का उम्मेवार प्रेम बहादुर पुलामी छिन्तुले आफुहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताएका थिए । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’ उम्मेदवारद्वयले भने ‘हामीलाई जिताउनुस् यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
के भएको थियो २०४४ सालमा?
२०४४ सालमा बस्ती हटाउने हल्ला चलेपछि तत्कालिन धियाँल गाउँ पञ्चायतमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । बर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीयलाई चिन्तित बनाएको थियो ।
वन क्षेत्रमा वस्ती बसेकोले हटाउनु पर्ने विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलादमी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो । २०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिका १ स्थानीयले भुलेका छैनन् ।
२०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेमबहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित हालका राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ती लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, माहादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल गाउँ पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए ।
भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालवालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् ।
बि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बिस्ताथित यो गाउँमा नेकपा माओवादीको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको स्थानीय बताउँछन् । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिससय परिवार बसोबास गर्दै आएका छन् ।

यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । सभालाई सम्बोधन गर्दै मकवानपुर १(क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम बहादुर पुलामीले मतदातालाई सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे ।
यस क्षेत्रको विकासमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा बितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा बिवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।
पार्बती भट्ट
१.
सुख पाहुना जस्तै, दु:ख मीत रहेछ
जिन्दगी , पात माथिको शीत रहेछ
फुल्नु, ओइलाउनु ,झर्नु अनि सकिनु
आखिर ! यही त दुनियाँकाे रीत रहेछ ।
२.
हारें भनेर जिन्दगीमा, रुनु बेकार हुने रहेछ
एउटाकाे जितमा पाे!अर्कोकाे हार हुने रहेछ
सत्य स्विकार्न नसकेर मात्रै हाे मन दुखिरहने
हुन त, यसरी नै चलिरहेकाे संसार हुने रहेछ ।
३.
निखारेर आफ्नै आँखा, पिउन पनि नपराेस्
नच्यातियाेस् खुशी सधैं, सिउन पनि नपराेस्
सम्हाल्दा सम्हाल्दै कति दुख्छस् ए ! जिन्दगी
यति धेरै तड्पितड्पी, बरु जिउन पनि नपराेस् ।
डडेल्धुरा हाल इमाडाेल, ललितपुर
मकवानपुर । पर्यटन प्रर्वद्धनका लागि थाहा फोटो प्रर्दशनी शुक्रबारबाट शुरु भएको छ । काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा शुरु फोटो प्रदर्शनीको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेका थिए ।
प्रदर्शनी उद्घघाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए ।
थाहा नगरपालिका प्रमुख बिष्णुबहादुर बिष्टले नगरलाई चिनाउन प्राकृतिक सुन्दरता, ऐतिहासिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएकोे बताए । थाहा फोटो प्रर्दशनी ०७९ को पहिलो दिन करिब ३ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहका छन् । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक ढंगले गरेको छ । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएका छन ।
कात्तिक २० गतेसम्म हुने प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ । कार्यक्रमम स्थलमा फोटोबारे जानकारी दिन सूचना केन्द्र र स्वयंसेवकहरुको समेत व्यवस्था गरिएको छ ।प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको नगरप्रमुख बिष्टले बताए ।
संयोजक ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी लगायतको सहभागिता थियो ।

मकवानपुर । सत्ता गठबन्धनकाे तर्फबाट मकवानपुर क्षेत्र नं. १ प्रदेश सभा ख का उम्मेदवार आनन्दराम पराजुली मकवानपुरमा सान्त्वना खाेज्दै घरदैलाे कार्यक्रममा व्यस्त छन् । नेपाली काँग्रेस हेटौडाका पूर्व नगर सभापती आगामी निर्वाचनमा प्रदेश सभा ख सदस्यमा विजयी हुने उत्साहका साथ चुनावी प्रचारप्रसारमा घरघर पुगेर मतदातकाे आशिर्वाद लिन व्यस्त छन् ।
मतदाता शिक्षा दिन नसकेकै कारण २०७४ सालकाे स्थानीय तह निर्वाचनमा हेटाैडा उपमहानगरपालिकाकाे मेयरमा थोरै मतले पराजित भएका कांग्रेस नेता पराजुली यस पटक जनताकाे प्रतिनिधि चुनिनेमा विश्वस्त रहेका छन् । अघिल्लाे स्थानीय तहकाे निर्वाचनमा हेटाैडा उपमहनागरपालिकामा नेकपा माओवादी केन्द्रसँगकाे चुनावी तालमेल भएकाेमा मतदाता शिक्षाकाे कमीले उनी परानीत भएका थिए । मकवानपुरे जनतामा परिचित उनी अहिले हेटौडा उपमहानगरकाे १२ वडाकाे प्रतिनिधित्व रहने प्रदेश सभामा उम्मेदवार भएर प्रचार प्रसारमा व्यस्त छन् ।
गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरकै टिकट पाउनसक्ने नेताको रुपमा गनिएका उनी गठबन्धनका कारण नेकपा (एस) को भागमा परेपछि चित्त बुझाउँदै गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका थिए । अहिले कांग्रेसले प्रदेशसभा सदस्य पदको टिकट दिएपछि उनीमाथि ‘न्याय’ भएको र ‘जित सुनिश्चित’ रहेको भन्ने मतदाताहरु पनि रहेका छन् । ‘अघिल्लो पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेकोले पनि मलाई यो पटक धेरै सहज भएको छ’, उनी भन्छन्, ‘मतदाताको साथ, सहयोग, सद्भाव र हौसलाले थप उर्जा मिलेको छ । माहौल निकै राम्रो छ, गठबन्धनको जित सुनिश्चित भैसकेको छ ।’ उनलाई अहिले कांग्रेससहित गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायतको दलको पनि साथ रहेको छ ।
उनी गठबन्धन बाहिर रहेका पार्टीका नेता कार्यकर्ताको पनि रोजाई बनिरहेका छन् । ‘म कांग्रेसको कार्यकर्ता हुँ । म निरन्तर पार्टीलाई मजबुत बनाउन र यहाँका जनताको सुखदुःखमा साथै रहेको छु । पराजुलीले शुक्रबार हेटौंडा ५ र २ नम्बर वडाको घरदैलाे अभियानको क्रममा पनि मतदाताको धेरै साथ र सहयोग पाएको बताए । पटक पटक चुनाव जितेको एमालेका उम्मेदवारहरुले कुनै एजेण्डा नै नभएपछि अनेक अफवाह र भ्रम फैलाइरहेका उनले बताए । हामी त्यसलाई चिर्दै अघि बढेका छौं ।’
कांग्रेसकै पनि एउटा समूह तपाईंको विरुद्धमा छ भनिन्छ नि ? भन्ने प्रश्नमा उनले यो सब विरोधीले चलाएको अनावश्यक झुटो हल्ला मात्र भएको बताए । ‘कांग्रेस ठूलो पार्टी हो, यहाँ एकसेएक नेताहरु रहेका छन् । टिकटका लागि मसहित अन्य नेताहरुको पनि दावेदारी थियो । दावेदारी हुनु स्वभाविक पनि हो’, उनले भने, ‘टिकट मेरो नाममा आयो । अहिले सबै नेताहरु मकवानपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लागेका छौं ।
‘एकजनाले मात्रै हार्दा पनि गठबन्धनप्रति विश्वास नहुने, पार्टीमै समस्या आउने हुनसक्छ भन्ने बिषयमा हामी क्लियर छौ ।’ पराजुलीले भने ‘गठबन्धन र कांग्रेसभित्र कुनै समस्या रहेकाे छैन ।’
अमृत पाैडेल
मोरङ । मोरङ ३ का महिला पहिलो पटक महिला उम्मेदवार पाएकोमा उत्साहित भएका छन् । इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै माेरङ पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।
शुक्रबार चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।
थापालाई स्वागत गर्न आएकी मन्जरा कार्कीले भनिन् ‘यो क्षेत्रमा यस अघी महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।’
त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् ‘हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।’
थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको मन्जरा बताउँछिन् । ‘एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।’
नेपाली चलचित्रमा नायिकाकाे भूमिकाबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएका छन् । निर्वाचनबाट उनकाे उपस्थिति संसदमा हुने नहुने भने मत परिणामबाटै छिनाेफानाे हुनेछ ।
