मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य बिराेध खतिवडाले संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यकता रहेकाे बताएका छन् । मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार खतिवडा समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संविधानकाे रक्षा गर्न गठबन्धनकाे जीत आवश्यक रहेकाे बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै खतिवडाले गठबन्धन सरकार बनेपछि यस क्षेत्रको बिकासका लागि बजेटमै समेटेर काम गरिने बताए ।
मंगलबार भएको सभामा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले आफू प्रदेश सरकारमा रहँदा सरकारको तर्फबाट यस क्षेत्रमा बिकासका योजनाहरुले प्राथमिकता पाएकाे बताइन् । मकवानपुर २ प्रदेश सभा क उम्मेदवार मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत रहेकाे बताइन् । आफ्नाे क्षेत्रकाे बिकासको लागि प्रतिबद्ध भएको बताउँदै उनले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफू लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गरिन् ।
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले गरिब, निमुखा जनताको पक्षमा काम गर्ने बताएका छन । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँले गठबन्धनको सरकार बनेपछि गरिब निमुखा जनताको पक्षमा प्राथमिकता दिइने बताए ।
गठबन्धनले कैलाश गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गरिबमुखी, न्यायमुखी वातावरण सिर्जना गरी जनताको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षा, स्वास्थ्य रोजगार, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानीलगायत जनहितका कामलाई प्राथमिकता दिइने बताए ।
उनले बागमती प्रदेशका गरिब निमुखा जनताको लागि ५ वर्षको अवधिमा १० हजार घर बनाएर हस्तान्तरण गरिने बताए । प्रदेशमा १० महिना गठबन्धनले सरकारको नेतृत्व गर्दा कैलाश गाउँपालिकाको पूर्वाधार विकासमा करोडौँ बजेट विनियोजन गरेको भन्दै आगामी दिनमा जनताको अवस्था सुधार गर्न गठबन्धनले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।
एमालेले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा सो क्षेत्रको विकास निर्माणको कामलाई उपेक्षा गरेको भन्दै उनले अब जनताले एमालेलाई विश्वास नगर्ने बताए । जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै बानियाँले अबको निर्वाचनबाट जनताले प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए ।
गठबन्धनका कैलाश गाउँपालिका संयोजक तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु ओमबहादुर घलान, गोविन्दराम चेपाङ, सन्त चेपाङ र सरु थापा, ललित बस्नेत, बालकुमार मल्ल, राजेन्द्र घिसिङ, टंकबहादुर मोक्तान, कांग्रेस नेता पदमबहादुर तितुङ, सीता पुलामी, लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले युवालाई स्थानीयस्तरमै स्वरोजगारकाे अवसर दिलाउने बताएका छन् । युवाहरु सामान्य रोजगारीका लागि पनि खाडी मुलुक जाने गरिरहेकाेमा अब स्थानीयस्तरमै स्वरोजगार बनाउने उनले बताए ।
मंगलबार मकवानपुरको पश्चिमि क्षेत्रमा चुनावी सभालाई संबोधन गर्दै बर्ताैलाले ‘स्थानीय स्तरमा युवा लक्षित बिभिन्न स्वरोजगार मुलक कार्यक्रम ल्याएर रोजगारीको सृजना गरिने बताए । मकवानपुरकाे मनहरी, हाडीखोला, राक्सिराङ गाउँपालिकामा भएकाे चुनावी प्रचार प्रसारकाे क्रममा उनले स्थानीय स्तरमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीलगायतकाे आधारभूत आवश्यककाे समस्या सधैको लागि समाधान गर्ने आश्वासन समेत दिएका छन् ।
यसैगरी मनहरी गाउँपालिका क्षेत्रमा निकुञ्ज तथा नदीकाे समस्या कानून संशोधन गरेर सधैका लागि हल गर्ने बताए । यस क्षेत्रमा सडक पूर्वाधारको समस्याका कारण सदरमुकाम आउन र जानका लागि समस्या हुन नदिने उनले दावी गरे ।
मकवानपुर । आफू र पार्टीलाई राष्ट्रवादी बताउँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गएकाे बताएका छन् । नेकपा एमालेकाे चुनाव चिन्हबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रहेका थापाले विदेशीको दवाव र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताए ।
सवै राष्ट्रवादी शक्ति एकजुट हुनु पर्ने अवस्था आएकोले एमालेको चुनाव चिन्ह सुर्यबाट आफूले निर्वाचन लडेको उनले बताए । एमाले पनि राष्ट्रवादी शक्ति रहेका बताउँदै मंगलबार मकवानपुरको हेटौंडामा भएको चुनावी सभामा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता रहेकाे बताए ।
मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको समेत बताए । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न पनि आफू चुनाबमा होमिएको उनकाे दावी रहेकाे छ । थापाले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको भन्दै गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा उनले जाेड दिएका छन् ।

अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिन्छन्–– एकालाल श्रेष्ठ
नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार श्रेष्ठले मंगलबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले एमालेका मतदातासहित अन्य पार्टीकाले पनि एमालेमा मत दिने बिश्वास ब्यक्त गरेका हुन् ।
एमालेले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले सधैं लागिरहेको उनले बताए । श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको समेत बताए । केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता, गुमेको भूभागलाई नक्समा समाहित गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गरेको उनले बताए ।

गठबन्धनले जनताको मताधिकारमा कुठाराघात गर्यो–डोरमणि पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताएका छन् । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेदवारी नै नदिएको उनले बताए । उनले चुनावी सभामा भने ‘नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प छैन् ।’
बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेदवार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको उनले बताए । ‘बहुमत ल्याउन नसक्ने गरि उम्मेदवारी दिने पार्टीले देशको भलो गर्न सक्दैन’ पाैडेलले भने ‘गठबन्धनका मान्छे पूर्व जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् ।’ गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचन बाट बढार्नु पर्ने उनकाे भनाइ थियाे । बिकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै छोटै समयमा धेरै काम गरेपनी बिकास एमालेको पालामा भएको उनले जानकारी दिए ।
बर्तमान सरकार बिदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागि परेको छ उनले भने ‘अहिले हामीले बिदेशीको लागि नभई नेपालीको लागि सरकार निर्माण गर्नुपर्छ त्याे सरकार एमालेले मात्र बनाउने छ ।’ जनताको काम गर्न के पी ओलि अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उनले बताए । यस्तै मकवानपुरकाे अर्काे औधाेगिक क्षेत्र मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि हेटौडा उपमहानगरपालिका क्षेत्र र १४ नम्बर वडाबासीले प्रत्यक्ष लाभ लिने उनले बताए ।
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले १६ जनालाई कारवाही गरेकाे छ । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा उनीहरुलाई सहयाेग गरेका १६ जना कारबाहीमा परेकाे काँग्रेस मकवानपुरले जनाएकाे छ ।
विगतमा काँग्रेसका विभिन्न जिम्मेवारीमा रहँदै निर्वाचनकाे समयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित कारवाही गरिएकाे काङ्ग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।
कारबाहीमा पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र २ का उम्मेदवार भरत पराजुलीलाई कारवाही गरिएको जनाएको छ । पराजुली नेपाली काङ्ग्रेसको पूर्व महासचिव सदस्य हुन् । यस्तै स्वतन्त्र राजनैतिक शक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर २ का अर्का उम्मेदवार धिरज विक्रम न्यौपानेलाई पनि कारवाही गरिएको काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । न्यौपाने काङ्ग्रेसको क्रियाशील सदस्य रहेको बताइएको छ । यस्तै पूर्व महासमिति सदस्य रिता खनाल पनि कारवाहीमा परेकी छिन् । उनी पछिल्लाे समय काँग्रेस विपिमा आबद्ध रहेकी छिन् ।

